काठमाडौं - महिनावारी हुँदा विभिन्न महिलाहरुमा विभिन्न किसिमका समस्याहरु जस्तै कमजोरी, अल्छीपन, रिङ्गटा लाग्नु, तल्लो पेट दुख्नु, स्तन दुख्नु, हात– खुट्टा दुख्नु, हिँड्न गाह्रो हुनु, खान मन नलाग्नु, मानसिक तनाव जस्ता आदि समस्याहरु देखा पर्न सक्छन् । यसका कारणहरु के–के हुन् ? यसलाई कसरी रोक्न सकिन्छ ? भन्ने धेरैजसो महिलाहरु सोच्ने गर्छन् ।
महिनावारी हुँदा प्रत्येक मासिक चक्रभन्दा अगाडि हर्मोनको मात्रामा आउने परिवर्तनले गर्दा पाठेघरको भित्री तहमा सूक्ष्म रक्तनलीहरु फैलन बन्द भई पाठेघरको भित्री तहमा बनेको बाक्लो र नरम तह कायम हुन नसकी फुटेर महिनावारीको रुपमा रक्तस्राव हुन्छ । यही प्रक्रियाले गर्दा नै तल्लो पेट दुख्ने, ढाड दुख्ने आदि गर्दछ । त्यस्तै, त्यही हर्मोनहरुको परिवर्तनले गर्दा कुनै महिलाको स्तन सा¥हो वा कडा हुनु वा दुख्नु, कब्जियत हुनु, थकित महसूस हुनु, मांसपेशीहरु दुख्नु, अनुहारमा डन्डीफोर आउनु, खान मन नलाग्नु, मानसिक तनाव आदि भएको हुन सक्छ । सबै महिलामा यी लक्षण हुन्छन् नै भन्ने छैन । यदि भएमा पनि महिनैपिच्छे यी लक्षणहरु फरक फरक हुन सक्छन् । यस्ता समस्याहरुलाई रोक्न तलका बुदाँहरुमा ध्यान दिनु जरुरी छ ः–
तल्लो पेटमा हलुका तरिकाले मालिस गर्दा कडा मांसपेशी नरम हुन्छ ।
हटप्याकले सेक्ने
अदुवाको धुलो राखी तातो चिया वा पानी पिउने
अत्यधिक रक्तसाव भएमा स्वास्थ्यकर्मीको परामर्श लिने
त्यसबाहेक प्रत्येक महिनामा यस्ता फरक–फरक समस्या हुँदा के गर्दा ठीक हुन्छ या फाइदा हुन्छ भन्ने कुरा आफैंले पनि थाहा पाइराख्नु जरुरी हुन्छ ।
कसैलाई मानसिक चिन्ता, तनाव हुन्छ । त्यसैले यो एक प्राकृतिक अवस्था भएको र यसले कुनै ठूलो हानि गर्दैन भन्ने बुझेर यसप्रतिको चिन्ता हटाउन नियमित योग, प्राणायाम तथा व्यायाम गर्नाले त्यस्ता मानसिक चिन्ता हट्न मद्दत पुग्दछ ।
अत्यधिक रक्तस्राव बाहेकका अन्य लक्षणहरु सामान्य हुन्छ ।