काठमाडौं, भदौ ५ गते । कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर रोक्न लागू गरिएको निषेधाज्ञा हाल ५६ जिल्लामा मात्र लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।
चैत दोस्रो सातादेखि शुरु भएको कोरोना महामारीको दोस्रो लहर रोक्न सरकारले गत वैशाखदेखि विभिन्न मितिबाट लागू हुने गरि जारी गरेको निषेधाज्ञा हाल ५६ जिल्लामा मात्र लागू भएको गृहले जनाएको हो । गृह मन्त्रालयका अनुसार बाँके, पर्सा, दाङ, बागलुङ, सल्यान, प्यूठान, पर्वत, बैतडी, दैलेख, महोत्तरी, रोल्पा, म्याग्दी र मुगु जिल्लामा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
त्यस्तै सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, काभ्रेपलाञ्चोक, गोरखा, उदयपुर, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप, नुवाकोट, धनुषा र अर्घाखाँचीमा निषेधाज्ञा लागू गरिएको छ ।
गृहका अनुसार डोटी, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, सिरहा, नवलपरासी पश्चिम, इलाम, सिन्धुपाल्चोक, धनकुटा, अछाम, धादिङ, रौतहत, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, ओखलढुंगा, पाँचथर र तेह्रथुममा निषेधाज्ञा जारी रहेको छ ।
कोरोना सङ्क्रमणको दोस्रो चरणको लहरका कारण सङ्क्रमितको सङ्ख्या फेरि बढ्दै गएपछि गृह मन्त्रालयले लक्डाउन लगाएको थियो ।