धौलागिरि- धौलागिरि अस्पतालले प्रदान गर्दै आएको डायलासिस सेवा विस्तार गरिएको छ । यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डायलासिस मेसिन (डाइलोजर) अस्पताललाई पठाएको थियो ।
चार श्यामा सञ्चालमा आएको सो सेवा अब छ श्ययामा प्रदान गरिने छ । अस्पतालमा डायलासिस गर्ने बिरामीको चाप उच्च भएपछि सेवा थप गरिएको धौलागिरि अस्पतालले जनाएको छ ।
डायलासिस सञ्चालनका लागि जनशक्तिको अभाव भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए । “गण्डकी प्रदेश सरकारलाई हामीले मन्त्रालयमै पुगेर अस्पतालको समस्या र तत्काल आवश्यक उपकरण पठाउन आग्रह गरेका थियौँ, स्वास्थ्य मन्त्रालयले दुई डायलासिस मेसिन पठाएको छ”,उनले भने, “अस्पतालका अनुगमनमा आउनुभएकी मन्त्री मधुमाया अधिकारीले डायलासिस कक्षका क्षमता बढाउने औजार उपकरण पठाउने आश्वासन दिनुभएको छ ।”
विसं २०७५ वैशाखबाट अस्पतालमा सुुरु भएको अस्पतालको डायलासिस कक्ष विस्तार नहुँदा १८ जनासम्म बिरामीले पालो कुर्नुपरेको अवस्था थियो । यसलाई सम्बोधन गर्न उपकरण थप भएको र बिरामीलाई राहत मिलेको स्वास्थ्यकर्मी दीपिका गौतमले जानकारी दिइन् ।
“डायलासिस कक्षका लागि छुट्टै जनशक्ति नहुँदा केही समस्या छ, आवश्यक पर्दा अन्य मेडिकल डाक्टर सहयोग गर्न आउनुहुन्छ”, उनले भनिन्– “अहिले नियमितरुपमा १८ बिरामीले नियमित सेवा पाइरहेका छन्, कसैको हप्तामा दुईपटक र कसैको तीन पटकसम्म बिरामीको अवस्था हेरेर डायलासिस गर्नुपर्ने हुन्छ ।”
चार श्याको डायलासिस कक्ष हुँदा दैनिक आठ जनाले डायलासिस गर्दै आएकामा अब न्यूनतम १५ ले दैनिक सेवा लिनसक्ने जनाइएको छ । अस्पतालमा डायलासिस हुँदा आफूलाई निकै सहज भएको पर्वत जलजला गाउँपालिकाका दिलबहादुर खत्री बताए ।
दुवै मिर्गौला फेल भएपछि प्रत्यारोपण नगरुञ्जेल बिरामीलाई नियमित डायलासिस गर्न आवश्यक हुन्छ । आर्थिक हैसियत भएका बिरामीले आफूलाई मिल्ने मिर्गौला प्रत्यारोपण गर्ने भए पनि प्रत्यारोपण गर्न नसक्नेले जीवनभर नियमित डायलासिस गर्नुपर्ने जनाइएको छ। खेमराज गौतम/रासस