पछिल्लो समय थुप्रै नेपालीलाई एपेन्डिसाइटिसले सताएको छ । यो एक गम्भीर रोगका रूपमा देखा परेको छ । एपेन्डिसाइटिसले मानिसको ज्यान पनि लिन सक्छ । यस्तो रोगको सम्भावना हुनेबित्तिकै अप्रेसनको तयारी गर्न चिकित्सकको सल्लाह हुन्छ । यो रोग पेटको एपेन्डिक्समा लाग्ने गर्छ र यसलाई एपेन्डिसाइटिस भनिन्छ । एजेन्सीको सहयोगमा यसैबारे तयार पारिएको एक सामग्री :
एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यो रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै जान पनि सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा एपेन्डिसाइटिस हुन्छ । कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ ।एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । सन् १८८६ मा रेगीनाल्डले पहिलोपल्ट एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएको पाइन्छ ।
एपेन्डिसाइटिस शरीरको एपेन्डिक्स नामक आन्द्राको भागमा हुने रोग हो । शरीरमा हुने छोटो र पातलो थैलीलाई एपेन्डिक्स भनिन्छ । जसको लम्बाइ दुईदेखि तीन इन्चसम्मको हुन्छ । यो मलद्वारसँग जोडिएको हुन्छ । एपेन्डिक्समा हुने दुखाइ र यो सुन्निनुलाई एपेन्डिसाइटिस भनिन्छ । एपेन्डिसाइटिस पेटको दुखाइबाट सुरु हुने गर्छ । यस्तो दुखाइ पटक–पटक हुन्छ । बिस्तारै दुखाइ पेटको तल्लो दाहिने भागमा सर्ने गर्छ, जहाँ एपेन्डिक्स हुन्छ । र, बिस्तारै दुखाइले गम्भीर रूप लिन थाल्छ । जसलाई एपेन्डिसाइटिस हुन्छ उसलाई भोक कम लाग्ने, अनुहार रातो देखिने हुन्छ । एपेन्डिसाइटिस भए छोटो समयमै पेटको सर्जरी गर्नुपर्ने हुन्छ । यस्तो अप्रेसनलाई एपेन्डेटोक्मी भनिन्छ । एपेन्डिसाइटिसको सम्भावना हुनेबित्तिकै सर्जरी गर्ने सल्लाह दिने गरिन्छ । किनभने, एक त यसको स्पष्ट निदान गर्न गाह्रो छ । अर्को एपेन्डिक्स फुट्नुभन्दा शल्यक्रिया गर्नु कम जोखिमयुक्त हुन्छ । यसको शल्यक्रिया गर्दा अन्य दीर्घकालीन समस्याबाट पनि बच्न सकिन्छ ।
एपेन्डिक्स एउटा पाइपजस्तो अङ्ग हो । यसको ल्युमेन बिस्तारै विभिन्न कारणहरुबाट बन्द हुन थाल्छ, र यो सुनिन्छ । सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ । जुन चापका कारण भित्तमा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ ।
वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी हुने गरेको पाइन्छ । श्ररोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ । एकमा एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ भने प्रकार दुईमा एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ ।
लक्षणहरु:-
१. दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।
२. उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ ।
३. साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ ।
४. कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ ।
५. कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।
स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउनुहुन्छ । एपेन्डिसाइटिस पत्ता लगाउन अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन्।विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ ।