बागलुङ- खुकुलो निषेधाज्ञाबिच कोरोना सङ्क्रमण बढेपछि यहाँका स्थानीय तहले पुनः कडाइ गर्न थालेका छन् ।
जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार र बागलुङ नगरपालिका–१० भकुण्डेलाई आजदेखि एक साताका लागि बन्द गरिएको छ ।
कोरोना सङ्क्रमणको बढ्दो असर र जोखिमलाई दृष्टिगत गरी अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । जैमिनीका नगरप्रमुख एवं प्रतिकार्य समूहका अध्यक्ष इन्द्रराज पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
नगरपालिकाले दिने अति जरुरी बाहेकका सेवा पनि आउँदो १८ गते सम्मलाई बन्द गरिएको नगरप्रमुख पौडेलले जानकारी दिए । नगरपालिकाको केन्द्रमा रहेका बैङ्क तथा वित्तीय संस्था, पसल, होटेल, रेष्टुरा, विद्यालय, यातायातलगायत सेवा पनि बन्द रहनेछन् । नगरपालिकाले काम नपरी घर बाहिर ननिस्कन र जानै परे मास्क अनिवार्य लगाउन सर्वसाधारणमा सूचित गरेको छ ।
बागलुङ–१० मा पनि टोल टोलमा सङ्क्रमण फैलिएका कारण बन्द गर्नुपरेको वडा कार्यालयले जनाएको छ । विद्यालय, सङ्घ संस्था, कार्यालय, होटेल, रेस्टुराँसहित अत्यावश्यक बाहेकका सबै सेवा आउँदो १८ गतेसम्मलाई बन्द हुने वडाध्यक्ष प्रेमबहादुर थापाले बताउनुभयो ।
खुकुला प्रावधानसहित जिल्लाभर निषेधाज्ञा जारी गरिए पनि महामारी थामिएको छैन । बजार, सार्वजनिक सेवा र यातायात खुला छ । मानिसको आउजाउ बढेसँगै कोरोनाको जोखिम पनि बढ्दो छ । बिचमा सङ्क्रमण घटेजस्तो देखिए पनि पुनः बढेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३२० छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा १७४ र जैमिनीमा ३३ जना सक्रिय सङ्क्रमित छन् । तमानखोला गाउँपालिकामा भने अहिले सङ्क्रमित छैनन् ।