काठमाडौं - हरिबोधिनी एकादशीका अवसरमा आज देशैभर नदी तथा जलाशय किनारमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
प्रत्येक वर्षको कात्तिक शुक्ल एकादशीका दिन आषाढ शुक्ल एकादशीदेखि क्षीर सागरमा सुतेका भगवान् विष्णु उठ्नु हुने विश्वासका आधारमा आजको दिनलाई हरिबोधिनी एकादशीका रूपमा लिने गरिएको हो । साथै सत्य युगमा सती नारी वृन्दाको श्रापका कारण विष्णु वनस्पति झार तुलसीको रूपमा परिणत भई उपर्युक्त मानव जीवनमा रोग प्रतिरोधात्मक शक्तिका साथ आसीन भएको भन्ने विश्वास समेत रहि आएको छ ।
युगौ युगदेखि तुलसीको महत्व कायमै छ। तुलसी धार्मिक आस्थाको रुपमा मात्र परिचित नभई औषधीको हिसाबले पनि उत्तिकै प्रख्यात छ ।
तुलसीमा सयौ रोग निको पार्ने क्षमता रहेको बिशेषज्ञहरुको भनाई छ । यसको पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वपुर्ण छन् । यसको सेवनले भोक जगाउने, पाचनक्रिया बढाउनुका साथै झाडावान्ता रोक्ने जस्ता समस्याबाट राहत पाउन सकिने चिकित्सकहरु बताउँछन् । तुलसीको सेवनले विभिन्न रोगबाट बच्नका लागि निकै उपयोगी मानिन्छ ।
माइग्रेनमा राहत
दूधमा तुलसीको पात उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट राहत पाउन सकिन्छ । नियमित रुपले यसको सेवनले टाउको दुखाई पुर्ण रुपमा निको हुनसक्छ ।
तनाव वा डिप्रेसन
तनाव वा डिप्रेसनको समस्या भएमा दूधमा तुलसीको पातउमालेर सेवन गरे निकै लाभदायक हुन्छ । तनाव एवं चिन्ता कम हुन्छ ।
हृदय रोगमा
दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ । साथै यसले मुटुलाई स्वस्थ राख्न मद्धत गर्छ ।
पत्थरीको समस्यामा
पत्थरीको समस्या छ भने दूधमा तुलसीको पात उमालेर खाली पेटमा पिउनुपर्छ । यसो गर्नाले मिर्गौलाबाट पत्थरी हट्छ ।
रोग प्रतिरोधात्मक क्षमता
तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यसमा क्यान्सर पैदा गर्ने कोशिकासँग लड्ने क्षमता पनि हुन्छ । यसका साथै तुलसीको पातमा एन्टिब्याक्टेरियल एवं एन्टिभाइरल गुण हुन्छ ।
दम रोगमा फाइदा
श्वासप्रश्वाससँग सम्बन्धित समस्याले ग्रस्त हुनुहुन्छ भने दूधमा तुलसीको पात उमालेर पिउनु लाभदायक हुन्छ । नियमित रुपमा तुलसीको पात दूधमा उमालेर सेवन गर्दा दम रोगमा फाइदा गर्छ ।
धेरै दिशा लागेमा
तुलसीपातमा जाईफलको केहि भाग पिनेर खाएमा धेरै दिशा लाग्ने समस्याबाट राहत पाउन सकिन्छ ।
आउँ र शुल
तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा आउँ र शुलबाट छुटकारा पाउन सकिन्छ ।
दिशामा रगत आएमा
केहि तुलसीको दाना आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा दिशामा रगत आउने समस्या ठिक हुन्छ ।
पाइल्स भएमा
तुलसीको पात खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा पाइल्स ठिक हुन्छ ।
बालतोड् घाऊ भएमा
पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहान र बेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ ।
घाँटी बसेमा
घाँटी बसेर बोल्नै नसक्ने भएमा तुलसी पात र मरिचको दाना र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको समस्याबाट राहत पाउन सकिन्छ ।
सेवन गर्ने तरिका
यसलाई औषधी बनाउनका लागि डेढ गिलास दूध उमाल्नुपर्छ । दूध उम्लन सुरु भएपछि त्यसमा ८ देखि १० वटा तुलसीको पात राख्नुपर्छ । केहि समय सेलाएर मन तातो भएपछि पिउन सकिन्छ ।