- डा. अरुणा उप्रेती
काठमाडौं - केही समयअघि ५० वर्षीया मेरो एकजना साथीले अफिस जाँदा ब्यागमा लुगा हालेको देखेर मैले ‘टाढै जान लागेको हो ?’ भनी जिज्ञासा राखेँ । उनले ‘होइन जान त अफिस नै जान लागेको हो तर म जता जाँदा पनि एक जोर फाल्टू लुगा त लिएरै जान्छु, मलाई समस्या नै त्यस्तै छ’ भनिन् । मैले किन यस्तो गर्नुपर्छ र भनेँ । उनले अलि अप्ठ्यारो मान्दै भनिन्, ‘मलाई त हाच्छ्युँ, गर्दा धेरै हाँस्दा, लामो समय उभिरहँदा, खोक्दा अलि–अलि पिसाब चुहिन्छ । आफैँलाई गन्हाउन थाल्छ । लुगा नफेरी कतै जान मन लाग्दैन, दिक्क हुन्छ । त्यसैले फेर्नका लागि लुगा त बोक्नै पर्छ । पिसाब धेरै नलागोस् भनेर पानी पनि कम पिउने बानी गर्न थालेकी छु ।’
उनको कुरा सुनेर मैले भनेँ, ‘यो त धेरै महिलाहरूलाई हुने समस्या हो तर यो बिषयमा प्रायः त्यति कुरा गरिँदैन । समस्या बोकेर हिँड्ने धेरै हुन्छन् । अरुसँग सल्लाह लिने, उपचार गर्ने पनि गरिँदैन । निकै ठूलो समस्या नपरेसम्म अस्पताल पनि जान मन नगर्ने गरेको पाइन्छ । केही व्यायामहरू गर्दा पनि यस्तो समस्या कम हुन्छ । शुरुकै अवस्थामा व्यायाम आदि उपचार गरे नियन्त्रणमा आउन सक्छ ।
चिकित्सकीय भाषामा यसलाई ‘युरिनरी इन्कन्टिनेस’ भनिन्छ । नेपाली भाषामा यो समस्यालाई ‘मूत्र असंयम’ भन्न सकिन्छ । यो रोग नै त होइन तर यो महिलाका लागि जटिल समस्या चाहिँ हो । यसले महिलाको दैनिक जीवनमा धेरै अप्ठ्यारो गराउँछ । सामाजिक क्रियाकलापमा सहज तरिकाले भाग लिन वा खुलरे हाँस्न पनि गाह्रो बनाउँछ ।
महिलामा यस किसिमको समस्या हुनुको प्रमुख कारण नै पिसाब थैलीको मांसपेशी कमजोर वा खुकुलो हुनु हो । हाँस्दा, उफ्रिँदा, हाच्छ्युँ गर्दा, गह्रौ सामान उचाल्दा पेटको मांसपेशीमा बल परेपछि पिसाब थैलीमा जोड पर्न जान्छ र पिसाब चुहिन्छ । यस्तो समस्या हुने कुनै–कुनै महिलालाई चाहिँ छिटो–छिटो पिसाब गर्न जान मन लाग्छ, शौचालय नपुग्दै पिसाब चुहिन्छ । यसरी पिसाब चुहिन थालेपछि शरीर नै गन्हाउँछ, गुप्तांग चिलाउँछ र घाउ पनि हुन्छ । यसरी गुप्तांगको समस्या भएको कुरा कसैलाई भन्न पनि गाह्रो हुन्छ । त्यसै कारणले कतिपयलाई अफिस वा कतै जाँदा ब्यागमा थप लुगा बोकेर जानुपर्ने बाध्यता हुन्छ । तर गाउँका महिलालाई यस्तो समस्या पर्दा लुगा बोकेर जान पनि सहज हुँदैन, जसले गर्दा थप समस्या हुन्छ ।
पिसाब चुहिरहने समस्या हुँदा कतिपयले पानी नै कम पिउने गर्छन् । पिसाब चुहिन्छ भनेर पानी कम खानु शरीरका लागि हानिकारक हो । यसले अरु रोग उत्पन्न गरिदिन सक्छ । कतिपयलाई त पानी कम पिउने बानीले गर्दा पिसाबको संक्रमण भएको पाइन्छ । मिर्गौलामा पनि समस्या पर्न सक्छ । पानी कम पिउनु पिसाब चुहिने समस्याको समाधान हुँदै होइन बरु अरु रोगको कारक हो ।
यो समस्याले पुरुषको दाँजोमा महिलालाई बढी सताउँछ । धेरै उमेर पुगेपछि पुरुषहरूलाई पनि यो समस्या फाट्टफुट्ट देखिन्छ तर महिलालाई जति समस्या हुँदैन ।
पर्याप्त पानी पिउन डराउने महिलालाई फेरि मूत्राशयको संक्रमण हुन सक्छ । महिनावारी रोकिएपछि, धेरै मोटा महिला, मधुमेह भएकी महिलालाई यस्तो समस्या बढी हुन सक्छ । महिलाले यस्तो समस्या पछि नआओस् भनेर सुत्केरी भएपछि नै प्रजनन अंगको मांसपेशी बलियो बनाउने व्यायाम गर्दा धेरै फाइदा हुन्छ ।
किगल व्यायामले प्रजनन अंगको मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ । त्यसै गरी योगासनका केही आसनहरूलाई दैनिक जीवनमा प्रयोग गरेर पनि यो समस्या केही कम गर्न सकिन्छ । सर्वाङ्ग आसन, उष्ट्रासन, उत्कटासन, ताडासन आदिले पनि मेरुदण्डको मांसपेशी, पुठ्ठाको मांसपेशी र जननेन्द्रियको मांसपेशीलाई बलियो बनाउँछ ।
३०–४० वर्षको उमेरका महिलाहरूले यदि सुत्केरी अवस्थादेखि नै यस्ता योगासनहरू गरे भने यसरी ‘पिसाब चुहिने’ समस्या कम हुन मद्दत पुग्छ । त्यसै गरी सुत्केरी अवस्थामा जननेन्द्रियमा संक्रमण नहोस् भनेर विशेष ध्यान दिनुपर्छ । तातो पानी, तितेपाती आदि पानीमा उमालेर यस्तो समस्या हुने महिलाले जननेन्द्रिय धुनुपर्छ । विभिन्न किसिमको चिसो पेयपदार्थ, चिनी आदि सकेसम्म प्रयोग गर्नुहुँदैन ।
विश्वमा झन्डै २० प्रतिशत महिलालाई यो समस्या भएको तथ्यांक पाइन्छ । नेपालमा यसको खासै अनुसन्धान त गरिएको छैन तर प्रजनन उमेरका, पाठेघरको शल्यक्रिया गरेका, महिनावारी रोकिएका महिलालाई यो समस्या बढी हुन सक्छ । यो समस्या भएका महिलाले स्वास्थ्यकर्मीसँग सल्लाह लिएर किगल व्यायाम, योगासन सिक्नुपर्छ ।