काठमाडौं । नेपालमा हरेक दिन १९ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्दै गएको सो तथ्याङ्कले देखाएको हो । आर्थिक वर्ष २०७७/७८ मा ७ हजार १ सय १७ जनाले आत्महत्या गरेका छन । अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढीले आत्महत्या गरेको बताइएको छ ।
आर्थिक वर्ष २०७६र७७ मा ६ हजार २ सय ४१ जनाले आत्महत्या गरेका थिए । पछिल्लो समय आत्महत्याका घटना वृद्धि हुनुमा कोरोना संक्रमण र संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको निषेधाज्ञा पनि प्रमुख कारण रहेको विश्लेषण गरिएको छ । नेपाल प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा गरेको काम कारबाहीका बारेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गत आर्थिक वर्षमा मुलुकभर ४० हजार १ सय २० वटा घटना भएका थिए । कोभिड–१९ का कारण प्रहरीको गतिविधि चलायमान हुन नसके पनि अपराध नियन्त्रणका घटनामा भने प्रहरीले आफ्नो सक्रियता तीव्र बनाएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।
प्रहरीले गत आर्थिक वर्षमा फरार अभियुक्त पक्राउमा ठूलो सफलता हात पारेको छ । प्रहरीले ७ हजार ३ सय ९० जनालाई पक्राउ गर्न सफल भएको छ । अघिल्लो वर्ष प्रहरीले २ हजार ३ सय ३२ जनालाई पक्राउ गर्न सफल भएको थियो । प्रहरीले ४ हजार २१ वर्ष ८ महिना ३ दिन कैद सजाय पाएका ती व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।
सोही अवधिमा प्रहरीले जरिवाना तोकिएका व्यक्तिबाट ४८ करोड ६० लाख ५५ हजार ४ सय ३५ रुपियाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनाको संख्यामा वृद्धि भएको छ । मुलुकभर २० हजार ६ सय ३४ वटा दुर्घटना हुँदा २ हजार ५ सय १३ जनाको ज्यान गएको छ भने ६ हजार ४ सय ५३ जना गम्भीर घाइते भएका छन । दुर्घटनामा पारी १८ हजार ६ सय १८ जना घाइते भएका छन ।
नेपालमा अवैधरूपमा हुने लागूऔषधको कारोबारमध्ये कोकिनको कारोबार गत आर्थिक वर्षमा १६६२ प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा प्रहरीले १४ केजी बरामद गरेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा २ सय ६२ केजी अफिम बरामद गरेको छ । प्रहरीले लागूऔषध नियन्त्रणमा चालेका कदमहरु प्रभावकारी हुँदै गएको निष्कर्ष समेत निकालेको छ ।
गत आर्थिक वर्षमा प्रहरीले २७ करोड १५ लाख ९१ हजार ६ सय ८० रुपियाँको सुन बरामद गरेको छ भने ७५ लाख २७ हजार ५ सय ९२ रुपियाँ बराबरको चाँदीसमेत बरामद गरेको छ । हुन्डीको कारोबारलाई निरुत्साहित पार्ने उद्देश्यले देशभर परिचालित प्रहरीले ७ करोड १ लाख ३५ हजार ९ सय ४४ रुपियाँ बरामद गरेको पनि एसएसपी कुँवरले जानकारी दिए । प्रहरीले सो अवधिमा २ अर्ब ९० करोड ९७ लाख १३ हजार ९ सय २३ रुपियाँ राजस्व संकलन गरेको छ ।