- डा ओम मुर्ति अनिल
काठमाडौं - खानाबाट ट्राइग्लीसेराइडको नियन्त्रण गर्न सबभन्दा पहिला सैचुरेटेड फ्याट र टान्स फ्याटको प्रयोगलाई न्यून गर्नुपर्छ । बनस्पतिबाट नै प्राप्त हुने रेसादार खाना बढी खानुपर्छ । रिफाइन्ड कार्बोहाइट्रेड (जुन जंकफुडमा पाइन्छ) लाई कम र प्राकृतिक कम्प्लेक्स कार्वाेहाइट्रेड (जुन वनस्पतीबाट प्राप्त हुन्छ) बढी प्रयोग गर्नुपर्छ । जनावरबाट प्राप्त हुने खाना (मासु, दुध) कम खाने र वनस्पतीबाट प्राप्त हुने खाना धेरै खाने गरेमा कोलेस्ट्रोल नियन्त्रण गर्न सजिलो हुन्छ I
भात कम खाने
भातमा कार्बोहाइट्रेड बढी हुने भएको ले यसको जती कम प्रयोग गरिन्छ, उत्ति नै स्वस्थकर हुन्छ । भात बढी खानेहरुमा ट्राइग्लीसेराइड बढी हुने र राम्रो कोलेस्ट्रोल कम हुने गरेको पाइन्छ । भातको धेरै प्रयोगले मधुमेह लगायत भविष्यमा मुटु रोगको पनि खतरा बढाउँछ । ट्राइग्लीसेराइडलाई नियन्त्रण गर्न भात थोरै खानु लाभदायक हुन्छ । दिनमा एक पटक भात र एक पटक रोटी, मकै खानु राम्रो उपाय हुनसक्छ ।
दूध, दहि, घ्यू कम खाने
दुधको प्रयोगले ट्राइग्लीसेराइड बढ्ने सम्भावना हुन्छ । दुधबाट बन्ने अन्य परिकारको प्रयोगले पनि ट्राइग्लीसेराइड बढ्न सक्छ । त्यसैले ट्राइग्लीसेराइडको नियन्त्रणको लागि खानामा दुध र दुधजन्य खानाको प्रयोगलाई न्यून गर्न जरुरी हुन्छ । कम चिल्लो दुध थोरै मात्रामा खान सकिन्छ । दुधभन्दा दही र महिमा फ्याट कम हुने भएकोले, चिल्लो कम दही र महिको प्रयोग गर्न मिल्छ । तर कोलेस्ट्रोलको औषधि सेवन गर्नु भन्दा दुध नखानु नै राम्रो उपाय हो । राती सुत्ने बेलामा दुध खाने बानी हटाउँन जरुरी हुन्छ । घ्युमा सैचुरेटेड फ्याट बढी भएकाले खानु नै हुँदैन । बनस्पती घ्युमा टान्स फ्याट बढी भएकोले खाने सोच्नु पनि हुदैन ।
खाने तेल कम खाने
खाने तेलमा अन सैचुरेटेड फ्याट बढी हुन्छ जसले कोलेस्ट्रोलमा धेरै नराम्रो असर त गर्दैन, तर यसको प्रयोग पनि बढी गरिएमा ट्राइग्लीसेराइड बढ्ने र मोटोपना हुने संभावना बढी हुनसक्छ । त्यसैले यसको प्रयोग पनि सकेसम्म कम गर्नुपर्छ ।
अण्डा नखाने
अण्डाको पहेलो भागले कोलेस्ट्रोल बढाउँछ । त्यसैले उच्च कोलेस्ट्रोल भएकाले पहेलो भाग खानु हुदैन, तर सेतो भाग जती खादा पनि हुन्छ ।
कुखुराको मासु कम खाने
धेरै मानिसमा कुखुराको मासुले कोलेस्ट्रोल बढाउँदैन भन्ने भ्रम भएको देखिन्छ । कुखुराको छाला र भित्री भागमा बोसो अत्याधिक हुन्छ । कुखुराको मासुले पनि कोलेस्ट्रोल÷ट्राइग्लीसेराइड बढाउँछ । कोलेस्ट्रोलको समस्या भएका व्यक्तिले छाला नभएको मासुमा कम तेलको प्रयोग गरी थोरै मात्रामा खान मिल्छ । सामान्य व्यक्तिले पनि हप्तामा एक पटक भन्दा बढी कुखुरा खानु हुँदैन ।
रातो मासु नखाने
यसमा प्रसस्त सैचुरेटेड फ्याट भएकोले उच्च कोलेस्ट्रोलको बिरामीले रातो मासु भने कहिले पनि खानु हुँदैन । सामान्य व्यक्तिले पनि थोरै मात्रामा महिनामा बढीमा एक पटक भन्दा बढी खानु हुदैन ।
जंकफुड नखाने
रेडिमेड र फास्टफूडहरु (जुन पसलबाट किनेर ल्याइन्छ), भुटेको वा तारेको खाना, आइसक्रिम, केक, पेस्ट्रिज, मिठाई आदि खानामा सैचुरेटेड फ्याट र ट्रान्स फ्याट बढी पाइन्छ छ र यसमा क्यालोरी पनि अत्याधिक हुन्छ । ट्राइग्लीसेराइडको नियन्त्रणको लागि यस्तो खाना हानिकारक भएकोेले सकेसम्म यसको प्रयोग गर्नु हुँदैन ।
मिठाई नखाने
यसमा दुध, चिनी र तेलको प्रेयोग गरिएको हुन्छ । यसको प्रयोगले ट्राइग्लीसेराइडलको स्तरमा नराम्रो असर पर्छ । त्यसैले यसलाई न्यून मात्रामा मात्र प्रयोग गर्नुपर्छ । मिठाईमा क्यालोरी बढी हुनाले मेटोपनको संभावना पनि बढी हुन्छ । ट्राइग्लीसेराइडको नियन्त्रणको लागि मिठाई नखानु राम्रो हो ।
रेस्टुरेन्ट तथा पार्टी
रेस्टुरेन्ट तथा पार्टीमा तेल र घ्यूको प्रयोग बढी गरिनुको साथै यसको गुणस्तर पनि भरपर्दो नहुन सक्छ । यस्तो खाना स्वास्थ्यको लागि राम्रो मानिदैन । कोलेस्ट्रोल नियन्त्रण गर्नको लागि घर बाहिरको खाना अत्यन्तै कम खानु पर्छ ।
गुलियो खाना कम खाने
जुन खाना वा पेय पदार्थमा चिनीको मात्रा बढी हुन्छ त्यस्तो खाना खानु हुँदैन । कोण्डड्रिंक्स÷जुस आदिको प्रयोगले पनि ट्राइग्लीसेराइड बढाउने संभावना हुन्छ । सकेसम्म चिनी मिसाइएको जुनसुकै खाना भएपनि नखानु वा थोरै खानु राम्रो हो ।
चिया-कफी कम खाने
यसमा पनि चिनी तथा दुधको प्रयोग गरिएको हुन्छ, जुन कोलेस्ट्रोल उच्च भएका व्यक्तिका लागि उत्तम मानिदैन र यसमा क्यालोरी पनि बढी हुन्छ । त्यसैले दुध भएको चिया दिनमा एक पटक भन्दा बढी खानु हुँदैन ।
मदिरा नखाने
जुनसुकै मदिरामा क्यालोरी बढी हुन्छ, जसले मोटोपना गराउँछ । अत्याधिक मदिरा, वियरको प्रयोगले रगतमा ट्राइग्लीसेराइडको स्तर बढाउँछ । उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको नियन्त्रणको लागि मदिराको प्रयोग नगर्नु नै राम्रो मानिन्छ भने अत्याधिक प्रयोग गर्नेहरुले मात्रामा नियन्त्रण गर्नु जरुरी हुन्छ ।