काठमाडौं– पृथ्वीकै अहिलेसम्मकै सबैभन्दा गर्मी महिनाका रुपमा जुलाई महिना रहेको अमेरिकी संघीय वैज्ञानिकहरुको नियामक निकायले जनाएको छ ।
तथ्यांकले जुलाई महिनामा मात्रै जमिन र समुद्र सतहको संयुक्त तापक्रम शुन्य दशमलव ९३ सेन्टिग्रेड बढेर १५ दशमलब ८ डिग्री सेन्टिग्रेड पुगेको हो । यो १ सय ४२ वर्षपछिको सबैभन्दा उच्च तापक्रम हो । यस अघि तापक्रम वृद्धिको नयाँ रेकर्ड सन् २०१६ मा मापन गरिएको थियो ।
सन् २०१९ र १९२० पनि त्यही अनुपातमा तापक्रम मापन गरिएको थियो । यसरी लगातार रुपमा तापक्रम बढ्नुको कारण जलवायु परिवर्तनको असर भएको विज्ञहरुको भनाई छ ।
गर्मी बढेसँगै झाडापखाला, आउँ, टाइफाइड, मलेरिया, डेंगु, हेपाटाइटिस लगायतका बिरामी बढी देखिन्छन् । सामान्य रुघाखोकीदेखि गर्मी मौसममा जाडोको मौसममा भन्दा धेरै किसिमका इन्फ्ल्युएन्जा भाइरल रोगले धेरैलाई सताउँछ ।
गर्मी तथा वर्षा याममा जति पनि खानेपानीका स्रोतहरू छन्, ती सबै वर्षाको भेल मिसियर दूषित हुन्छन् । पानीमा जनावरको मलमुत्र मिसिएर पनि खानेपानीको स्रोत दूषित हुन्छ । त्यसैले दूिषत पानीबाट सर्ने रोग गर्मीमा धेरै हुन्छन् ।
गर्मीमा पानीबाट सर्ने रोगहरू जस्तै झाडापखाला, आउँ, टाइफाइड हुन् । गर्मीमा झिंगाले पनि यी रोग सार्ने काम गर्छ । गर्मीको कारणले खानाहरू पनि छिट्टै बिग्रने भएको हुनाले सडेगलेका बासी खानाबाट पनि रोग लाग्छ । गर्मीमा लामखुट्टेको पनि विगविगी हुने भएकोले यसले पनि विभिन्न रोग निम्त्याउँछ । मलेरिया तथा डेंगु लामखुट्टेको टोकाइबाटै लाग्छ ।
गर्मी तथा वर्षा याममा लाग्ने मुख्य रोगहरु
- झाडापखाला
- टाइफाइड
- डेंगु
- औलो
- जण्डिस (हेपटाइटिस ए, इ)
- हैजा
निकै गर्मी भए के गर्ने
- कस्सिएको लुगा लगाउनु हुन्न। सक्दो पातलो, हलुंगो र उज्यालो रङका लुगा लगाउनु पर्दछ।
- प्रशस्त मात्रामा पानी पिउनु पर्छ। सकिन्छ भने फलफूलका रस पिउँदा अझ राम्रो हुन्छ।
- क्याफिन भएका पेय पदार्थ कफी, चिया सकभर पिउन हुँदैन।
- एयरकन्डिसन वा पंखा नभएमा, घरको तल्लो तलाका चिसो ठाउँमा बस्नु राम्रो हुन्छ।
- बढी नुन, चिनी भएका खानेकुरा कम खानु पर्छ।
- खानामा प्याजलाई अत्याधिक मात्रामा प्रयोग गर्नु पर्दछ।
- हिँड्दा सानो टुक्रा प्याजसँगै लिएर हिँड्ने बानी बसाल्नु राम्रो हुन्छ।
-यस्ता बिभिन्न रोग बाट बच्न झिंगा, भुसुना भन्किएको खाना नखाने, फलफुल तथा तरकारीलाई राम्ररी पखालेर खाने, खानालाई लामो समयसम्म स्टोर नगर्ने, खानालाई राम्ररी छोपेर राख्ने र लक्षण देखिने बित्तिकै उपचार गर्नुपर्छ त्यस्तै घरको वरपर पानी जम्न नदिने, शरीरलाई पुरै ढाक्ने लुगा लगाएर मात्र घर बाहिर निस्कने, राती सुत्दा झुलको प्रयोग गर्ने, लामखुट्टेको टोकाइबाट बच्न मलहमको प्रयोग गर्ने, घर वरपर सफा राख्ने ।
-धेरै बान्ता र पखाला भएमा हेलचेक्र्याई नगरी अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।