काठमाडौं । कोभिड-१९ महामारी नियन्त्रण, व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाह कार्यान्वयन गर्न सरकारले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । गत साउन २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयअनुसार समिति गठन गरिएको हो।
समितिको उपाध्यक्षमा स्वास्थ्य सचिव डा रोशन पोख्रेल रहेका छन् । त्यसैगरी सह उपाध्यक्षमा प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंह, सदस्यहरुमा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा रामपदार विछा, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा बासुदेव उपाध्यय, औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, इडिसिडिका निर्देशक डा कृष्ण पौडेल, हाडजोर्नि रोग विशेषज्ञ डा रुद्र मरासिनी रहेका छन् ।
सदस्यसचिवमा मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहोनीलाई तोकिएको छ ।
सरकारले यो उच्चस्तरीय समितिलाई ८ बुँदे कामको जिम्मा दिएको छ । जसमा कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रण गर्न सीमानाकामा हेल्थ डेस्क संचालन, क्वारेन्टाइन, परीक्षण, आइसोलेसन, उपचार व्यवस्थापन, खोप आपूर्ति तथा अभियान संचालन, औषधि, औजार उपकरण खरिद तथा आपूर्ति व्यवस्थापन लगायतका विषयमा नीतिगत निर्णय गर्ने छन् ।
साथै, नन-कोभिड बाहेकका नियमित तथा अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहलाई सुचारु गर्न आवश्यक नीतिगत निर्णय गर्ने, सबै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहसँग समन्वय र सहजीकरण गर्ने लगायत छन्।