काठमकाडौं चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।
जाजरकोटको कुशे गाउँपालिका ९ की ४८ वर्षीया कमलादेवी शाहीले ४७ वर्षीय श्रीमान भरतविक्रम शाहीलाई कलेजो दिएकी हुन्।
मेडिकल कलेजका अनुसार असार १८ गते श्रीमतीको ६० प्रतिशत कलेजो काटेर श्रीमानको शरीरमा प्रत्यारोपण गरिएको हो ।
यो सहित चितवन मेडिकल कलेजले दोस्रो पटक कलेजो प्रत्यारोपण गरेको हो। यसअघि गत चैत ८ गते धनकुमारी लामालाई उनकी छोरी उषा तामाङले कलेजो दिएकी थिइन्।
प्रत्यारोपणमा कलेजका विशेषज्ञ शल्यचिकित्सकहरु सर्जन डा सञ्जयकुमार यादव, डा एकानन्द सिंह, डा जयन्तकुमार साह, हेपाटोलोजी डा सागर पौडेल, डा बरुण श्रेष्ठ, एनेस्थेसिया तथा क्रिटिकल कियरमा डा किरण अधिकारी, डा नविन यादव, डा सुरेश गौतम डा विरेन्द्र राउत, रेडियोलोजोष्टि डा दिपक अधिकारी, डा सुवास ओझा सहभागि थिए ।
चिकित्सकको टोलिले करिब १५ घन्टा लगाएर कलेजो प्रत्यारोपण गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताए ।
श्रीमानलाई कलेजो दान गरेकी कमलादेवी असार २७ गते अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् भने भरतविक्रमको अवस्थामा क्रमिक सुधार भइरहेको डा. देवकोटाले बताए ।
प्रत्यारोपणमा भारतको एपोलो अस्पतालका विशेषज्ञ चिकित्सकको सहभागिता रहेको थियो । कार्यकारी निर्देशक देवकोटाका अनुसार सिरोसिस् अफ लिभरको सी चरणमा पुगेका बिरामीलाई कलेजो प्रत्यारोपण गरिएको हो । काठमाडौँमा कलेजोको जाँच तथा उपचार गराउँदै आउनुभएका शाही दुई साताअघि मात्रै चितवन मेडिकल कलेज आउनुभएको जनाइएको छ ।
सिरोसिस् अफ लिभरको ‘ए’ ‘बि’ ‘सि’ चरणमध्ये शाही ‘सी’ चरणमा पुगेको जनाउँदै डा यादवले भन्नुभयो, “गत फागुनमा ‘सि’ चरणमा पुग्नुभएका शाहीलाई प्रत्यारोपण नगराएको भए थप जीवन रहन मुस्किल पर्ने अवस्था थियो ।” शाहीका पेटमा पानी भरिएको र ठुलो भएको थियो । उहाँले भन्नुभयो “अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै, हेपाटाइटिस ‘बि’ पनि बिरामीमा थियो ।”
कलेजो दाता कमलादेवीको स्वास्थ्यमा सुधारपछि उहाँलाई यही असार २७ गते नै अस्पतालबाट घर पठाइएको छ । शाहीको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको चिकित्सक यादवको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई समेत घर पठाउन सकिने अवस्था छ ।” उहाँले अगाडि भन्नुभयो, “दुई देखि तीन महिनामा दुवै जनामा कलेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउँछ । उहाँहरू दुवै जना सामान्य जीवन बिताउन सक्नुहुन्छ ।”
पत्रकार सम्मेलनमा हेपाटोलोजी डा पौडेलले प्रत्यारोपणका क्रममा झण्डैं १३ युनिट रगत खर्च भएको जानकारी दिनुभयो । सो कलेजले दोस्रो प्रत्यारोपण सफल गरेको हो । उहाँले अघिल्लो प्रत्यारोपणमा एक÷दुई युनिट रगतले नै पुगेको बताउनुभयो । बिरामी शाहीको कलेजोमा रगत जानै नसक्ने ‘ब्लकेज’ अवस्थामा रहेको जनाउँदै उहाँले भन्नुभयो, “सिरोसिस् भएका १० देखि १५ प्रतिशत बिरामीमा यस्तो समस्या हुन्छ ।” कलेजोको अन्य समस्या भएपछि गरिने प्रत्यारोपणमा भन्दा यस्तो समस्यामा प्रत्यारोपण गराउनु निकै जटिल भएको उहाँको भनाइ छ ।
यस अस्पतालमा हाल दैनिक १५ कलेजोका बिरामी उपचारका लागि आउने गरेको सो अवसरमा जानकारी गराइयो । तीमध्ये १० देखि २० प्रतिशत बिरामीको कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिने गरेको छ । कलेजले यसअघि काठमाडौँकी धनकुमारी तामाङको कलेजो प्रत्यारोपण गरेको थियो ।