- डा. प्रदिप पाण्डे
काठमाडौं - एन्जाइटि डिसअर्डर एक किसिमको नशा तथा मानसिक समस्या हो जुन रोग एकदमै सामान्य समस्या हो । यो जुनसुकै उमेर समुहलाई हुन सक्छ ।
लक्षणहरु
ढुक ढुक हुने,
डर लाग्ने,
छटपटी हुने,
सास रोकिएको जस्तो हुने,
मरिन्छ कि जस्तो लाग्ने,
छातीमा थिचेजस्तो महसुस हुने,
मुख सुक्खा हुने,
चक्कर लागेजस्तो हुने
मुटुको समस्या वा हार्ट अट्याक हुँदा पनि यस्ता लक्षण देखिन्छन् । त्यसैले यस्तो समस्या भएमा पहिले ईसीजी, इको, सीपीके - एमबी, ट्रोपोनिन गर्नुपर्ने हुन्छ साथै हृदय रोग विशेषज्ञलाई देखाउनुपर्ने हुन्छ । मुटुमा केहि समस्या देखिएको छैन भने मानसिक समस्याले भेट्यो कि भनेर शंका गर्नुपर्छ ।
सबै मानसिक समस्या भएका व्यक्ति बौलाहा हुदैनन् । दैनिक रुपमा काम गरिराखेका व्यक्तिलाई पनि मनसम्बन्धि समस्या देखिन सक्छ तिनै समस्यामध्ये एन्जाइटि डिसअर्डर पनि एक हो ।
मानसिक समस्याले शरीरमा डर लाग्ने, ढुक ढुक हुने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने देखि लिएर शरीर दुख्ने, टाउको दुख्ने, झम झम गर्ने, पोल्ने आदि लक्षण देखिन्छ ।
एन्जाइटि डिसअर्डरका प्रकारहरु
प्यानिक डिसअर्डर
फोबिया
पोस्ट टर्माटिक स्ट्रोस डिसअर्डर
जर्नलाइज एन्जाइटि डिसअर्डर
अब्सेसिभ कम्पुल्सिभ डिसअर्डर
प्यानिक डिसअर्डर
प्यानिक डिसअर्डर भएमा मुटु ढुक ढुक हुने, डर लाग्ने, सास रोकिए जस्तो हुने, मुटुकै समस्या हार्ट अट्याक नै भयो जस्तो लाग्ने हुन्छ । कत्तिलाई छाती भारी हुने, मुटु दुख्ने, मरिन्छ जस्तो हुने केहि छिनमा ठिक भएको महशुस हुन्छ ।
यस्तो समस्या भएमा पहिले मुटुको चिकित्सकलाई देखाएपछी मुटुमा केहि समस्या भने मनोचिकित्सक्लाई भेट्नु पर्दछ ।
पोस्ट टर्माटिक स्ट्रोस डिसअर्डर
पोस्ट टर्माटिक स्ट्रोस डिसअर्डर भएमा कुनै घटनाले सताईराख्ने हुन्छ जस्तै भूकम्प आइसकेपछी मानिसहरुलाई भूकम्प गएको महिना दिन बितिसक्दा भूकम्प आउँछ कि भनेर डर लाग्ने, शरीर हल्लेजस्तो, कापेजस्तो महसुस हुने, माथिल्लो तलामा जान डर लाग्ने हुन्छ । त्यस्तै फेरी भूकम्प आयो भने के गर्ने होला, भन्ने र त्यो भूकम्पको सोच, त्यतिखेरको घटना आँखा वरिपरी आउने हुन्छ ।
भूकम्प गएको १ वर्ष बितिसक्दा पनि यसले दुख दिन सक्छ, कत्तिलाई भूकम्प गएको ५ वर्षसम्म पनि यसले सताउन सक्छ, भूकम्पलाई महसुस गर्ने व्यक्तिहरुको मानसिक अवस्था कमजोर भइराखेको हुन सक्छ । जसले गर्दा त्यो समयमा केहि नभएपनि पछि जीवनमा आउने सामान्य समस्याले पनि उनीहरु टुट्न सक्छन् र मनोरोग आउन सक्छ ।
जर्नलाइज एन्जाइटि डिसअर्डर
जर्नलाइज एन्जाइटि डिसअर्डर भएमा व्यक्ति छटपट गर्ने, एकै ठाउँमा बस्न नसक्ने, कता जाऊ के गरौ जस्तो भइरहने हुन्छ । त्यस्तै आत्तिने, जुनसुकै काम गर्दा पनि मन शान्त नहुने हुन्छ । यस्ता समस्या ३ देखि ६ महिनासम्म देखिएमा चिकित्सकलाई देखाउनु अनिवार्य हुन्छ ।
अब्सेसिभ कम्पुल्सिभ डिसअर्डर
अब्सेसिभ कम्पुल्सिभ डिसअर्डर भएमा कुनै व्यक्तिलाई जुनुनी विचार बारम्बार आउनु सहि होइन भन्ने थाहा हुदाँ पनि त्यसलाई रोक्न नसक्ने हुन्छ । जब उक्त व्यक्ति यो विचारलाई रोक्न खोज्दछ, उसलाई छट्पट हुने, आत्तिने, डर लाग्ने हुन्छ ।
फोबिया
फोबिया कुनै पनि एक बिशिष्टकुरासंग डराउनु जस्तै कुकुरसँग डर लाग्ने, उचाईसंग डर लाग्ने, बन्द कोठामा डराउने, भिडमा बिनाकारण डर सुरु हुने, सास फेर्न गारो भएजस्तो हुने, त्यस्तै समाजमा छिमेकका व्यक्ति बसेर कुरा गरिराखेका छन् भनेपनि डर लाग्ने, अध्यारोमा डर लाग्ने, एक्लै हिड्न डर लाग्ने आदि समस्या फोबिया अन्तर्गत पर्दछन । यो समस्यासंग प्यानिक डिसअर्डर पनि जोडिएको हुन सक्दछ ।