काठमाडौं - प्रजनन उमेरका महिलाहरूलाई उनीहरूको शरीरमा भएका विशेष हर्मोनहरूले प्राकृतिक रूपमा धेरै समस्याहरूबाट बचाएका हुन्छन् । ती समस्यामध्ये मुटुको रोग र हाडको समस्या प्रमुख हुन् । उमेर ३५ वर्ष काटेपछि शरीरमा हर्मोनको मात्रा कम हुँदै जान्छ । शरीरमा हर्मोनको मात्रा कम हुँदै गएपछि हाडहरूको घनत्व पनि कम हुदै जान्छ । यस्तो अवस्थामा बाहिरबाट हेर्दा खासै समस्या देखिदैन । तर, ४५–५० वर्षकी महिलाको शरीरमा हाडको घनत्व कम हुने हुँदा कतै सानो ठक्कर लाग्दा पनि हाड भाँचिन सक्ने सम्भावना बढी हुन्छ ।
हाडको घनत्व कम हुँदै गएर हुने समस्यालाई अस्टिओपोरोसिस भनिन्छ । यो रोग लागेका बेला नाडी, पुठ्ठा र मेरूदण्डका हाड भाँचिने सम्भावना बढी हुन्छ । हाड भाँचिने समस्याबाहेक यस रोगको कारणले शरीर कुप्रो हुँदै जान्छ । दैनिक क्रियाकलाप गर्न समेत गाह्रो हुन्छ । नदेखिनेगरी हाडको घनत्व कम हुँदै हाड कमजोर हुने तथा यो रोग लागेको लामो समयसम्म थाहा नहुने भएकाले यसलाई मौन रोग (साइलेण्ट डिजीज) पनि भनिन्छ । कतै लडेर हाड भाँचिएपछि वा अरु नै कुनै कारणले एक्सरे गराउँदा मात्र यो रोग लागेको थाहा हुन्छ । मौन रोगबाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छ ।
चाउचाउ, चीजबलजस्ता तयारी खाद्यपदार्थ तथा चिसो पेयपदार्थहरूको कम प्रयोग गर्नुपर्छ ।
गर्भवती र दूध खुवाइरहेकी महिलालाई दिइने भोजनमा लौहतत्व र क्याल्सियमयुक्त होस् भनेर विशेष ध्यान दिनुपर्छ । पारम्परिक खानाहरू चाकू, सख्खर आदि भोजन क्याल्सियमयुक्त र लौहतत्वयुक्त हुन्छन् ।
मांसाहारी व्यक्तिका लागी अण्डा लौहतत्वको एउटा राम्रो स्रोत हो । अण्डाको बाहिरी खोलमा पनि पर्याप्त मात्रामा क्याल्सियम हुन्छ । अण्डाको खोललाई मसिनो पारी पिसेर तरकारीको सूपमा हालेर खाँदा पनि पर्याप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । गर्भवती र दूध खुवाइरहेकी महिलाहरूले क्याल्सियम प्राप्त गर्नुको अर्थ हो – भविष्यको शिशुले पनि क्याल्सियम प्राप्त गरेर स्वस्थ रहनु हो ।
शाकाहारी व्यक्तिले दूध र दहीबाट क्याल्सियम पाउनुका साथै भटमास, बदाम र राजमा आदिबाट पनि पर्याप्त मात्रामा क्याल्सियम पाउन सक्छन् ।
विभिन्न अध्ययन–अनुसन्धानले के देखाएका छन् भने हाडको घनत्वलाई बढाउन विभिन्न शारीरिक क्रियाकलाप, जस्तै हिँड्ने, दौड्ने, भ¥याङ चढ्ने आदि क्रियाहरू निकै महत्वपूर्ण छन् । हिँड्न छोडिएमा हाड कमजोर हुँदै जान्छ ।
सूर्यको किरणबाट शरीरलाई प्राप्त हुने भिटामिन डीले क्याल्सियम शोषण गर्नमा मद्दत गर्छ । हामीलाई दैनिक ३ शय ५० युनिट भिटामिन डी जरुरत पर्छ । जुन हामी सहजैसँग दिनको १५–२० मिनेट घाममा बसेर प्राप्त गर्न सक्छौं । घाममा बस्दा सूर्यको किरणले नाङ्गो छालामा छोएको हुनुपर्छ ।