काठमाडौं - रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ । कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो । चिल्लो पदार्थ खाँदा कोलेस्ट्रोल बन्छ भने चिल्लो पदार्थ नखाने व्यक्तिमा पनि कोलेस्ट्रोल बन्न सक्छ । चिल्लो पदार्थ कम खाने व्यक्तिमा बंशानुगत कारणले उच्च कोलेस्ट्रोल भएको देखिन्छ । कुनै व्यक्तिको बुबा, हजुरबुबामा उच्च कोलेस्ट्रोल भएमा यो समस्या छोरा नातिमा पनि देखिनसक्छ ।
यसको उत्पादन प्रमुख रूपमा कलेजोमा हुन्छ। सेक्स हर्मोन, थाइरोइड हर्मोन लगायत मानव शरीरका सबै हर्मोनहरु कोलेस्ट्रोलबाट नै बन्छ । त्यसैले कोलेस्ट्रोल बिना कुनै मानिस बाच्ँन सक्दैन । स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ ।
कोलेस्ट्रोललाई तिन किसिममा विभाजन गरिन्छ । सबैभन्दा कम घनत्व भएको, अलि कम घनत्व भएको र बढि घनत्व भएको हुन्छ । कोलेस्ट्रोलको घनत्व जती कम हुदैँ गयो त्यति नै रक्त नलिको धमनिमा कोलेस्ट्रोल जम्न थाल्छ ।
कोलेस्ट्रोल जम्ने प्रक्रृया मानिस जन्मने बित्तिकै सुरु हुन्छ । मानिसको उमेर बढ्दै जादाँ व्यायम कम भएमा कोलेस्ट्रोल जम्ने शक्ति बढ्दै जान्छ । मोटोपना भएका व्यक्तिमा चल्ने क्षमता कम हुनुका साथै खानेकुरा धेरै खाने भएकाले कोलेस्ट्रोल बढ्दै जान्छ ।
कोलेस्ट्रोलको एक अंश ट्राइग्लिसराइड्स हो । यसको कोलेस्ट्रोलको घनत्वसँग कुनै सम्बन्ध हुदैन । तर ट्राइग्लिसराइड्स बढि भएमा रगत बाक्लो भएर जम्ने शक्ति बढाउँछ ।
बढि घनत्व भएको कोलेस्ट्रोल ४० वा ५० भन्दा बढि भएमा फाइदा हुन्छ । बढि घनत्व भएको कोलेस्ट्रोल ४० वा ५० मिलीग्राम र डीएल भन्दा बढि भएमा र कम घनत्व भएको कोलेस्ट्रोल १५० मिलीग्राम र डीएल भएपनि केहि बिगार्दैन । किनकि बढि घनत्व भएको कोलेस्ट्रोलले कम घनत्व भएको कोलेस्ट्रोललाई सँगै बगाएर लैजान्छ ।
बढि घनत्व भएको कोलेस्ट्रोल ४०मिलीग्राम र डीएल भन्दा कम भएमा कम घनत्व भएको कोलेस्ट्रोल आफै जम्न थाल्छ । यो जमेर धमनिहरुमा अवरोध हुदैँ जान्छ । कोलेस्ट्रोलहरु जमेर धमनिहरु साघुरिदैँ जादाँ धमनिको भित्रको भाग इन्टिमा नच्यातिएसम्म हार्ट अट्याक हुदैँन । जब इन्टिमा च्यातिन्छ त्यसको ५ मिनेट भित्र हार्ट अट्याक भइहाल्छ । त्यसैले केहि लक्षण बिना नै अचानक हार्ट अट्याक आउँछ ।
७० प्रतिशत भन्दा कम अवरोध हुदाँ लक्षण केहि पनि हुदैँन । अचानक भित्रको इन्टिमा च्यातिएपछि हार्ट अट्याक हुनसक्छ । त्यसैले हार्ट अट्याक हुनु अघि कुनै लक्षण नदेखि साइलेन्स अट्याक गर्ने गर्दछ ।
३० बर्ष नाघेको हरेक व्यक्तिले बर्षको एक पटक कोलेस्ट्रोल, रक्तचाप र मधुमेह परिक्षण गराउँनु पर्छ । यदि कोहि व्यक्तिमा कोलेस्ट्रोल, रक्तचाप र मधुमेह उच्च देखिएमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुको साथै परिक्षण गराउँनुपर्छ ।
कोलेस्ट्रोल लेबल उच्च भएमा त्यसलाई नियन्त्रण गर्नुपर्छ । कोलेस्ट्रोल नियन्त्रण गर्नका लागी चिल्लो पदार्थ कम खानुपर्छ । कुनै व्यक्तिले चिल्लो पदार्थ एकदमै कम खादाँ पनि कोलेस्ट्रोल उच्च भएमा कलेजोमा समस्या हुनसक्छ । कलेजोले कोलेस्ट्रोल धेरै बनाइरहेको हुनसक्छ । त्यसका लागी कलेजोले कम कोलेस्ट्रोल बनाउँने औषधि खान सकिन्छ । साथै शरीरमा भएको कोलेस्ट्रोल घटाउनका लागी व्यायम नै गर्नुपर्छ ।
हार्ट अट्याक कोलेस्ट्रोलले नै हुने प्रमाणित भइसकेको छ । तर कोलेस्ट्रोल जम्मा भएर इन्टिमा किन च्यातिन्छ त्यसबारे केहि तथ्य पत्ता लागिसकेको छैन । पछिल्लो समय उच्च रक्तचाप, धुम्रपान गर्ने व्यक्तिको रगतमा खस्रो पदार्थ बढेर र इन्फेक्सनको कारणले पनि हार्ट अट्याक हुनसक्ने अन्दाज लगाइएको छ । हार्ट अट्याकको ठोस कारण पत्ता लागेको छैन । हार्ट अट्याक हुने कारण पत्ता लगाउन सके यसलाई पुर्ण रुपमा रोक्न सकिन्छ ।
कोलेस्ट्रोल, रक्तचाप मधुमेह र खानपानलाई नियन्त्रणमा ल्याएर, मानसिक तनाव घटाएर र शारीरिक व्यायम बढाएर हार्ट अट्याकलाई रोक्न सकिन्छ ।