- डा. अरुणा उप्रेती
काठमाडौं - म कागतीलाई औषधिको डल्लो भन्छु । बिहान उठ्नेबित्तिकै चिनी नहालेको कागती–चिया खान्छु । कागतीको रस दालमा मिलाएर पनि खान्छु । यसैले मैले कहिल्यै पनि भिटामिन ‘सी’को गोली खानै परेको छैन ।
कागतीमा पाइने एउटा महत्वपूर्ण तत्व हो भिटामिन ‘सी’ । भिटामिन ‘सी’ले रोगसंँग लड्न सक्ने (रोगप्रतिरोधात्मक क्षमता) प्रदान गर्छ भन्ने कुरा विज्ञानले पुष्टि गरेको छ ।
विशेष गरी ग्रामीण क्षेत्रमा बस्ने धेरै नेपाली महिलालाई रक्तअल्पता भएको पाइन्छ । यस्ता महिलालाई रगतको आपूर्ति गर्नका लागि विभिन्न औषधिहरु दिने गरिन्छ । तर कागतीमा रहेको भिटामिन ‘सी’ले भोजनमा रहेको लौहतत्वलाई शोषण गर्न मद्दत गर्छ भन्ने कुरा प्रायः विचारै गरिन्न ।
कतिपय स्वास्थ्यकर्मीले रक्तअल्पता भएका महिलालाई भिटामिन ‘सी’को चक्की दिन्छन् र खानासँंग खानु भन्छन् । सायदै, कुनै स्वास्थ्यकर्मीले कागतीको रस भोजनसँग मिसाएर खानु भन्छन् होला । ‘कागतीको रस मिसाएर भोजन खानु’ भन्दा औषधि कम्पनीहरुलाई फाइदा हुँदैन । त्यसैले हो कि कागतीलाई बढावा दिने र सस्तैमा फाइदा पुग्ने जानकारी दिन कन्जुस्याइँ गरिन्छ ।
यति लाभदायक भएर पनि आम मानिस यसको प्रयोगमा त्यति धेरै उत्साहित भएको पाइँदैन । कागती भिटामिन ‘सी’ र साइट्रिक एसिडले भरिपूर्ण छ तर पनि फुटपाथ, साधारण तरकारी पसलमा जताततै पाइन्छ । त्यसैले पनि शायद यसले महत्व नपाएको होला ।
कागतीको रसको प्रयोगले गिजाबाट रगत बग्ने समस्यालाई कम गर्न पनि मद्दत्त पुग्छ । त्यसैले गर्भवतीलाई कागती खाने सल्लाह दिने चलन गाउँघरमा अझै छ । रुघाखोकी लाग्दा कागती–पानी र मह खानुपर्छ भन्ने कुरा धेरैले थाहा पाएका छन् ।
कागतीलाई दैनिक भोजनको रुपमा प्रयोग गर्दा रोगप्रतिरोधात्मक शक्ति बलियो हुन्छ । साथै यसले हरेक पटक मौसम बदलिँदा रुघाखोकी लाग्ने पनि कम हुन्छ ।
मुख गन्हाउने व्यक्तिको यदि दन्तसम्बन्धी अन्य रोग छैन भने कागतीको रस र तातो पानीले कुल्ला गर्दा फाइदा गर्छ ।