काठमाडौं - आज साउन १ गते अर्थात साउने संक्राति । असार महिनाभर धान रोपाइँ लगायतका खेतीपातीमा काम गरेर किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् ।
हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलन रहि आएको छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ ।
लुतो छालामा लाग्ने र अत्यधिक चिलाउने एक प्रकारको सबैमा देखिने सरुवा रोग हो । यसलाई अंग्रेजीमा स्केबिज भनिन्छ । यो बालबालिकादेखि बृद्ध जो कोही लाई लाग्न सक्छ । यो सार्कोप्टेस स्क्याबी नामक परजीवीद्वारा लाग्दछ । १५ देखि २० वटा परजीवी लुतोको समस्या ल्याउनका लागि पर्याप्त हुन्छन् । यसको समस्या विश्वका सबैजसो गर्मी ठाउँहरुमा देखिएको छ । यो रोग परिवारमा एकजनालाई हुदाँ समय मै उपचार गरिएन भने परिवारका सबै सदस्यलाई सर्न सक्छ ।
प्रकार
लुतोलाई दुई भागमा बाँडिएको पाइन्छ ।
सुके लुतो
यो लुतो भएमा प्रभावित छालामा साना सेता दाग सोझै आँखाले देख्न सकिन्छ । यो लुतोले दिउँसो भन्दा रातमा बढ्ता सताउँछ ।
पकुवा लुतो
लुतो आएको ठाउँमा कनाउनाले वा अन्य जीवाणुको संक्रमण हुनाले लुतो भएका ठाउँमा पाकेका बिबिरा देखिन सक्छन् । यसलाई पकुवा लुतो भन्ने चलन छ ।
लक्षण
चिलचिलाहट
मसिना बिबिरा
छालामा खुरदुरापन
अन्य संक्रमण बाट पाक्ने र पानी बग्ने समस्या
कारण
लुतो आउनुको मुख्य कारण नै सार्कोप्टेस स्क्याबी नामक आठ खुट्टे सूक्ष्म परजीवीको संक्रमण हो । केवल १५ देखि २० वटा यी परजीवी लुतोको समस्या ल्याउनका लागि पर्याप्त हुन्छन् । यिनीहरुको उपस्थिति, यिनका अण्डा तथा उत्सर्जित फोहरसँग छालामा हुने एलर्जीका कारण हामीलाई चिलाएको अनुभव हुन्छ । महिला परजीवीले छालाको बाहिरी सतह भन्दा भित्र अण्डा पार्छे । अण्डाबाट परजीवी जन्मे पछि ती पुनः छालाको बाहिरी सतहमा निस्कन्छन् र शरीरमा यत्रतत्र फैलन्छन् या सम्पर्कमा आउने अन्य व्यक्तिमा सर्दछन् ।
लुतोले प्रभावित हुने अंगहरु
औलाहरु तथा औलाका कापहरु
नाडीको वरिपरिको छाला, कुहिना र घुडा ओरिपरि
काखी
स्तन को मुन्टो ओरिपरिको भाग
कम्मर र पुठ्ठाको भाग
पुरुषमा लिङ्ग तथा अण्डाथैली को क्षेत्र
नितम्बको तल्लो भाग तथा जंघा र तिघ्राको माथिल्लो भागमा
खुट्टाको छेउ तथा पैताला तिरको भाग
निदान
लुतो भएको मानिसको लक्षण हेरेरै डाक्टरले लुतो हो होइन निश्चय गर्नुपर्छ ।
उपचार
लुतोको उपचारमा ५ प्रतिशत पर्माथ्रिन क्रीम, क्रोटामिटन क्रीम, लिन्डेन लोशन आदिको प्रयोग गर्न सकिन्छ । कुनै कुनै केसहरुमा २५ प्रतिशत बेन्जाइल बेन्जोनेट लोशन अथवा १० प्रतिशत सल्फर मलमको प्रयोग पनि गरिन्छ । कसैलाई इभरमेक्टिनको खाने औषधि दिनु पर्ने पनि हुन्छ ।