काठमाडौं - यो रोग प्रायः गर्मी महिनामा शरीरमा सरसफाइको कमीले आउने गर्छ । लुतो ‘सार्कोप्टिस स्क्याबी’ जीवाणुले ल्याउँछ । काठमाडौं मेडिकल कलेजकी छाला रोग विशेषज्ञ डा.सबिना भट्टराइका अनुसार, यदि शरीर फोहोर भएमा लुतोका किटाणु शरीरभित्र छिर्छन् ।
लुतोका किटाणुले रातिको समयमा रगत चुस्ने भएकाले लुतो राति बढी चिलाउँछ । यो रोगका किटाणुले कमलो र न्यानो भागमा गएर रगत चुस्न मन पराउँछन् । यसले नरम छालालाई बढी संक्रमित गर्छ । यो सरुवा रोग हो । यसरी लुतो संक्रमण हुन एक महिना लाग्छ ।
लुतो कसरी चिन्ने ?
एलर्जी, जुम्रा एवं किराले टोकेको भन्दा लुतो अलि फरक हुन्छ । शरीर न्यानो भएको बेलामा लुतो चिलाउँछ । कहिलेकाहीँ कन्याउँदा–कन्याउँदै घाउ भएर पाक्न सक्छ । लुतो नरम छाला भएको ठाउँमा आउँछ । लुतो पनि भिन्न–भिन्न प्रकारका हुन्छन् ।
यो पसिना आउने ठाउँमा बढी आउँछ। सरुवा रोग भएकाले एक पटक हामीले चिलाएर त्यही हातले अर्को ठाउँमा चिलाउँदा लुतो सर्ने गर्छ ।
उपचार विधि
लुतोको उपचार सम्भव छ । लुतोको किटाणु एकदेखि दुई दिनसम्ममा मर्छन् । लुतो लागेको मानिसले लगाएको लुगा राम्रोसँग धोएर घाममा सुकाउनुपर्छ ।
यसबाट लुतो निख्रिनसक्छ । चिकित्सकको सल्लाह बमोजिन लुतोको उपचार गर्नुपर्छ र यो निको हुन्छ । यसका साथै सरसफाइमा ध्यान दिन जरुरी छ ।
लुतो लाग्न नदिन के गर्ने ?
लुतो आउन नदिन सरसफाइमा ध्यान दिन जरुरी छ । लुतो आएको व्यक्तिले राम्रोसँग नुहाएर चिकित्सकको सल्लाह बमोजिन औषधि सेवन गरी सफा लुगा लगाएमा रोग निको हुन्छ ।