इकोन भनेको के हो ?
ई–कोन (आकस्मिक गर्भनिरोधक चक्की) भनेको असुरक्षित यौन सम्पर्क पछि गर्भ रहन नदिने खाने चक्की हो । यसलाई जति सक्दो चाँडो, ढिलोमा १२० घण्टा वा ५ दिन भित्र खानुपर्दछ । यसमा रहेका २ वटा चक्की एकैसाथ खान पनि सकिन्छ वा एक–एक चक्की गरी खाएमा पहिलो चक्की आएको १२ घण्टा पछि दोस्रो चक्की खानुपर्दछ । इकोन सुरक्षित छ र सही तरिकाले प्रयोग गरेमा यसले ९९ प्रतिशतसम्म गर्भधारण रोक्न सक्छ । तपाईले इकोन खाइसकेपछि आफ्नो सेवा प्रदानकर्तासँग सल्लाह गरेर परिवार नियोजनका अन्य नियमित विधिहरु प्रयोग गर्न सक्नुहुनेछ ।
इकोनलाई कसरी प्रयोग गर्न सकिन्छ ?
- असुरक्षित यौन सम्पर्क पछि तपाईले जति छिटो इकोन खानुहुन्छ, यो त्यति नै बढी प्रभावकारी हुनेछ ।
- असुरक्षित यौन सम्पर्क भएपछि जति सक्दो चाँडो बढीमा १२० घण्टा वा ५ दिनभित्र इकोन खानु पर्दछ ।
- दुई वटा चक्की एकै साथ खान पनि सकिन्छ ।
- एक–एक चक्की गरि खाएमा पहिलो चक्की खाएको १२ घण्टापछि दोस्रो चक्की खानु पर्दछ ।
यदि बान्ता भएमा के गर्नु पर्दछ ?
इकोन खाएको २ घण्टाभित्र बान्ता भएमा जति सक्दो चाँडो अर्काे प्याकेटबाट इकोन चक्की खानु पर्दछ ।
वाक–वाक हुन नदिन इकोनको नयाँ चक्की खानुभन्दा आधा वा एक घण्टा अघि वाक–वाक रोक्ने औषधी खानु पर्दछ ।
यदि इकोन चक्की खाएको २ घण्टा वा बढी समयपछि बान्ता भएमा तपाईले चिन्ता गर्नु पर्दैन किनकि त्यति समयमा औषधिले तपाईको शरीरमा पुगेर असर गर्न थालिसकेको हुन्छ ।
इकोनको कुनै साधारण असरहरु छन् ?
यी चक्कीहरुले कहिलेकही वाकवाकी लाग्ने, बान्ता हुने, टाउको दुख्ने, स्तन दुख्नसक्ने र अनियमित योनी रक्तस्राव बग्ने जस्ता साधारण असरहरु देखापर्न सक्छन् । यस्ता साधारण असरहरु प्रायः केही दिनसम्म मात्र रहन्छन् ।
यदि गर्भवती भएको बेलामा इकोन खायो भने गर्भधारणमा केही असर पर्न सक्छ ?
सेवा प्रदानकर्ताले गर्भवती भएको बेलामा इकोन चक्की नखानुहास् भन्ने सल्लाह दिन्छन् । यदि गर्भवती भएको बेलामा तपाईले इकोन खाइहाल्नु भएमा पनि इकोनले गर्भपतन गराउँदैन । तपाईको गर्भधारणमा इकोनले केही असर पार्दैन ।
के इकोनको प्रयोग गर्न सुरक्षित छ ?
इकोन चक्कीहरु सबै महिलाका लागि सुरक्षित छन् । यदि तपाईका कुनै पनि प्रश्नहरु छन् भने कृपया, सेवा प्रदानकर्तालाई भेटी राम्रोसँग बुझ्नुहोस् ।
इकोन परिवार नियोजनको नियमित विधि हो ?
होइन ! इकोन परिवार नियोजनको नियमित विधि होइन । यो आकस्मिक अवस्थामा प्रयोग गर्नका लागि मात्र हो । गर्भ हुनबाट रोक्नका लागि परिवार नियोजनका अन्य धेरै उपयुक्त र प्रभावकारी नियमित विधिहरु उपलब्ध छन् ।
गर्भधारणका सम्भावित सकेतहरु देखा परेमा
यदि तपाईको अर्को महिनावारी नियमित हुने समयपछिको एक हप्ता भित्र भएन भने आफ्नो सेवा प्रदानकर्ता कहाँ जानुहोस् ।
महत्वपूर्ण
- इकोनले तपाईलाई एच.आई.भी/एड्स वा अन्य यौनरोग/यौनजन्य संक्रमणहरु(एस.टी.आई) जस्तै धातुरोग वा भिरङ्गीबाट सुरक्षा प्रदान गर्दैन ।
- यौनरोगको संक्रमणले तपाईको शरीरमा परिवर्तन ल्याउँछ र भविष्यमा सधैको लागि बच्चा नहुने पनि बनाउन सक्छ ।
- यौनरोग र एच.आई.भी/एड्सबाट बच्नका लागि कण्डम नै एक मात्र प्रभावकारी साधन हो । त्यसैले ढाल/प्यान्थरको अनिवार्य प्रयोग गर्नुपर्दछ ।