कलेजो सुन्निनु अथवा कलेजोमा संक्रमण हुनुलाई हेपाटाइटिस भनिन्छ । संगठन (डब्ल्यूएचओ) का अनुसार हरेक वर्ष लाखौं मानिस हेपाटाइटिसबाट संक्रमित हुन्छन् । हजारौं मानिसले यही रोगका कारण आफ्नो ज्यान पनि गुमाउनुपरेको छ ।
हेपाटाइटिसको भाइरस ए, बी, सी, डी र ई गरी पाँच प्रकारको हुन्छ । यसको कारणले कलेजोमा जलन र संक्रमण हुन्छ । हेपाटाइटिसकै कारण लिभर फाइब्रोसिस र लिभर क्यान्सरको खतरा बढ्छ । मानिसका केही यस्ता बानी छन् जसलाई यदि छिटै बन्द नगरेमा त्यसले मानिसलाई हेपाटाइटिसको रोगी बनाउन सक्छ ।
हेपाटाइटिसको भाइरस पानीको माध्यमले पनि फैलिन सक्छ । यसको भाइरस निकै शक्तिशाली हुन्छ । यो सजिलै मर्दैन र तीव्र गतिमा फैलिन्छ । सकेसम्म सफा मिनरल वाटर अथवा उमालेको पानी पिउने गरौं ।
यो ताजा फल र तरकारीको माध्यमले पनि सर्न सक्छ । यसबाट बच्न बजारबाट ल्याइएका तरकारी र फलफूल राम्ररी धोइपखाली गरेर मात्र प्रयोग गरौं ।
हेपाटाइटिस एको भाइरस शरीरबाहिर महिनौंसम्म पनि जीवित रहन सक्छ । तयसैले सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ । यसको लागि हात सधैं एन्टिब्याक्टेरियल साबु, लिक्विड हेन्डवास अथवा सेनिटाइजरले सफा राख्ने गरौं ।
कहिले पनि अरुको स्याम्पु, क्रिम, ब्रस, दारी काट्ने मेसिन आदि व्यक्तिगत सामान प्रयोग नगरौं । मेकअपको सामानको माध्यमले भाइरसको संक्रमण फैलिने सम्भावना बढी रहन्छ ।
संक्रमित पानीबाट निकालिएको माछामा पनि हेपाटाइटिसको भाइरस हुन सक्छ । त्यसैले सधैं पकाएको माछामात्र खाने गरौं । काँचो माछाबाट हेपाटाइटिसको संक्रमण हुने सम्भावना रहन्छ ।
त्यस्तै, घरआँगन सधैं सफा राखौं । घर वरिपरि कतै फोहोर पानी जम्न नदिऔं । सफासुग्घर जीवनशैली अपनाऔं ।
कसैको घाउ, खटिरा अथवा रगत नांगो हातले नछोऔं । अरुको उपचार गर्दा हातमा प्लास्टिक अथवा रबरको पञ्जा लगाएर मात्र उपचार गरौं ।
एक जनालाई प्रयोग गरेको सुई अर्कोलाई पुनः प्रयोग नगरौं । यसले हेपाटाइटिसका साथै अन्य धेरै रोग सर्ने सम्भावना रहन्छ ।
रक्सी बढी खाएमा र जथाभावी औषधिको सेवन गरेमा पनि हेपाटाइटिस लाग्ने सम्भावना रहन्छ ।
हेपाटाइटिसको रोगीसँग सतर्कता अपनाऔं । रोग लागेमा यथाशीघ्र चिकित्सकको सल्लाह चिकित्सकको निगरानीमा उपचार गराउनुपर्छ । अन्यथा यो रोग अन्य व्यक्तिलाई पनि सर्न सक्ने सम्भावना रहन्छ ।