काठमाडौं - बाँकेमा १८३ जनाको पिसिआर परीक्षण गर्दा १सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय २७ जनामा संक्रमण पुष्टि भएसँगै समुदायमा संक्रमण फैलिएको अनुमान गरिएको छ।
जिल्लाका कोरोना फोकल पर्सन तेज वलीका अनुसार, शुक्रबार परीक्षण भएकामध्ये झन्डै ७० प्रतिशतलाई कोरोना देखिएको हो।
उनले भने, ‘संक्रमित अधिकांश युवा छन् । उनीहरू सबै भारतबाट आएकाहरू हुन् ।’
उनका अनुसार, शुक्रबार बाँकेमा फेला परेका १सय २७ जना संक्रमित सबै बाँकेका होइनन्। शंका लागेका बाहिरी जिल्लाका मानिसको पनि पिसिआर परीक्षण गरिएको उनले जानकारी दिए।
बाँकेमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । भेरी अस्पतालले आज दिउँसो सूचना जारी गर्दै गत २४ घन्टामा १८३ वटा नमुना परिक्षण गरिएकोमा १ सय २७ जनामा संक्रमण भेटिएको छ । जसअनुसार कोरोना पुष्टि हुने दर ६९.४ प्रतिशत हुन आउँछ ।
बाँकेमा एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको यस वर्षकै पहिलो पटक हो । अस्पतालका अनुसार यसले कोरोना भाइरस संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको हुन सक्छ ।
भेरी अस्पताल आफ्नो श्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको छ । तर यहि क्रममा संक्रमण फैलिने हो र गहन खालका बिरामीहरूको संख्या बढ्ने हो भने बिरामीको चाप थेग्न मुश्किल हुने निश्चित रहेको सूचनामा उल्लेख गरिएको छ ।