सन् २०१९ को डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोरोनाभाइरसले अहिले पनि विश्व आक्रान्त छ। जसका कारण ३५ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १७ करोडभन्दा बढी यो रोगको चपेटामा परिसकेका छन्।
पहिलो लहरभन्दा दोस्रो लहरमा यो भाइरस निकै घातक बनेर आयो। दोस्रो चरणमा शक्तिशाली रूपमा प्रवेश गरेको यो भाइरस नियन्त्रण नहुँदै फेरि तेस्रो लहरमा परिवर्तन साथ नयाँ विकासित भएर अझ बढी घातक हुने हो कि भन्ने शंका गरिएको छ। यसका साथै खोप नलगाएका बालबालिका बढी जोखिममा पर्ने हुने कि भन्ने आशंका उब्जाएको छ।
अहिले कोरोनाको दोस्रो र तेस्रो लहर भन्ने गरिएको छ। यसलाई सामान्य भाषामा भन्दा धेरैलाई संक्रमण भएपछि केही समयलाई कम हुन्छ त्यसपछी भाइरस केही रुप परिवर्तन भई फेरि संक्रमण दर थप मान्छेहरुमा फैलिन्छ। यसरी अर्को लहर आउँछ। कहिलेकाहिँ भाइरसको प्रजाति परिवर्तन हुन्छ। संक्रमण गर्ने भाइरसले प्रजाति परिवर्तन गरेर नयाँ भएर आउँछ, त्यसले नयाँ–नयाँलाई संक्रमण गर्छ। त्यो विस्तारै सामसुम भए जस्तो हुन्छ। केही समयपछि फेरि नयाँमा पुग्छ र संक्रमण बढ्छ। यो क्रमलाई लहर भनिन्छ। समाजमा अधिकांश व्यक्ति संक्रमित नभएसम्म यो लहर चलिरहन्छ।
नेपालमा अहिले कोभिड–१९ का आयातित भेरियन्टहरू देखा परेका छन् । दोस्रो लहरको संक्रमणमा धेरै फैलिएको ‘डेल्टा भेरियन्ट’ अहिले पनि फैलिइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसबाहेक नेपालमा हालसम्म ‘अल्फा’ र ‘कप्पा भेरियन्ट’ पुष्टि भएका छन् ।
भाइरस उही हो। भाइरसको प्रजाति वा त्यसको काँचुली परिवर्तन भएको हो। कोरोना भाइरसले प्रजाति परिवर्तन गरिरहन्छ। त्यसैले प्रजाति परिवर्तन हुँदैमा आत्तिनु पर्दैन। किनभने यो भाइरसले आफ्नो अस्तित्व जोगाउन प्रजाति परिवर्तन गर्नैपर्छ। त्यसरी आफूलाई परिवर्तन गरेर अघि हुनु भनेको ‘भेरियन्ट’ हुनु हो। नयाँ लहर प्रजाति परिवर्तन भएर पनि आउन सक्छ वा त्यही पुरानै प्रजाति आउन सक्छ। पहिले संक्रमण नभएका मान्छेहरुमा शुरु हुन्छ वा सबै एस्को चपेटामा पर्छन भन्न् सकिदैन ।
निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा लापरबाही गरियो । खोप केन्द्रदेखि विभिन्न सामाजिक कार्यक्रमहरू संक्रमणको हटस्पट बने । संक्रमणको यो तथ्यांकले हामी तेस्रो लहरको संक्रमणको संघारमा रहेको देखाउँछ ।
त्यस्तै खुल्ला सिमाना, सहजै आवतजावतजस्ता कारणले पछिल्लो समय नेपालमा पनि यो रोग थप तिब्रताका साथ बडेको देखिन्छ। नेपालमा करीब ९ हजारको हराहारिमा ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या झन्डै ६ लाख पुग्न थालेको छ। यो तथ्यांक अझ चुलिँदो छ।
स्वास्थ्य मापदण्ड पालनामा हेलचक्य्राइँ गरेकै कारण यसको विकसित रूप दोस्रो लहर मानव जीवनका लागि असैह्य र घातक भएको हामी भोगिरहेका छौं।
दोस्रो लहरको संक्रमणमा कोभिड–१९ संक्रमणको दर झन्डै एक महिनासम्म स्थिर रह्यो । तर निषेधाज्ञा खुकुलो भएको एक साता नबित्दै संक्रमण दर उकालो लाग्यो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक डा. सागर राजभण्डारी अहिलेको संक्रमणलाई दोस्रो लहरकै संक्रमणको रूपमा व्याख्या गर्छन् । दोस्रो लहरको संक्रमण स्थिर भयो तर घट्नुपर्ने जति घटेन, संक्रमणको चक्र तोडिएन । अहिले बढिरहेको संक्रमण दर दोस्रो लहरकै अन्तिम अवस्था हो यही दरमा संक्रमण बढ्यो भने अगस्टपछि तेस्रो लहर आउने सम्भावना रहेको उनी बताउछन ।
महामारी वास्तवमै चरणवद्ध रूपमा आउने गर्छ। प्रत्येक चरणहरू (लहर) अत्याधिक संक्रमण फैलन्छ। यसरी संक्रमण फैलने क्रममा कुनै मानिसमा रोग प्रतिरोधात्मक क्षमता स्वंय बन्दै जान्छ। यसरी रोग प्रतिरोध क्षमताको विकास भएको खण्डमा रोगको प्रभाव समयको क्रमसँगै कम हुँदै जाने वा यसको प्रभाव नियमित रहने गर्छ।
तेस्रो लहरको सम्भावनालाई नकार्न सकिन्न। तर यसको प्रवेश र विस्तार सामान्य वा कडा रूपमा, कुन समयमा आउँछ भन्ने कुराको कुनै टुंगो छैन।
अहिले समुदाय तहमा संक्रमण छ। समुदायमा संक्रमण पोहर नै भएको हो। अहिले नयाँ भेरियन्टले संक्रमण व्यापक बनाएको हो।
अहिले हामी तेस्रो लहरतिर जाँदैछौं खुल्ला सिमानाको कारण हामी भारतको पछि छौं। जुनबेला भारत उत्कर्षमा पुग्छ, त्यसको एक महिनापछि हामी हुन्छौं। सामान्य भाषामा हामी शुरुवातको बिन्दुमा छौं।
कोरोनाको पहिलो लहरमा गम्भीर र जटिलखाले बिरामी प्रौढ उमेर समूहका तथा दीर्घ रोगीहरू थिए। अहिलेको दोस्रो लहरमा धेरै संख्यामा कम उमेर समूह (३० देखि ४५ वर्ष) का व्यक्तिमा गम्भीर प्रकारको लक्षण अथवा बढी संक्रमण पाइएको छ। त्यति मात्र होइन कुनै दीर्घ रोग नभएका व्यक्तिमा पनि दोस्रो लहरमा कडा प्रकारको कोरोना लक्षण देखियो।
त्यस्तै दोस्रो लहरको समाप्तिसँगै सुरक्षा मापदण्ड अपनाइएन भने कोरोनाको तेस्रो लहरमा रोग प्रतिरोधात्मक क्षमता प्रबल नभएका बढी जोखिममा पर्छन्। यस्तै खोप नलगाएका बालबालिका यसबाट अछुतो रहने कुरै आउँदैन।
तुलनात्मक रूपमा अहिलेसम्म बालबालिका कोरोनाबाट कम प्रभावित छन्। यसको प्रमुख कारण शरीरमा भाइरसको रिसेप्टर्सहरू कम अभिव्यक्त हुनु हो। रिसेप्टर्सहरूबाट नै भाइरस इम्युन सिस्टममा प्रवेश गर्ने गर्छ। अथवा सरल रूपमा भन्दा भाइरसलाई शरीरमा सजिलै प्रवेश गर्न नदिई प्रतिरक्षा प्रणालीलाई आक्रमण गर्नबाट बचाउँछ।
वयस्कको तुलनामा बालबालिकाको श्वासप्रश्वास प्रणाली अलि फरक हुन्छ। बालबालिकाहरू पूर्णतः अभिभावक नियन्त्रित रहने हुँदा उनीहरूको मानसिक र शारीरिक विकासमा विशेष ध्यान दिन जरूरी हुन्छ भने उनीहरूलाई उचित मार्गनिर्देशनको पनि त्यत्तिकै आवश्यकता पर्छ।
संक्रमित बालबालिकामध्ये ९० प्रतिशतमा हल्का अथवा खासै लक्षण नदेखिने प्रकारको हुन्छ। त्यसैले गम्भीर प्रकारको संक्रमणको उच्च सम्भावना बालबालिकामा अलि कम देखिएको छ।
बालबालिकासम्बन्धी खोप पनि निर्माण भइरहेका छन्। हालैमात्र अमेरिका, बेलायत, भारतजस्ता देशमा यो खोप बन्दै र प्रयोग हुँदैछ। हामीकहाँ पनि प्राथमिकता क्रमअनुसार बालबालिकामा पनि खोप प्रयोग हुनेमा आशावादी बनौं।
तुलनात्मक एवं सानो संख्यामा भए पनि बालबालिकामा समेत संक्रमण हुनसक्छ, अहिलेदेखि नै बच्चाका लागि कोभिड कक्ष, उच्च निर्भरता कक्ष (एचडिययु), गहन सघन कक्ष (आइसियु) जस्ता महत्वपूर्ण कार्यको व्यवस्थापनमा जुट्नु पर्ने हुन्छ। त्यस्तै संवेदनशिल अवस्था आइसकेपछि भन्दा पनि आउनुपूर्व अभिभावकलाई सचेतना शिक्षा, परामर्श र संक्रमण एवं हुन सक्ने जटिल अवस्थाका बारेमा जानकारी गराउनु अत्यन्त आवश्यक छ। त्यसैले सचेत बनौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण को तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन् ।
तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । मन्त्रालयले सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छ । 'तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनिएको छ ।
यो सँगै शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउनकाे प्रस्ताव गरिएको छ । कोरोना सङ्क्रमण बढ्दै गएको परिस्थितिमा पुनः ‘स्मार्ट लकडाउन’मा जानुपर्ने प्रस्ताव भए पनि त्यसबारेमा केही निर्णय भनेको छैन ।
नेपालमा पछिल्लो साता साउन ८ गतेदेखि १४ गतेसम्म १५ हजार ९१६ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार एक सातामा गरिएको ८० हजार २२८ ओटा पीसीआर परीक्षणबाट १५ हजारभन्दा बढी संक्रमित पहिचान भएका हुन् । तर, निको हुनेको संख्या १२ हजार ७५५ मात्रै छ भने सक्रिय संक्रमितको दर ४.०४ बाट बढेर ४.४० प्रतिशत पुगेको छ । जुन अघिल्लो साता असार ३१ देखि साउन ६ गतेसम्म ३.९९ प्रतिशतमा झरेको थियो ।
यही अवधिमा ५६ हजार ७ सय ३९ ओटा नमुनाको पीसीआर परीक्षणमा १२ हजार ८३ जना संक्रमित पहिचान हुँदा ११ हजार ६९१ जना संक्रमणमुक्त भएका थिए । दुई साताको यो तथ्यांकलाई तुलना गर्दा नेपालमा संक्रमण हुनेको संख्या बढ्दो र निको हुनेको संख्या घट्दो देखिन्छ । नेपालमा साउन १४ गतेसम्म कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ३१ हजार १८६ रहेको मन्त्रालयको तथ्यांक छ ।