- प्रा.डा.आर पी चौधरी
काठमाडौं - नवजात शिशुको मुख्य आहार आमाको दुध हो । शिशु जन्मेको ६ महिनासम्म पुर्ण स्तनपान गराउनुपर्छ ।
स्तनपान गराउँनुका आफ्नै बिशेषता छन् । पुर्ण रुपमा स्तनपान गरेको शिशुको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन्छ । साथै किटाणु वा जिवाणुसँग लड्ने क्षमता बढि हुन्छ ।
बिशेष अवस्था जस्तै आमाको दुध नै आएन भने अर्को बिकल्प खाज्नुपर्ने हुन्छ । तर शिशुको लागी आमाको दुध नै सबैभन्दा राम्रो आहार हो ।
शिशु ६ महिना भएपछि आमाको दुधले मात्र पुग्दैन । शिशुको बृद्धि भइरहेको हुनाले ६ महिनापछि शिशुलाई आमाको दुधका साथै अन्य खानेकुरा खुवाउनुपर्ने हुन्छ ।
शिशुको लागी छुट्टै खानेकुराको आवश्यकता पर्दैन । उनिहरुलाई घरमा अन्य सदस्यका लागी तयार पारिएको खानेकुरालाई नरम बनाएर खुवाउँदा हुन्छ । यो उनिहरुको लागी सबैभन्दा राम्रो खानेकुरा हो ।
त्यसका साथै शिशुलाई घरको अन्य सदस्यहरु खाना खाने समयमा नै खाना खुवाउनुपर्छ । जसका कारण शिशुले पनि खाना खान सिक्छ ।
शिशुलाई प्रोटिनयुक्त खानेकुरा खुवाउनुपर्ने हुन्छ । शिशुको शरिरलाई आवश्यक पर्ने प्रोटिन, क्यालोरी र भिटामिन परिपुर्ति गर्न उसिनेको अण्डा खुवाउन सकिन्छ । त्यसका साथै दालको रस गेडागुडिको रस, साग र तरकारीलाई नरम बनाएर खुवाउन सकिन्छ ।
पछिल्लो समय धेरैजसो बालबालिकामा असन्तुलित आहारका कारण कब्जियतको समस्या देखिने गरेको छ । बालबालिकालाई खाना खुवाउँदा फाइबर, कार्बोहाइडेट, प्रोटिनयुक्त खानेकुराहरुको छनोट गर्नुपर्छ ।
बालबालिकालाई बजारको खानेकुरा खाने बानि लाग्न दिनुहुदैँन । उनिहरुलाई घरको खानेकुरा नै खाने बानि लगाउनुपर्छ । घरको खानेकुरामा शिशुलाई आवश्यक फाइबर, कार्बोहाइडेट, प्रोटिन पाइन्छ । साथै घरको खानेकुरा सन्तुलित हुन्छ ।
(प्रा.डा.चौधरी बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालको कार्यकारी निर्देशक हुन् ।)