- डा अरुणा उप्रेती
काठमाडौं - रक्सी वा लागू औषधको कुलतले जसरी छटपटी हुन्छ, त्यसरी नै मोबाइल, इन्टरनेट, फेसबुकको कुलत लागेपछि त्यो बिना छटपटाहट हुन थाल्छ ।
अचेलका आमाबुबाले ‘मेरा नानी बाबु त मोबाइल नभई भातै खाँदैनन्’ भन्दै गर्व गर्छन् । आमाबुबाले छोराछोरीलाई मोबाइलमा भिडियो देखाएर खाना खुवाउन थालेपछि बिस्तारै उनीहरूको यसैमा बानी बस्छ । ठूलो भइसक्दा पनि छोराछोरी मोबाइल नहेरी खानै नखाने भएपछि बल्ल यस्तो बानी समस्या भइरहेको छ भन्ने थाहा पाइन्छ ।
मोबाइल नभई एकैछिन पनि बस्न नसक्ने, गाँसै नछिर्ने, छटपटी हुने भएपछि आमाबुबाले उनीहरूको मोबाइल हेर्ने बानी ‘कुलत’ मा परिणत भएको बुझ्नुपर्छ । बालबालिका तथा किशोरकिशोरीलाई इन्टरनेट तथा सामाजिक सञ्जालमा लामो समय बस्न दिएपछि उनीहरूलाई यसको कुलत हुन्छ।
सामाजिक सञ्जालमा एकदमै झुम्मिरहने ब्रिटेनका १४ वर्षीया मोलिर सेलले सन् २०१७ मा आत्महत्या गरिन् । उनको इन्स्टाग्राम एकाउन्ट हेर्दा डिप्रेसन तथा आत्महत्यासम्बन्धी विभिन्न सामग्री देखियो । पछि थाहा भयो, लगातार त्यस्ता सामग्रीहरू हेरेपछि मोलिरको मनस्थिति नै बिग्रिएको रहेछ । उनका बाबुले इन्स्टाग्रामलाई आत्महत्याको दोषी देखे । तर, आफ्नी छोरी कसरी समय बिताउँछिन्, इन्टरनेटमा के हेर्छिन् भनेर बुझ्ने प्रयास नगरेकाले यस्तो घटना हुन गयो पनि भन्न सकिन्छ ।
त्यस्तै केही वर्षअघि ‘स्मार्टफोन’ किन्न एक चाइनिज युवकले आफ्नो मिर्गौला बेचेका थिए । ‘स्मार्टफोन’ को लतमा फसिसकेका उनले भविष्य के होला भनेर विचारै गरेनन् ।
‘कुलतमा’ फसेपछि बुद्धिले काम गर्दैन । बालबालिका र किशोरकिशोरी मात्रै होइन गृहिणीहरू पनि कुलतमा फस्न सक्छन् । सानैदेखि लगातार कम्प्युटर, मोबाइल हेर्ने गर्दा अनेक मानसिक तथा शारीरिक समस्या देखिन सक्छ ।
कति अभिभावकले त फेसबुक चलाउँदा आफ्ना अन्य जिम्मेवारी नै बिर्सिन्छन् । अनि ‘तनाव’ भएपछि छोराछोरीलाई गाली गर्छन् ।
लगातार फेसबुक, इन्स्टाग्राम हेरिरहँदा त्यसैलाई बालबालिका तथा युवाहरूले वास्तविक संसार मान्न पुग्छन् । यदि बालबालिकामा मोबाइल चलाउने बानीका कारण शारीरिक तथा मानसिक दुवै समस्या भए, सामान्य अवस्थामा फर्किन गाह्रो हुन्छ । यस्तो समस्याको रोकथामको एउटै उपाय हो— कम्प्युटर, मोबाइलको ‘कुलत’ नलगाउनु ।
कुलतबाट बच्न बालबालिकाको दैनिकीमा शारीरिक व्यायाम, हिँडाइलगायतले स्थान पाउनुपर्छ । यदि बालबालिका कुलतमा फसे उपचारका लागि समय लाग्ने तथा खर्चिलो पनि हुन सक्छ । यसले मानसिक स्वास्थ्यमा पर्ने असरको उपचार त झनै कठिन छ ।
यसैका कारण पहिला पहिला ५० वर्ष पुगेपछि देखा पर्ने, समस्या युवा अवस्थामै देखिन थालेको छ । इन्टरनेट, फेसबुकको लत लागेकाहरूलाई योगासन, व्यायाम गर्न अल्छी लाग्छ । उनीहरूलाई एकै छिन इन्टरनेट भएन, मोबाइल देखिएन भने संसारै खत्तम भएजस्तो हुन्छ, रिसाउन झगडा गर्न सुरु गरिहाल्छन् ।
बालबालिका तथा वयस्कले पनि लगातार कम्प्युटर र मोबाइल चलाउँदा ढाड तथा गर्धनमा मात्र नभई आँखामा पनि समस्या बढेको छ । कोरोनाकालमा बालबालिकाले लगातार कम्प्युटर र मोबाइल प्रयोग गर्दा चस्मा लगाउनुपर्ने समस्या बढेको छ । यसरी लामो समय मोबाइल, कम्प्युटर हेरिरहँदा आँखा सुक्खा हुन्छ । बालबालिकामा टाढाको नदेखिने समस्या (मायोपिया) बढ्दै गरेको छ । अनलाइन कक्षाका कारण बालबालिकामा यस्तो समस्या झनै बढ्ने सम्भावना छ ।
प्रविधिले मानिसलाई स्वस्थ बनाउनुपर्ने हो तर अविवेकशील तरिकाले यसको प्रयोग गर्दा दुःख पो दिन थालेको छ । यो दुःख एक छिनको मात्र हुँदैन, जीवनभरकै हुन सक्छ । त्यसैले कोक्रामै कुलत नलगाउन अभिभावकले विचार गर्ने बेला भयो ।