काठमाडौं - सुर्तिजन्य पदार्थको अत्याधिक प्रयोगले पुरुषहरुमा टाउको र घाँटीको क्यान्सर तिव्र रुपमा बढेको बिज्ञहरु बताउँछन् ।
विश्व टाउको र घाँटी क्यान्सर दिवसको अवसरमा हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले टाउको र घाँटी क्यान्सर सर्भाइबर र पत्रकारबिच गरेको अन्तक्रिया कार्यक्रममा यो रोग विश्वमा तिव्र रुपमा फैलिरहेको बिज्ञहरुले बताएका छन् । टाउको र घाँटी क्यान्सर ९० प्रतिशत धुम्रपानले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।
सुर्तिजन्य पदार्थको सेवनका साथै मद्यपान गर्ने व्यक्तिलाई टाउको र घाँटीको क्यान्सर हुन आगेमा घिउ हालेको समान हुने ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा कार्यरत क्यान्सर बिशेषज्ञ डा प्रभात ठाकुरले बताए । हाल सबैका आफन्तमध्ये एक जनामा टाउको र घाँटीको क्यान्सर भएको सुनेको हुन सक्छ । उनी भन्छन्, अगामि १० बर्ष भित्रमा प्रत्येक घरमा टाउको र घाँटीको क्यान्सर बिरामी हुने देखिन्छ ।
कार्यक्रममा डोल्पाकी थाइराइड क्यान्सर बिजेता प्रतिभा केसीले शरीरमा आएका असाधारण परिर्वतनलाई बेवास्ता गर्दा मृत्युको मुखमा पुगेर फर्किएको अनुभव सुनाइन् । उनी भन्छिन्, समयमा नै मैले घाटिमा पलाएको डल्लोलाई क्यान्सर हुन सक्छ भन्ने सोचेको भए अवस्था अर्को पनि हुन सक्थ्यो ।
बिज्ञका अनसार, थाइराइड क्यान्सर ९० प्रतिशत महिलालाई हुने गर्दछ । अन्य क्यान्सरको तुलनामा यो क्यान्सर छिट्टो निको हुने बिज्ञहरु बताउँछन् ।
त्यस्तै, अर्का क्यान्सर बिजेताले जुनसुकै रोगसँग लड्नका लागि आत्मबल परिवारको साथ चाहिने बताए । आफुलाई क्यान्सर भएको सुन्दा हतोत्साहि भएको र बिज्ञको परामर्श र उपचारले अहिले क्यान्सर जितेर म पनि केहि गर्न सक्नु भन्ने भएको बताए ।
त्यस्तै, क्यान्सर बिजेता सुरेश श्रेष्ठले बाच्छु भन्ने आशा मारेको थिए तर समयमा नै उपचार गराउँदा कयान्सरलाई हराएको अनुभव सुनाए ।
त्यस्तै, कार्यक्रममा अन्य क्यान्सर जितेका र लडिरहेका सर्भाइभरहरुले प्रेस माझ आफ्नो अनुभव साटासाट गरेर क्यान्सर पीडित नयाँ बिरामीहरुको आत्मबल बढाउन मद्धत गरे ।
जथाभावि धुम्रपान बेच्ने प्रवृतिले टाउको र घाँटीको क्यान्सरलाई बढावा दिएको बिज्ञहरु बताउँछन् । पुरुषहरुमा हुने क्यान्सरमा टाउको र घाँटीको क्यान्सर पहिलो नम्बरमा पर्छ ।
सो कार्यक्रममा बिज्ञहरुले, प्रारम्भिक चरणमा उपचार भए क्यान्सर रोग पूर्ण रुपमा सजिलै निको पार्न सकिने र क्यान्सर रोगमा भईरहेको पछिल्लो खोज अनुसन्धान, उपचार प्रबिधि र अत्याधुनिक उपकरणबारे पनि प्रकाश पारे ।
नेपाल सरकारले विपन्न नागरिकको क्यान्सर रोग उपचारमा दिने एक लाख रकमले २० प्रतिशत उपचार मात्र सम्भव हुने देखिएको छ । त्यसैले क्यान्सर इन्सुरेन्सको अवधारणा आएमा क्यान्सर उपचारको अभावमा मृत्युवरण गर्नुपर्ने अवस्थामा कमी आउने बिज्ञहरुको सुझाव छ ।
क्यान्सरको उपचारमा आउने ३० प्रतिशत बिरामी मात्र उपचारका लागी खर्च गर्न सक्षम हुन्छन् । नेपालमा ३० प्रतिशत क्यान्सर बिरामी उपचार गराउन असक्षम रहेका छन् । उनिहरुलाई विभिन्न संघ संस्थासँग मिलेर नेपाल क्यान्सर अस्पतालमा उपचार गरिने नेपाल क्यान्सर अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले विदेशमा उपलब्ध हुने अत्याधुनिक प्रबिधिहरुलाई भित्राई एउटै छानामुनी नेपाली जनताको आर्थिक पहुँचभित्र रहि गुणस्तरीय क्यान्सर उपचार सेवा दिईरहेको छ । त्यस्तै, नेपालीहरुले आफ्नो क्यान्सरको उपचारको लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्दै सम्पूर्ण चरणको विभिन्न क्यान्सरको सफलतापुर्वक उपचार सो अस्पतालले गरिरहेको छ ।