कोभिड-१९ का बिरामीहरूलाई सङ्क्रमण गर्ने 'कालो ढुसी' बाट भारतमा कम्तीमा ४,३०० जनाभन्दा बढीको मृत्यु भएको छ।
भारतमा प्रायः दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस सङ्क्रमण भएका ४५,३७४ बिरामी फेला परेको स्वास्थ्यमन्त्री मनसुख मांडवियाले बताएका छन्।
यो ढुसीले नाक र आँखामा प्रभाव पार्छ। सङ्क्रमण फैलिएर कहिलेकाहीँ मस्तिष्कसम्म पुग्ने ढुसी अहिले प्रायः कोभिडबाट निको भएको १२ देखि १८ दिनमा देखा पर्छ।
सङ्क्रमण भएकामध्ये झन्डै आधाले अझै उपचार गराइरहेका छन्।
चिकित्सकहरूले ढुसीको कोभिड उपचारका लागि प्रयोग गरिने स्टेरोइड औषधिसँग सम्बन्ध छ र मधुमेह भएका मानिसमा यसको बढी जोखिम छ।
चिकित्सकहरूका अनुसार यो रोगविरुद्ध एन्टी-फङ्गल इन्जेक्शन (सुई) मात्रै प्रभावकारी देखिएको छ।
सबैभन्दा बढी प्रभाव महाराष्ट्र र गुजरात राज्यमा देखिएको छ। त्यहाँ म्यूकोर्माइकोसिसबाट १,७८५ जनाको मृत्यु भएको छ।
म्यूकोर्माइकोसिसका धेरै बिरामीमा संलग्न बेङ्गलुरुका शल्यचिकित्सक रघुराज हेगडेले रोगको "सङ्क्रमण र मृत्युको धेरै कम गणना" गरिएको बीबीसीलाई बताए।
"सामान्यतया म्यूकोर्माइकोसिस भएको केही हप्तादेखि महिनापछि मृत्यु हुने गर्छ। हाम्रो विद्यमान प्रणाली यो तथ्याङ्क फेला पार्न उपयुक्त छैन," उनले भने।
कालो ढुसीको सङ्क्रमणसम्बन्धी तथ्याङ्क कम हुनुमा साना अस्पताल र ग्रामीण भेगमा यो रोग पत्ता लगाउन गाह्रो हुनु पनि कारण रहेको उनले जानकारी दिए। उनका अनुसार ठूला सहरमा पनि सङ्क्रमितमध्ये केही मात्रै अस्पताल पुगेका छन्।
चिकित्सकहरूका अनुसार धेरै बिरामीहरूको अस्पताल पुग्नुअघि नै मृत्यु भएको छ र उपचार भएका अनि निको भएका कैयौँ बिरामीमा सङ्क्रमण फर्किएको पाइएको छ।
के हो म्यूकोर्माइकोसिस?
यो एक प्रकारको निकै विरल देखिने सङ्क्रमण हो। यो सामान्यतया माटो, बोटबिरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्यूकोर भनिने ढुसीसँगको संसर्गबाट सर्छ।
यसले साइनस, मस्तिष्क र फोक्सोलाई असर गर्छ।
मधुमेह वा प्रतिरोध क्षमता क्षीण भएका क्यान्सरका बिरामी वा एचआईभी एड्स भएका मानिसका लागि यो रोग प्राणघातक बन्न सक्छ।
चिकित्सकहरूका अनुसार एम्फोटेरिसिन बी अथवा एम्फो-बी भनिने एन्टी-फङ्गल औषधि सुईबाट बिरामीमा प्रत्येक दिन आठ साता दिनुपर्छ।
बीबीसी