बाँके - नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ।
अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ संक्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म बाँकेका ५९ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९३ जनाको निधन भएको उनले बताए। बाँकेमा सक्रिय सङ्क्रमितको संख्या २८२ पुगेको छ।
बाँकेमा पछिल्लोपटक शुक्रबार बिहान गुर्भाकोट नगरपालिका–१३ सुर्खेत निवासी ३१ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। एक हप्ताअघि मात्र भारतबाट फर्किएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो।
कोरोना पुष्टि भएपश्चात् चैत ३१ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दा गर्दै बिहान ७ः३५ मा मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिए।
बाँकेमा बढ्दै गएको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रले स्थानीय तहमा कम्तीमा ५० शय्याको आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्ने तयारी गरेको छ। त्यसैगरी, नेपालगञ्ज उपमहानगरपालिकाभित्र साविकमा सञ्चालनमा आएका १२० शय्याको ह्वाइटहाउस आइसोलेशन पुनः सञ्चालन गर्ने तयारीसमेत नगरको छ।
कोरोना बिरामी ओसारपसार गर्न प्रत्येक स्थानीय तहमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, भेरी अस्पतालको १४२ शय्याको आइसोलेशनमा जनशक्ति थपेर सञ्चालनका लागि तयारीमा राख्न निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। रासस