काठमाडौं- संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको देखिएको छ । चिकित्सकहरु भन्छन् आत्महत्या गर्नु पर्ने धेरै कारण मध्य सामाजिक, पारिवारिक,आर्थिक,शारिरिक तथा अन्य कारणहरु भएता पनि मुख्य गरि मानसिक तथा मनोबैज्ञानिक कारणहरु बाट व्यक्तिहरु आत्महत्या गर्नपुग्छन् ।
कुनै समयमा आत्महत्या उमेर पुगेका व्यक्तिहरुले मात्र गर्छन भनिन्थ्यो तर आजभोलि बालबालिकाहरुले पनि आत्महत्या गरेको खबर बाहिरिएका छन् । गत वर्षको डाटा अनुसार १८ वर्षमुनिका युवाहरुमा आत्महत्या गर्नेको दर झन्डै २१ प्रतिशतको हाराहारीमा रहेको छ । के उमेर पुगेका वा ठुला व्यक्तिहरु जस्तै बालबालिकामा पनि तनाव (डिप्रेशन) हुन्छ त ? कि अन्य केहि कारणले उनिहरुलाई आत्महत्या गर्न बाध्य बनाइरहेको हुन्छ ? यी नै विषयमा रहेर मनोविद् गोपाल ढकाल गरेको कुराकानीः
१. दिनप्रतिदिन बालबालिकाहरुले आत्महत्या गरेको समाचार आइरहेको छन् यसका कारणहरु के के हुन् ?
बालबालिकाले आत्महत्या गर्दैनन् भन्ने एउटा गलत धारणा छ । मन भएका सबै प्राणीलाई मानसिक समस्या हुन्छ । बच्चा होस् वा बृद्ध सबैमा मानसिक समस्या हुने गर्दछ । बालबालिकाहरुमा कुनै समस्यालाई बुझ्ने शक्ति कम हुन्छ । त्यसकारण सानो घटनाले पनि उनिहरुलाई प्रभाव पार्छ । हाम्रो समाजमा बालबालिकाको समस्या र भावनालाई खासै महत्व दिइदैन । साना केटा केटी त हुन भनेर बेवास्ता गरिन्छ । अहिलेको समयमा बालबालिकाहरुलाई बाबु आमाले साखै समय दिदैनन् । सानो उमेरमा नै परिवारबाट अलग हास्टेल राखेर पढाउने प्रचलन छ । यि कारणले बच्चाहरु कुण्ठित हुन्छन् ।
बच्चाहरुलाई सामाजिक सञ्जाल र टेलिभिजनले एकदमै ठुलो प्रभाव पारेको हुन्छ । बच्चाहरुमा सहि गलत छुट्याउन सक्ने क्षमता हुदैँन । उनिहरु जे देख्यो त्यहि नक्कल (कपि) गर्दछन् । जस्तै टेलिभिजनमा आत्महत्या गरेको देख्यो भने त्यहि नक्कल गर्न तर्फ लाग्छन् । टेलिभिजनमा पटक पटक त्यहि सामाग्री प्रसारण गरेपछि बच्चाहरुमा मरेपछि टेलिभिजनमा देखाएको मान्छे जस्तै हुन्छु भन्ने धारण आउँछ र कतिपय बालबालिकामा बाबा आमाले नि माया गर्दैनन् मर्छु भन्ने मानसिकता पनि बनाउन थाल्छन् । बच्चाहरुको सानो इच्छा पुरा नगरिदिदाँ पनि मरिदिन्छु भन्ने शब्द प्रयोग गर्न थाल्छन् । २.यस्तो मानसिकताको रोकथाम कसरी गर्न सकिन्छ ?
बच्चाको मनमा रहेको समस्यालाई बुझ्नुपर्छ । सामाजिक सञ्जाल तथा टेलिभिजनमा प्रसारण हुने आत्महत्याको दुश्य, हत्या हिंसा जस्ता दुश्यबाट बच्चाहरुलाई टाढा राख्नुपर्छ । आमाबाबाले धेरैजसो समय बच्चालाई दिनुपर्छ । कोहि बच्चा सानो उमेरमा नै कुलतमा लागेको हुन्छ ।
तिनिहरुले आवेगमा आएर आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ । त्यसैले बालबालिकालाई अभिभावकहरुले नैतिक शिक्षा दिने, धेरैजसो समय उनिहरुसँग बिताउनुपर्छ । उनिहरुको भावना बुझ्न सक्नुपर्छ । बालबालिकाहरुमा पनि मानसिक समस्या आउँछन् त्यस्तो अवस्थामा मनोपरामर्श चिकित्सककोमा परिक्षण गराउनुपर्छ ।
३. बालबालिकालाई आत्महत्याको मनाशायबाट मुक्त गराउन अभिभावक र परिवारको कस्तो भुमिका हुन्छ ?
बालबालिकालाई आत्महत्या गर्नबाट रोक्नमा परिवारको निकै ठुलो भुमिका रहन्छ । किनभने बालबालिका कस्तो हुने भन्ने कुरा परिवारको हात हुन्छ । परिवारले सहि रुपमा ख्याल गरेन, समय दिएन, उसको भावनालाई बुझेन, कुण्ठित भयो भने भविष्यमा निकै ठुलो असर पर्छ ।
विभिन्न किसिमका सामाजिक समस्याहरु आउँछन् । कुलतमा लाग्न सक्छन् । पढाइमा असर पर्न सक्छ । बालबालिका कस्तो संगतमा छ त्यसमा पनि ध्यान दिनुपर्छ । धेरेजसो समय बालबालिकासँग अन्तरक्रिया गर्नुपर्छ । साथिहरुसँग खेल्ने घुलमिल हुने समय दिनुपर्छ ।
४. कसैले आत्महत्याको मनाशय बनाएको छ त्यस्तो अवस्थामा उसलाई कसरी रोक्न सकिन्छ ?
हामिलाई कसैले आत्महत्या गर्छु भन्दा बाहाना या धम्कि सम्झेर बेवास्ता गर्छौ । एउटा स्वस्थ्य मानिसले आत्महत्या बारे सोच्न सक्दैन । समस्यामा भएकै कारण उसले त्यस्तो शब्दको प्रयोग गरिरहेको हुन्छ । हामिले ध्यान नदिदाँ वा बेवास्ता गरिदिदाँ समस्या जटिल भएर जान्छ । मानसिक समस्या हुनेबित्तिकै कसैले पनि आत्महत्या गदैन । लामो समयपछि मात्र आत्माहत्याको मनाशाय बनाउँछ ।
त्यो बिचको समयमा नै मद्धत गर्न सके बचाउँन सकिन्छ । यदि कसैले त्यस्तो कुरा गर्छ भन्ने उसलाई सम्झाई बुझाई गर्नुपर्छ । कुनैपनि व्यक्ति आत्महत्या यतिकै गर्दैन त्यसको समस्याको समाधान गर्न तिर ध्यान दिन जरुरी हुन्छ । जिन्दगीको महत्वलाई बुझाउन सक्नु पर्छ । आत्महत्याको कुरा गर्छ सम्झाउदापनि मान्दैन भन्ने एक पटक मनोचिकित्सकलाई देखाउनै पर्छ ।