नेपालमा फेरि कोरोनाभाइरसको नयाँ उत्परिवर्तन पुष्टि भएसँगै सम्भावित जोखिमबारे मानिसहरूले चिन्ता एवं चासो व्यक्त गर्न थालेका छन्।
नयाँ दिल्लीस्थित एउटा प्रयोगशालामा जीन सीक्वन्सिङ गर्दा कोरोनाभाइरसका तीनवटा नमुनामा उत्परिवर्तन पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार जेठको मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागबाट सङ्कलित नमुनामध्ये ४७ वटा असार ३० गते भारत पठाइएको थियो।
ती नमुनाको जीनमिक सीक्वन्सिङ गर्दा "सबैमा डेल्टा भेरिअन्ट पुष्टि भएको" तथा तीमध्ये "तीन वटामा थप उत्परिवर्तन K417N भेटिएको" मन्त्रालयले मङ्गलवार जारी विज्ञप्तिमा उल्लेख छ। नयाँ उत्परिवर्तनलाई A.YI नाम दिइएको छ।
योसहित नेपालमा हालसम्म 'भेरिअन्ट अफ कन्सर्न'का रूपमा वर्गीकरण गरिएका अल्फा र डेल्टा भेरिअन्ट तथा 'भेरिअन्ट अफ इन्टरेस्ट'का रूपमा रहेको कापा भेरिअन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नयाँ उत्परिवर्तनले के सङ्केत गर्छ?
अमेरिकाको मिनिसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेओ क्लिनिकमा कार्यरत भाइरसविद् डा. सुदीप खड्काका अनुसार नयाँ जीन सीक्वन्सिङको नतिजा हेर्दा झन्डै ६ प्रतिशतमा K417N उत्परिवर्तन देखिन्छ।
"बुझ्नुपर्ने कुरा के छ भने कहिलेकाहीँ एउटा म्यूटेशन थपियो भने त्यसले भाइरसलाई कमजोर बनाइदिने हुन्छ भने कहिलेकाहीँ एउटा म्यूटेशनले पनि नै सङ्क्रमणको जोखिम बढाइदिने हुन्छ", खड्काले टेलिफोनमा बीबीसीसँग भने।
"यदि यो नयाँ उत्परिवर्तनका कारण सङ्क्रमण तीव्र रूपमा बढ्ने रहेछ भने नयाँ म्यूटेशन भएको भाइरस देखिँदै जाने र पुरानो हराउँदै जाने सीक्वन्सिङबाट देखिनेछ। त्यो भएर पटकपटक सीक्वन्सिङ गर्दै मिहिन किसिमले हेर्नुपर्ने हुन्छ।"
वरिष्ठ भारतीय भाइरसविद् डा. शाहिद जमीलले K417N नाम दिइएको उत्परिवर्तनले एन्टिबडीहरू अर्थात् रोगप्रतिरोधी क्षमताको प्रभावकारिता कम गर्ने ठानिएको गत महिना समाचारसंस्था रोएटर्सलाई बताएका थिए।
नेपालमा पुष्टि भएका भेरिअन्टहरू बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनबाट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नयाँ उत्परिवर्तनले भाइरसको प्रकृतिमा फरक पार्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डे बताउँछन्।
"यसको मतलब के हो भने नयाँ उत्परिवर्तनले सङ्क्रमणको दर बढाउन सक्छ। भाइरलजीको भाषामा भिरुलन्ट भनिन्छ। त्यसले बढी असर पार्न सक्ने भयो, जोखिम बढ्न सक्ने भयो," सम्भावित असरबारे उनले बीबीसीसँग भने।
के खोपको प्रभावकारितामा असर पर्छ?
विभिन्न देशमा गरिएका अध्ययनहरूले हाल प्रयोगमा रहेका कोभिड खोपहरू प्रभावकारी नै देखिएको पाइएको विज्ञहरू बताउँछन्।
"डेल्टा भेरिअन्टको हकमा केही अध्ययन भइसकेका छन्। त्यही भेरिअन्टमा भएको नयाँ उत्परिवर्तनलाई लिएर चाहिँ अध्ययन हुन बाँकी छ," भाइरसविद् खड्काले भने।
किन कोभिड खोपबीच तुलना गर्न मिल्दैन?
"हुन त खोप लगाइसकेपछि पनि सङ्क्रमण हुन सक्छ। तर अपवादबाहेक खोपले गम्भीर सङ्क्रमण हुन र अस्पताल भर्ना हुनबाट जोगाउँछ भन्ने कुरा प्रमाणित भइसकेको छ।"
त्यसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. पाण्डे पनि सहमत छन्।
"भाइरसमा नयाँ उत्परिवर्तन भइरहँदा पनि अहिलेसम्म के देखिन्छ भने कोभिड-१९ विरुद्ध दिने गरिएका खोपहरू प्रभावकारी नै देखिएका छन्।"
कोरोनाभाइरसका विभिन्न भेरिअन्टबारे हामीलाई के थाहा छ ?
हाल विश्वभरि कोभिडका थुप्रै भेरिअन्टहरू फैलिरहेका छन्। तीमध्ये एउटा डेल्टा भेरिअन्ट केही देशमा तीव्र गतिमा फैलिरहेको छ।
कतिपय उत्परिवर्तनले त भाइरसलाई नै कमजोर बनाउँछन्। तर कतिपय रोगलाई झन् सङ्क्रामक अथवा खतरनाक बनाउने हुन्छन्।
सम्भावित जोखिम बढी भएका भेरिअन्टलाई "भेरिअन्ट्स अफ कन्सर्न" भन्ने गरिन्छ।
त्यस्ता भाइरसलाई स्वास्थ्य अधिकारीहरूले निगरानी सूचीमा राख्छन्। तीमध्ये केही यी हुन्:
डेल्टा
(B.1.617.2) यूकेमा देखिएका नयाँ सङ्क्रमितमध्ये ९९ प्रतिशतमा यो भेरिअन्ट पाइएको छ
अल्फा
(B.1.1.7) पहिलो पटक यूकेमा देखिएको यो भेरिअन्ट ५० भन्दा बढी देशमा फैलिसकेको छ र फेरि उत्परिवर्तित भइरहेको छ
बीटा
(B.1.351) पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरिअन्ट यूकेसहित कम्तीमा २० वटा देशमा देखिएको छ
गामा
(P.1) ब्रजिलमा पहिलो पटक देखिएको यो भेरिअन्ट १० वटाभन्दा बढी देशमा पुष्टि भइसकेको छ