नेपालमा विगत २४ घण्टामा कोभिडका कारण ४२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
त्यसैगरी थप ३,४०३ जनामा सङ्क्रमण भएको र २,१०४ जना निको भएको मन्त्रालयले जनाएको छ।
कुल १६,८३८ परीक्षण गर्दा २० प्रतिशतभन्दा केही बढीमा सङ्क्रमण देखिएको हो। तीमध्ये ४,९९९ एन्टिजन परीक्षण थिए।
नेपालमा हालसम्म कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या १०,३९६ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या आठ लाख १७ हजार नाघेको छ।
अहिले नेपालमा ४०,३३८ जनामा सक्रिय सङ्क्रमण छ। जसमध्ये ३,५३२ जना अस्पतालमा उपचार गराइरहेका छन्।
तीमध्ये ७७० जना सघन उपचार कक्ष आईसीयूमा र १८६ जना भेन्टिलेटरमा उपचाररत छन्।
विगत २४ घण्टामा सबैभन्दा बढी काठमाण्डू जिल्लामा ७११ जना सङ्क्रमित भेटिएका हुन्।
ललिपुरका १६० र भक्तपुरका १२२ पनि जोड्दा उपत्यकाका बुधवार ९९३ जना सङ्क्रमित थपिएका छन्।
उपत्यकामा हाल ११,७५८ जना सक्रिय सङ्क्रमित छन्।
धेरै सङ्क्रमित भेटिएका अन्य जिल्लाहरूमा झापामा १८३ जना, मोरङमा १४६ जना, चितवनमा ११५ जना र गण्डकीमा ३१५ जना रहेका छन्।
नेपालभरि २१ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप १७ जिल्लामा २०० देखि ४९९ सक्रिय सङ्क्रमित रहेका मन्त्रालयको तथ्याङ्क छ।