काठमाडौं - मेथीको दाना खाँदा तितो भएपनि महिलाको स्वास्थ्यका लागी बहुगुणि खानेकुरा हो । मेथिलाई विभिन्न परिकारमा मिसाएर वा परिकार बनाएर खान सकिन्छ । मेथिलाई मसिनो गरी पिसेर सलादमा छर्केर खाएमा पनि स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ ।
मेथीमा रहेको अनेक थरिका गुणलाई बुझेर यसले किशोरीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले नै होला, दक्षिण भारतमा बालिकालाई पहिलो पल्ट महिनावारी हुँदा गुड हालेर बनाइएको मेथीको लड्डु महिना भरि खान दिने गरिन्छ । यो चलनलाई हामीले पनि परम्पराको रुपमा अपनाउन सके यसले किशोरीहरुमा देखिने रक्तअल्पता कम गर्न सहयोग पुग्ने देखिन्छ ।
सुरुमा मेथी खादाँ यसको स्वाद तितो हुन्छ । यसलाई खाने बानी लगाउनका लागी पहिले मेथीको धुलो सलाद वा सुपमा प्रयोग गर्न सकिन्छ । दाल वा सुप पकाएर निकाल्दा अलिकता मेथीको धुलो हालेर एक छिन छोपिदियो भने दाल र सुपमा पोषिलो गुण पनि बढ्न जान्छ । त्यसैगरि रोटी बनाउँदा आँटामा अलिकता मेथीको धुलो हालेर पकायो भने गहुँको रोटीको गुण बृद्धि हुन्छ र स्वास्थ्यलाई फाइदा गर्छ ।
मेथीको साग पनि स्वास्थ्यको लागि अति नै उपयोगी हुन्छ । बालबालिकालाई खानामा मेथीको साग समावेश गर्न अनेक तरिका अपनाउन सकिन्छ । मेथी र आलुको सुप बनाएर वा दाल पकाउँदा मेथीको साग काटेर दालमा हाल्न सकिन्छ । यसरी खाँदा स्वाद पनि मीठो हुन्छ ।
भिटामिन ए ले भरिएको मेथीको साग बालबालिकालाई दिंदा त उनीहरुको आँखा र छाला राम्रो हुनुको साथै रोगसँग लड्ने शक्ति पनि बढ्छ । मेथीको सागलाई मसिनो पारेर पिठोमा मिसाई पराठा पकाउन सकिन्छ । स्कुल जाने बालबालिकालाई विस्कुट, चाउचाउ जस्ता महंगा तथा पोषणहिन खाजाको सट्टा मेथिको साग मिलाएर बनाएको रोटी, तरकारी दिनु निकै लाभदायक हुन्छ ।
मेथी खाएर स्वास्थ्य त राम्रो हुन्छ नै मेथीको प्रयोगले कपाल र छालालाई पनि स्वस्थ बनाउँछ । मेथीमा रहेको लेसिथीन नामक विशेष तत्वले कपाललाई चम्किलोपन दिन्छ । त्यसैले त विभिन्न सौन्र्दय सम्वन्धी काम गर्ने व्यक्तिहरुले मेथीको धुलो दहीमा मिलाएर कपालमा लगाउन सल्लाह दिन्छन् । कपालको चाँया हटाउन पनि धेरै महिलाले मेथी पिसेर दहिसँग भिजाएर कपालमा लगाउँछन । सौन्र्दय विशेषज्ञहरुको यस्तो सल्लाहमा धेरैले यस्तो उपाय अपनाएको देखिन्छ ।
मेथीलाई भिजाएर टुसा उमारेर हप्तामा दुई तिन चोटी खाँदा खानाको स्वाद फेरिनुका साथै स्वास्थ्यलाई फाइदा पनि पुग्छ । टुसा उमारेको मेथीमा काँक्रो, गोलभेडा, हरियो धनिया, कागती र काँचो तेल र स्वाद अनुसार यसमा नुन वा विरे नुन हालेर खाँदा निकै स्वादिष्ट हुन्छ । टुसा उमारेको मेथीमा तितोपन पनि धेरै नै कम हुन्छ ।
(जनस्वास्थ्यविद् अरुणा उप्रतीसँगको कुराकानीमा आधारीत )