ढाका- बङ्गलादेशमा लागु भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ।
बङ्गलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बङ्गलादेशमा यही जुलाई १४ तारिखसम्म लकडाउन लागु हुने भएको छ।
कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिनु परेको सरकारी अधिकारीहरूले जनाएका छन्।
सरोकारवाला तथा विज्ञहरूसँग परामर्श गर्दा उनीहरूले अझै पनि लकडाउन थप्नुपर्ने सुझाव दिएकाले लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको सरकारले जनाएको छ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्गलादेशमा यही जुलाई १ देखि सात दिने कडा लकडाउन घोषणा गरिएको थियो।
बङ्गलादेशमा गत आइतबार कोरोना भाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ। सरकारी अधिकारीका अनुसार आइतबार एकैदिनमा बङ्गलादेशमा कोरोनाका कारण १५३ जनाको मृत्यु भएको छ।
मृतकको सङ्ख्या अत्यधिक बढेपछि कडा लकडाउन लगाउन बाध्य हुनुपरेको सरकारी अधिकारीहरूले बताउने गरेका छन्।
बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म १५ हजार ६५ जनाको मृत्यु भएको छ।
त्यसैगरी बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म नौ लाख ४४ हजार ९१७ जना सङ्क्रमित भएका छन्। तीमध्ये आठ हजार ६६१ जना पछिल्लो २४ घण्टामा थपिएका जनाइएको छ।
रासस