काठमाडौं- लिची अहिलेको मौसमी फल हो । यो एकदमै स्वादिलो र पोषक तत्वले भरिएको फल हो । लिचीको उत्पत्ति दक्षिण चीनमा भएको हो । त्यहाँबाट नेपाल, भारत, पाकिस्तान हुँदै अन्य देशहरुमा फैलिएको हो ।
लिचिको बोट प्रशस्त हाँगा भएको हुन्छ । फल झुप्पामा फल्छ । फलभित्र एउटा मात्र विउ हुन्छ । पाकेको फलमा कार्बोहाइड्रट, प्रोटिन, चिल्लोपदार्थ, खनिज तत्व, भिटामिन ए, बी र प्रशस्त मात्रामा भिटामिन सी हुन्छ । तर खाली पेटमा लिची खाँदा ज्यान जान सक्छ । अघिल्लो बर्ष भारतको बिहारमा खाली पेट लिची सेवन गर्दा सैयौं बालबालिकाको अचानक मृत्यु भएको समाचारहरु आइरहेका थिए ।
खाली पेट लिची सेवन गर्दा चक्कर आउने, आँखा खोल्न नसक्ने र मृत्यु समेत भएको देखियो । सन् १९९० को दशकको यो घटनापछि खाली पेटमा लिची सेवन गर्नु घातक हुने पुष्टि भएको हो।
लिचीमा के हुन्छ ?
लिचीमा एक प्रकारको बिष, हाइपोग्लिसिन हुन्छ। यसले शरीरमा ग्लुकोज बन्ने प्रक्रियालाई रोक्छ । शरीरमा यो बिष पुग्छ र सुगरको मात्रा अचानक कम हुन्छ । यसरी नै मृत्युको मुख्य कारण बन्न सक्छ ।
लिचीले मस्तिष्कसँग सम्बन्धित यस्तो समस्या पैदा गर्छ, जसले ज्यान लिन सक्छ । एक्यूट इन्सेफेलाइटिस सिन्ड्रोम नामक यस बीमारीको कारण सैयौंले ज्यान गुमाएका छन् । बैज्ञानिकले उक्त रोग लिची खाएकै कारण भएको बताएका छन् ।
यसमा प्राकृतिक रुपले हाइपोग्लिसीन ए र मिथाईलेन्साइक्लो प्रोपाइलिगसीन नामको विषाक्त तत्व हुन्छ । यसले शरीरमा फ्याटी एसिड मोटाबोलिज्म बनाउन रोक्छ । त्यसकारण कारण ब्लड सुगर लेभल कम हुन्छ ।
एउटा ताजा र पाकेको लिचीमा ७० देखि ७७ प्रतिशतसम्म गुदी पाउन सकिन्छ। यसको प्रमुख पोषक तत्व कार्बोहाइड्रेट हो । रासायनिक विश्लेषणअनुसार एउटा ताजा र पाकेको लिचीमा चिनी वा गुलियो पदार्थको मात्रा १५ दशमलव ३ प्रतिशत, प्रोटिन एक दशमलव १५ प्रतिशत र अम्ल एक दशमलव ६ प्रतिशत रहेको हुन्छ। यसका साथै यस फलमा क्याल्सियम, फोस्फरस, फलाम तìव, खनिज लवण एवं भिटामिन सी पनि प्रचुर मात्रामा पाइने भएको हुँदा यो फल स्वास्थ्यको दृष्टिले अत्यन्त लाभदायक मानिन्छ।
लिची खानुका फाइदाः
कलेजो र कमलपित्तजस्ता रोगीको लागि त यो फल एक किसिमले वरदान नै मानिन्छ किनकि कलेजोको असामान्य अवस्थालाई यसको नियमित सेवनले सामान्य अवस्थामा ल्याउन सक्छ।
लिचीको सेवनले पाचन रस उत्पन्न गर्नमा सहयोग पुग्नाका साथै पाचन प्रणालीमा रहेका विकारहरूलाई पनि निर्मूल पार्दछ।
यसको सेवनले भोक बढाउने गर्दछ।
स्मरणीय शक्ति बढाउन पनि यो फल निकै लाभदायक मानिएको छ।
यसका साथै मुटुको धड्कन बढ्ने र हात खुट्टा पोल्नेजस्ता रोगीहरूले पनि लिची खाने र यसको रस दल्ने गर्नाले अत्यन्त फाइदा हुने बताइएको छ।
त्यति मात्र नभई यो फल वीर्यबर्धक र वातपित्त नाशक पनि मानिन्छ।
यो फल विभिन्न दृष्टिकोणले स्वास्थ्यबर्धक हुँदाहुँदै पनि केही कफबर्धक पनि भएकाले लिची खाएको कम्तीमा आधा घण्टासम्म पानी खान भने हुँदैन।
दिनमा १०९१२ दाना मात्र
लिची फल अनियमित र अनियन्त्रित ढंगले सेवन गर्दा हानिकारक साबित हुन सक्छ । यदि दिनमा केहि मात्रामा र खाना खाइसकेपछि सेवन गर्ने हो भने लिचीले फाइदा गर्छ । दिनमा १० वा १२ दाना भन्दा बढी लिची सेवन गर्नु हुँदैन ।