के हो अोसिडि?
अोसिडि एउटा मानसिक रोग हो।
जिन्दगीमा सानो सानो कुराको पिर सबैलाई परिरहेको हुन्छ। तर ओसीडीबाट पीडित व्यक्तिलाई भने त्यो पिर जतिबेला पनि पारीरहन्छ। त्यही कुरा दिमागमा आएको आएकै हुन्छ। यस्तो अवस्थामा उसले केही पनि गर्न सक्दैन। न त राम्ररी आफ्नो ख्याल नै राख्न सक्छ न त राम्ररी खान नै सक्छ।
एकदमै कुरा मनमा आईराख्ने, डर लाग्ने, ला मलाई त यस्तो यस्तो कुराहरु मनमा आयो भन्ने एकप्रकारको तनाव रहिरहन्छ। यस्तो यस्तो कुराहरु मनमा खेल्न थाल्छ कि उसलाई आँफै देखेर लाज लाग्न थाल्छ। अब अरुले के भन्ला भन्ने कुरा उसको मनमा खेलीरहन्छ। यो सोचाईहरु अत्याधिक मात्रामा बढ्दै गैसकेपछी यस्तो अवस्था आउँछ कि उसले यसलाई रोक्नलाई अरु केही काम गर्छ जसलाई कम्पल्सन भनिन्छ। किराको बारेमा सोच्नु, त्यसबाट लाग्ने रोगको बारेमा सोच्नु अब्सेसन हो भने, त्यस बिचार लाई रोक्नको लागि गरिने सरसफाइ य अरु केही काम त्यसको कम्पल्सन हो।
लक्षण
ओसीडीबाट पीडित व्यक्तिलाई बारम्बार प्रार्थना, सरसफाई (पटक–पटक लुगा, हात धुने, बढार्ने) गर्नु, ढोकामा ताल्चा वा चुकुल लगाए/नलगाएको जाँच्नु, ग्याँस वा बत्ती निभाएको छ/छैन, लकर सेफ वा दराज राम्ररी बन्द गरे नगरेको बारम्बार हेर्नु, बाटो सुरक्षित छ/छैन भनेर पटक–पटक आश्वस्त हुन चाहनु, कामै नलाग्ने चिज भए पनि फ्याँक्न नचाहनु, घरी–घरी सामान मिलाउनु, केही भएकी मात्र जपेको जपेकै गर्नु, पूजा गरेको गरेकै गर्नु जस्ता लक्षण देखा पर्छन। ओसीडीको समस्याबाट ग्रसित व्यक्तिहरू कुनै सामान यथास्थानमा नपाउँदा बढी चिन्तित हुन्छन्।
ओसीडीबाट पीडित व्यक्तिहरूले आफू तनावमा रहेको, समस्या भएको दुःखबोध गर्न सक्छन्। आफूले दोहोर्याइरहेको कुनै क्रियाकलाप रोक्न चाहेर पनि नसक्दा आत्मग्लानि एवं आफू साँच्चिकै बहुलाउन थालेको त होइन भन्ने आशंका हुन्छ।
कुन उमेर समुहलाई लाग्न सक्छ?
यो जुनै पनि उमेर समुहलाई हुन सक्छ तर धेरैमा उमेर २० वर्षबाट उकालो लागेपछि यो समस्या देखिन थाल्छ। ब्रेन ट्युमरलगायतका मस्तिष्कको समस्या भएकाहरूमा पनि यो मनोरोग देखिन सक्छ।
लाग्नुको कारण
अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको सटिक कारण पत्ता लागेको छैन, तर मस्तिष्कमा सेरोटोनिन (एक प्रकारको रसायन) तत्वको असन्तुलनलाई यसको प्रमुख कारक मानिन्छ। करीब एकतिहाइलाई तनावपूर्ण घटनाले यो मनोरोगको शिकार बनाउँछ भन्ने मानिन्छ। अत्यन्त न्यून व्यक्तिलाई वंशाणुगत कारणले ओसीडी हुन्छ।
उपचार
यो समस्यालाई शून्यमा ल्याउन कठिन छैन, तर अन्य मानसिक रोगको जस्तो उपचार विधि पनि छैन। यदि ओसीडी सुरुवाती अवस्थामा छ भने साइकोथेरापीद्वारा यसको उपचार गर्न सकिन्छ। साईकोथेरापी भन्नाले एउटा थेरापिस्टसँग बसेर गफको माध्यमद्वार गरिने उपचार हो। आखिर के हो त यसको कारण? कहाँँबाट सुरु भन्ने पत्ता लगाएर अब्सेसनलाई कोम्पल्सनमा नढाल्नलाई यो बिधीको प्रयोग गरिन्छ। ओसीडीलाई साईकोथेरपी उपचार र औषधिबाट उचित व्यवस्थापन गर्न सकिन्छ। साइकोथेरापी र औषधिको प्रयोग घरीघरी आउने सोचाइलाई कम पार्न गरिन्छ।
कुनै काम वा घटनाप्रति डर वा घृणा छ भने विस्तारै त्यसको सामना गर्न लगाई मनोबल बलियो पार्न सघाइन्छ। कुनै काम गर्दै नगरे पनि त्यसको नतीजा धेरै नकारात्मक हुँदैन भनेर सप्रमाण विश्वास दिलाउनु ओसीडीको प्रभावकारी उपचार विधि हो। यसको अलावा स्नायु प्रणालीका लागि नपुग रसायन तत्व (सेरोटोनिन) औषधिका रूपमा दिन सकिन्छ। यदि यि कुनै तरिकाले पनि काम गरेन भने सर्जरी यसको अन्तिम उपाय हो। नेपालमै यो सर्जरी सम्भब छ, यो सर्जरीलाई साइकोसर्जरी भनिन्छ।
( मनोवैज्ञानिक डा. नम्रता प्रधानसँगको अन्तर्वातामा आधारित )