चितवन- तीन महिनापछि आंशिकरुपमा खुलेका सौराहाका होटलका मजदुरले काम शुरुआत गर्नुअघि कोरोनाविरुद्धको खोपको माग गरेका छन् । ती क्षेत्रका होटलमा दुई हजार ५०० हाराहारी मजदुर कार्यरत छन् ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो गरेर गत असार अन्तिम साताबाट क्षमताको ३३ प्रतिशत मात्र पाहुना राख्न दिएपछि अधिकांश होटल सञ्चालनमा आएका छन् । होटलमा न्यून मात्र मजदुर छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दिपक भट्टराईले खोप नलगाई काम गर्न मजदुरले नमानेको जानकारी दिए ।
उनका अनुसार हाल त्यहाँ दैनिक ६०÷६५ पाहुना आउन थालेका छन् । ती पाहुनालाई होटलले सामान्य व्यवस्थापन मात्र गर्दै आएको छ । होटल कुर्न बसेका थोरै मजदुरले होटल सञ्चालन गरिरहेका छन् । त्यही बसेका मजदुर र घरमा रहेका दुवैको माग खोप छ । उहाँका अनुसार मजदुरलाई खोप लगाइदिन जिल्ला प्रशासन कार्यालयमा संस्थागतरुपमा निवेदनसमेत दिइएको छ ।
स्थानीय प्रशासनले आंशिकरुपमा सञ्चालन हुने भएकाले त्यही सङ्ख्याका लागि मात्र खोपको माग गर्न भनेपछि ६०० जना मजदुरका लागि पहिलो चरणमा खोप लगाइदिन अनुरोध गरिएको उनले जानकारी दिए। उनले भने , “अग्रभागमा रहेर काम गर्नेलाई मात्र खोप लगाइदिन सके धेरै सुरक्षित हुन्छ ।”
सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले प्रत्यक्षरुपमा पाहुनासँग काम गर्ने मजदूरलाई खोप नलगाई काममा लगाउन कठिन हुने बताए ।
प्राथमिकताका आधारमा आंशिकरुपमा पहिलो चरणमा खोप लगाइदिन सकेमा होटल सञ्चालनमा सहज हुने उनको भनाइ छ । आइतबार मात्र आफ्नो होटल जङ्गल सफारी लजमा पाँच वटा कोठामा पाहुना भएको जनाउँदै उहाँले ती पाहुनासँग प्रत्यक्ष काम गर्नेलाई खोप लगाउन सकेमा सुरक्षित हुने बताए ।
सङ्घका महासचिव गुणराज थपलियाले होटल सञ्चालनमा आउन थालेको जनाउँदै मजदूरलाई खोप लगाएर सुरक्षित बनाउनुपर्ने बताउनुभयो । उहाँले भने, “हामीले कोभिड– १९ बाट बच्ने स्वास्थ्य मापदण्ड अवलम्बन गरेर होटल सञ्चालनमा ल्याएका छौँ । मजदुरलाई सुरक्षित गराएर होटल सञ्चालन गर्नुप¥यो ।”
रासस नारायण अधिकारी