- समृद्धा के.सी
काठमाडौं- प्रोल्याक्टिन एक किसिमको हर्मोन हो । दिमागको बिचमा पिट्युटरी ग्रन्थी हुन्छ । त्यसमा प्रोल्याक्टिन सिक्रिटिङ हर्मोन हुन्छ त्यसबाट नै प्रोल्याक्टिन हर्मोन बन्छ । जुन रगतमा मिसिएर आउँछ ।
पिट्युटुरी ग्रन्थीबाट निस्कने विभिन्न हर्मोनहरुमध्ये प्रोल्याक्टिन हर्मोन एक हो । यो हर्मोन बढ्दा महिनावारी गडबडी हुने, गर्भवति नहलापनि महिलाहरुको स्तनबाट दूध निस्कने र बाझोपनाको समस्या देखिने गर्दछ । तर कहिले काही हर्मोनलाई हाम्रो नराम्रा आनीबानीले पनि बढावा दिइरहेको हुन्छ ।
कुनै हर्मोन असामान्य रुपमा बढ्दा शरीरलाई त्यति हानी नोक्सानी पुर्याउदैनन् भने कुनै हर्मोनले भने शरीरको ढाँचा नै परिर्वतन गरिदिन्छन् । त्यसै हर्मोन मध्ये पर्छ प्रोल्याक्टिन जसले महिलाको प्रजनन् स्वास्थ्यमा विशेषखाले असर पुर्याइरहेको हुन्छ ।
प्रोल्याक्टिन हर्मोन कस्तो अवस्थामा बढ्छ ?
प्रोल्याक्टिन हर्मोन विशेषगरि गर्भवस्था र बच्चालाई दुध खुवाउने समयमा बढ्नु पर्ने हुन्छ ।
कहिलेकाहि आफै बढ्ने गर्दछ भने मानसिक रोगको बिरामीले खाने मेजर ट्रयाङकुलाइजर गु्रप अफ ड्रग्सको सेवनले पनि यो हर्मोन बढाउँछ ।
शरीरिक क्रियाकलाप बढि गरेको आधा घण्टामा प्रोल्याक्टिन हर्मोन जाँच गर्दा बढि देखाउन सक्छ ।
पिट्युटरी ग्रन्थीमा प्रोल्याक्टिनमा सेल्सहरु हुने गर्दछन् । यसले धेरै मात्रामा प्रोल्याक्टिन हर्मोन उत्पादन गर्यो भने पनि शरीरमा प्रोल्याक्टिनको मात्र बढि हुन सक्छ ।
पिट्युटरीमा कुनै किसिमको ट्युमर वा अन्य केहि चिजले थिच्यो भनेपनि यो हर्मोन धेरै उत्पादन हुन सक्छ ।
प्रोल्याक्टिन हर्मोन कोहि व्यक्तिमा बढि वा कम हुन सक्छ । पिट्युटरी ग्रन्थीले प्रोल्याक्टिन हर्मोन उत्पादन नगर्दा यो कम हुन सक्छ । यसले विशेषगरि कम हुँदा भन्दा पनि बढि हुँदा शरीरलाई असर पुर्योउने गर्दछ ।
बढ्दा हुने असरः
महिलाहरुमा प्रोल्याक्टिन हर्मोन धेरै बढ्यो भने बाझोपना, बच्चा बस्न गाह्रो हुन्छ
अविवाहित महिलाको स्तनबाट दूध बग्ने गर्छ । त्यसकारण यो हर्मोन बढ्नाले महिलाले सामाजिक रुपमा हिचकिचाहट महसुस गरिरहेका हुन्छन् ।
यो हर्मोन बढ्यो भने महिलाको प्रजन्न स्वास्थ्यमा विशेष हानी पुर्याउने गर्दछ । कुन व्यक्तिमा प्रोल्याक्टिन हर्मोन कति हुँदा धेरै मानिन्छ भनेर थाहा पाउँनका लागि उसको उमेर अनुसार आकडा लिनुपर्ने हुन्छ ।
लक्षणहरुः
यदि कोहि महिला गर्भवति, बच्चा नजन्माएको वा अविवाहित भएमा पनि स्तनबाट दुध आउँछ ।
स्तन वरपरको कपडा भिजेर चिसो भएमा यो हर्मोन बढिरहेको थाहा पाउँन सकिन्छ ।
दम्पतीले नियमित परिवार नियोजनको साधन बिना यौन सम्पर्क राख्दा पनि बच्चा बस्दैन भने पनि प्रोल्याक्टिन हर्मोन बढ्यो कि भनेर अनुमान लगाउँन सकिन्छ ।
गर्भवति नहुनुको मुख्य कारण मध्ये एक प्रोल्याक्टिन हर्मोन बढ्नु पनि हो । विना कारण अविवाहित वा गर्भवति नभएकी महिलाको स्तनबाट दुध आउँने जस्ता समस्याहरु हुने गर्दछन् ।
उपचारः
पिट्युटरी ग्रन्थीमा १० मिलीमिटर भन्दा माथिको ट्युमर हुँदा पनि यो हर्मोन बढ्न सक्छ । तर १० मिलीमिटर भन्दा कम छ भने सानो ट्युमर भनिन्छ । यदि कुनैपनि महिलाले बच्चा जन्माउन चाहदिनन् भने यो आकारको ट्युमर नफाल्दा पनि हुन्छ यदि बच्चा जन्माउने हो भने ट्युमर फाल्नु पर्ने हुन्छ । ट्युमरको अवस्था हेरेर औषधीको माध्यमबाट वा सामान्य शल्यक्रिया गरेर पनि फाल्न सकिन्छ ।
यो हर्मोन के कारणले बढेको भनेर पत्ता लगाइसकेपछि प्रोल्याक्टिन लेभललाई सामान्य अवस्थामा ल्याउनका लागि औषधीको सेवन गर्नु पर्ने हुन्छ । यदि कोहि महिला गर्भवति हुन चाहन्छिन तर प्रोल्याक्टिन लेभल बढि रहेको छ भने त्यसलाई दुई वटा औषधीहरुको सेवन गरेर कम गर्न सकिन्छ ।
त्यसमा पनि क्यापर कोलिन भन्ने औषधी छ यो हप्तामा दुई पटक खानु पर्ने हुन्छ यो खाएको केहि समयपछि प्रोल्याक्टिन लेभल ठिक ठाउँमा आउँने गर्दछ तर यो औषधी भने गर्भवति भएपछि बन्द गर्नु पर्ने हुन्छ ।
त्यसै गरि ब्रोमोक्पिटिन भन्ने औषधी छ यो दैनिक खानु पर्छ । यो औषधी गर्भावस्थामा खादाँपनि केहि असर गर्दैन । यदि प्रोल्याक्टिन हर्मोनकै कारणले बच्चा हुन नसकेको हो भने यसको उपचारपछि बच्चा बस्न सक्छ ।
( ब्लु क्रस अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्ट्यान्ट न्यूरोलोजिष्ट डा.दिनेश बिक्रम शाह सँगको कुराकानीमा आधारित )