विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले महामारीका रूपमा वर्गीकरण गरेयता कोभिड-१९ बाट विश्वभर १८ करोड ५० लाख भन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन् भने ४० लाख भन्दा बढीको मृत्यु भएको छ।
खोपले विश्वलाई सामान्य अवस्थामै फर्काइदिने ठूलो आशा गरिएको छ।
तर वैज्ञानिकहरू भने कोरोनाभाइरस रहिरहने विषयमा झन् विश्वस्त हुँदै गएका छन्।
ज्यानुअरीमा विज्ञान सम्बन्धी एक प्रमुख जर्नल नेचरले विश्वभरका १०० जना भन्दा बढी इम्युनोलोजिस्ट, भाइरोलोजिस्ट अनि स्वास्थ्य विज्ञहरूलाई सार्स कोभ- २ उन्मूलन गर्न सकिन्छ? भनेर सोधेको थियो।
लगभग ९० प्रतिशतले जवाफमा 'सकिन्न' भन्ने उत्तर दिएका थिए।
उनीहरूका अनुसार कोरोनाभाइरस एन्डेमिक अर्थात् स्थानीय प्रकोप बन्ने कुराको प्रमाण छ र यो विश्वका विभिन्न क्षेत्रमा फैलिरहने छ।
यस्तो अवस्थामा हामीले कोभिडसँग कसरी वर्षौँसम्म बाच्नुपर्ने हुन्छ भन्ने विषयमा विज्ञानले कस्तो भविष्यवाणी गर्छ त?
कोभिडबाट हामीले किन छुटकारा पाउँदैनौँ?
सङ्क्रामक रोग उन्मूलन गर्ने कुरा सामान्य विषय होइन। डब्ल्यूएचओले हालसम्म दुई वटा भाइरल बिमारी आधिकारिक रूपमा उन्मूलन भएको घोषणा गरेको छ।
ती दुई बिमारी बिफर र रीन्डरपेस्ट हुन्।
र बिफरका कारण मात्रै सन् १९८० को दशकमा उन्मूलन नहुँदासम्म ५० करोड मानिसहरूको ज्यान गएको थियो जुन भौगोलिक रूपमा वितरण र पहुँचका हिसाबले हेर्दा कोभिडसँग तुलना गर्न सकिन्छ।
बिफर उन्मूलन गर्न खोप विकासले अहम् भूमिका निर्वाह गरेको थियो।
दुर्भाग्यवश, हालसम्म विकास गरिएको कोभिड-१९ विरुद्धको खोपले त्यस्तै प्रभाव पार्न सकेका छैनन्।
''आज हामीसँग जुन खोप उपलब्ध छन् तीनले केही अवस्थामा सङ्क्रमणलाई रोक्दैनन्। तीनले सङ्क्रमणलाई परिमार्जन र रोगलाई कम गम्भीर भने बनाउँछन् । खोप लगाएका मानिसहरूले अरूलाई भाइरस सार्न सक्छन्,'' लन्डन स्कुल अफ हेल्थ एन्ड ट्रपिकल मेडिसिनमा इन्फेक्सीअस डिजिज इपिडेमीओलोजीका प्राध्यापक डेभिड हेम्यानले भने।
युनिभर्सिटी अफ इस्ट याङ्लिया (यूके)का प्राध्यापक पल हन्टर अझ एक कदम अगाडि बढेका छन्। उनी खोपले हामीलाई भविष्यमा कोभिड नलाग्ने नबनाउने बताउँछन्।
''कोभिड कहिल्यै जानेछैन,'' उनी अनुमान गर्छन्।
''हामीले खोप लगाए पनि नलगाए पनि जीवनभर पटक पटक सर्ने (भाइरस) कुरा अवश्यम्भावी छ।''
त्यसो भए नोबल कोरोनाभाइरससँग के हुन्छ त?
कोभिड-१९ स्थानीय रूपमा रहिरहने रोग हुन्छ भन्ने विश्वास गर्ने कैयौँ विज्ञहरूमध्ये प्राध्यापक हेमान पनि एक हुन जसको अर्थ यो स-साना क्षेत्रमा कैयौँ वर्षसम्म सरिरहनेछ भन्ने हो।
यो नयाँ कुरा भने होइन। फ्लू, भाइरस र रुघा खोकी लगाउने चार प्रकारका कोरोनाभाइरसहरू पनि एन्डमिक अर्थात् स्थानीय रूपमा भइरहने हुन्।
डबल्यूएचओले वार्षिक रूपमा विश्वभर २९०,००० देखि ६५०,००० मानिसहरूको रुघा सम्बन्धी कारणहरूबाट मृत्यु हुने गरेको आकलन गरेको छ।
तर मृत्यु सङ्ख्या अनुमान गर्न सकिने भएका कारण यी रोगहरू व्यवस्थापन योग्य भएका छन्।
कोभिड-१९ को अवस्था पनि भविष्यमा त्यस्तै हुने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् र राजनीतिज्ञहरूले आशा गरेका छन्।
यो अवस्थामा भाइरस रही नै रहन्छ तर मानिसहरूमा खोप वा प्राकृतिक सङ्क्रमणका कारण प्रतिरोधी क्षमता विकास हुन्छ।
यसको अर्थ रुघाको जस्तै हामीले खोप लगाइसहनुपर्ने हुन्छ?
भाइरसको एउटा 'उद्देश्य' हुन्छ : सकेसम्म धेरै मानिसहरूमा फैलने जसका कारण उत्परिवर्तन हुनु सामान्य मानिन्छ।
''जीव विकासको दृष्टिकोणबाट हेर्दा भाइरसमा उत्परिवर्तन हुनुपर्छ ताकि यो धेरै मानिसमा पुगोस्। धेरै सहज रूपमा फैलने भाइरस सफल भाइरस हो,'' अक्सफर्ड विश्वविद्यालय ग्लोबल हेल्थ विषयका प्राध्यापक ट्रुडी ल्याङ् बताउँछीन्।
फ्लू, भाइरसमा परिवर्तन यति सामान्य छ कि प्रत्येक वर्ष स्वास्थ्य सम्बन्धी निकायहरूको सञ्जालले यसको समीक्षा गर्ने गर्छ।
टिटानस जस्ता अन्य रोगहरू पनि छन् जसका लागि जीवनभरि नै बुस्टर (थप) खोपको आवश्यकता पर्छ।
हामीलाई थाहै छ कोरोनाभाइरसका कम्तीमा चार वटा भेरिअन्ट विकास भइसकेका छन् जसमा भारतमा पहिलो पटक पहिचान भएको निकै धेरै सङ्क्रामक डेल्टा भेरिअन्ट पनि छ।
उक्त भेरिअन्टका कारण हाल युरोप, एशिया र अमेरिकामा सङ्क्रमण दर बढिरहेको छ।
तथ्याङ्कहरूका अनुसार खोप डेल्टा भेरिअन्टमा प्रभावकारी देखिएको छ।
पब्लिक हेल्थ इङ्गल्यान्डका अनुसार फेब्रुअरीदेखि जून महिनाबीच यो भेरिअन्ट लागेर अस्पताल पुगेका ८२ प्रतिशत मानिसहरूले या त खोप लगाएका थिएनन् या खोपको एक मात्रै मात्रा लगाएका थिए।
यद्यपि ब्रिटेनको न्याशनल हेल्थ सिस्टम (एनएचएस)ले जाडो मौसमअघि तीन करोड तेस्रो मात्रा वा ''बुस्टर'' लगाउने योजना बनाएको छ।
अमेरिकामा न्याशनल इन्स्टिच्यूट अफ हेल्थले बुस्टरले एन्टीबडी बढाउँछ/बढाउँदैन र लामो समय सम्म सुरक्षा दिन्छ/दिँदैन भन्ने कुरा पत्ता लगाउनका लागि खोपको पूर्ण मात्रा लगाइसकेकाहरूमा क्लिनिकल ट्रायल सुरु गरेको छ।
साँचो के हो भने कोभिड-१९ विरुद्धको खोपबाट विकास भएको प्रतिरोध प्रणालीले कति लामो समय काम गर्छ भन्ने कुरा वैज्ञानिकहरूलाई पनि थाहा छैन।
के लकडाउन सामान्य रूपमा भइरहन सक्छ?
सङ्क्रमण र अस्पतालमा भर्ना हुने दर बढेसँगै विभिन्न देश र क्षेत्रहरूले यात्रा र हिँडडुलमा प्रतिबन्ध लगाउनु परेको थियो।
यसले रोग फैलने क्रमलाई सुस्त पार्न मद्दत गरेको थियो भने स्वास्थ्य प्रणालीमा चाप घटाएको थियो। तर यसले अर्थतन्त्रमा नराम्रो प्रभाव पारेको थियो। बेरोजगारी पनि बढेको थियो।
के अझै लकडाउन स्थानीय परिदृश्यका रूमा रही रहन सक्छ? यो खोप कार्यक्रमको सफलतामा भर पर्ने विज्ञहरू बताउँछन्।
पछिल्ला केही महिनाहरूमा हामीले स्थानीय स्तरमा गरिएका वा देशव्यापी रूपमा गरिएका पहलहरू देखेका छौँ। अस्ट्रेलियाले कैयौँ सहरहरूमा लकडाउन गरेको छ भने बाङ्गलादेशले देशव्यापी रूपमा लागु हुन गरी प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेको छ।
''सम्भव भएसम्म प्रकोपलाई सम्बोधन गर्न क्रममा सरकारका लागि लकडाउन अत्यावश्यक अस्त्र बन्ने छ,'' सिटी युनिभर्सिटी अफ हङ्कङ्मा हेल्थ सेक्योरीटी विषयका सह प्राध्यापक निकोलस टमसले ब्लूम्बर्ग समाचार संस्थालाई भने।
के मैले मास्क लगाइरहनुपर्ने हुन्छ?
वैज्ञानिकहरूले खोप लगाएकाहरूको सङ्ख्या धेरै रहेका स्थानहरूमा समेत कोभिड-१९ सँग जुझ्ने विकल्पका रूपमा मास्कको प्रयोगको व्यापक रूपमा समर्थन गर्दै आएका छन्।
''यो प्रस्ट छ कि प्रत्येक पटक बढ्दा लकडाउन गरिरहन सकिँदैन,'' द युनिभर्सिटी अफ कोपनहेगनकी बिहेभिएरल साइन्टिस्ट क्रिस्टीना ग्राभर्ट भन्छिन्।
मास्कको प्रयोग केही एशियाली राष्ट्रहरूमा व्यापक छ। तर संसारका अन्य स्थानमा भने अवस्था त्यस्तो छैन।
अन्तर्राष्ट्रिय यात्राको अवस्था के होला?
हाल सरकारहरू भाइरसबाट आफ्ना सर्वसाधारणहरूलाई जोगाउने र सीमा बन्द गरिएका कारण भएको आर्थिक नोक्सानीकाबीच बाँडिएका छन्।
विभिन्न देशहरूको विभिन्न नियम छ र प्राध्यापक हेम्यान जस्ता विज्ञहरू उनीहरूको नजरमा खराब रूपमा गरिएको विश्वव्यापी संयोजनको आलोचना गर्छन्।
''समानुपातिक रूपमा खोप वितरण नभएका कारण डब्ल्यूएचओले 'खोप राहदानी' सिफारिस गर्दैन। तर मलाई लाग्छ की केही राष्ट्रहरूले यसको प्रयोग गर्नेछन्,'' उनले भने।
रोपेली सङ्घले डिजिटल कोभिड प्रमाणपत्र सार्वजनिक गरिसकेको छ जसले त्यहाँका नागरिक र बासिन्दाहरूले खोप लगाएको, नेगेटिभ रहेको परीक्षण नतिजा आफूसँग भएको वा हालसालै मात्रै रोगबाट निको भएको अवस्थामा सदस्य राष्ट्रहरूमा बिना कुनै रोक तोक घुम्न पाउने छन्।
खोप राहदानीलाई सङ्घका २७ वटै सदस्य राष्ट्रहरूले मान्यता दिएका छन्। त्यसबाहेक आइसल्यान्ड, नर्वे र स्विट्जरल्यान्ड पनि यसलाई मान्यता दिएका छन्।
तर विश्व भर एउटा देशबाट अर्को देश जाने विषयलाई कसरी व्यवस्थापन गरिने छ भन्ने कुरा भने हेर्नुपर्ने हुन्छ।
बीबीसी न्यूज नेपाली