गत वर्ष डिसेम्बरमा १५ वर्षीय निरभ पाण्डेलाई रुघाखोकी लाग्यो।
काठमाण्डूका अस्पतालहरूमा कोभिड-१९ सङ्क्रमितहरूको थेग्नै नसकिने चाप भएकाले आमाबुवाले नजिकैको पोलिक्लिनिकमा परीक्षण गराए। चिकित्सकले औषधि दिए। पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको थियो।
केही दिनपछि उनको स्वास्थ्य अवस्था बिग्रन थाल्यो। ज्वरो १०३ डिग्री फरेन्हाइटभन्दा कम भएन, रातभर पखाला चल्यो, रगतमा अक्सिजनको संतृप्ति सूचक ८५ मात्र देखियो र श्वासप्रश्वासमा समस्या आयो।
"घरमा कसैलाई पनि कोरोनाभाइरसको सङ्क्रमण नभएकाले आत्तिएका थिएनौँ। तर एकाएक छोरालाई गाह्रो भयो। तत्काल अस्पताल पुर्यायौँ। आकस्मिक कक्षमा उपचार सुरु भयो," निरभका बुवा उमेश पाण्डेले सुनाए।
उनका अनुसार निरभमा न निमोनिया देखियो न अरू कुनै स्वास्थ्य समस्या पहिचान भयो। अक्सिजनको सहायतामा राखिएका उनलाई श्वास नलीमा पाइप राखेर भेन्टिलेटरमा पुर्याइयो।
फेरि २४ घण्टापछि गरिएको परीक्षणले भने उनलाई निमोनिया भएको र मुटु सुन्निएको देखिएको उमेश पाण्डेले बताए।
"थाहा पाउँदा अत्यास लाग्यो। समस्या थपिँदो थियो। समाधानको बाटो देखिएको थिएन। त्यसमाथि चिकित्सकहरूले छोरालाई सङ्क्रामक रोग नभएको बताए," उनले भने।
बालरोग प्रतिरोध तथा बाथजन्य रोग विशेषज्ञ डा. धर्मागत भट्टराईले निरभको निगरानीपछि निर्क्योल गरे - उनलाई मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रम इन चिल्ड्रेन एमआईएस-सी भएको छ।
एमआईएस-सी कोभिड-१९ को प्रतिरोध प्रतिक्रियात्मक रोग हो।
बालबालिकामा कोभिड सङ्क्रमणको अवस्था
नेपालमा दैनिक तीन हजाराको हराहारीमा कोभिड बिरामी र सङ्क्रमण दर २० प्रतिशतको वरपर स्थिर रहे पनि बालबालिकामा सङ्क्रमण ह्वात्तै नबढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन्।
खोप उपलब्ध नभएका कारण बालबालिका अबको सङ्क्रमणको जोखिम समूह मानिएका कारण सरकारी तयारी त्यसै अनुरूप भइरहेको बालरोग विशेषज्ञ समेत रहेका डा. पौडेलले बताए।
उनका अनुसार हालसम्मको कुल सङ्क्रमितमध्ये ९.३ प्रतिशत बालबालिका एवम् किशोरकिशोरी रहेका र तीमध्ये आधा १५ वर्षभन्दा कम उमेर समूहका रहेका छन्।
"विद्यालयहरू बन्द भएकाले बालबालिकामा सङ्क्रमण आक्रामक रूपमा फैलने जोखिम कम छ। तर उनीहरूका लागि खोप सन् २०२२ को सुरुवातमा मात्र उपलब्ध गराउन सकिने भएकाले स्वास्थ्य संस्थाहरूमा बालबालिका केन्द्रित तयारी भइरहेको छ," डा. पौडेलले बताए।
तथ्याङ्कले कोरोनाभाइरस सङ्क्रमणकै कारण नेपालमा हालसम्म चारदेखि १४ वर्षका बालबालिकाको मृत्यु भएको तर चार वर्षसम्मका बालबालिकाले भने जीवन गुमाएको देखाउँछ।
डा. पौडेल भन्छन्,"सङ्क्रमित बालबालिकामध्ये ०.३४ प्रतिशतको मृत्यु भएको छ। ती सबै चार वर्षभन्दा कम उमेर समूहका हुन्।"
सङ्क्रमणको सम्भावित नयाँ लहरमा १८ वर्ष उमेर मुनिका समूह पर्ने अनुमान गरिएको भए पनि वैज्ञानिक अध्ययनहरूले यसको पुष्टि नगरेको बताइन्छ।
तर एकदेखि दुई प्रतिशत सङ्क्रमित बालबालिकामा गम्भीर लक्षणहरू देखिएको र जटिल लक्षण समयमै पहिचान नहुँदा उनीहरूमा जोखिम हुँदा तालिमप्राप्त स्वास्थ्य जनशक्ति र पूर्वाधार तयार राखिने बताए।
बालबालिकामा देखिने गम्भीर लक्षण मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रम इन चिल्ड्रेन एमआईएस-सी पनि हो।
के हो एमआईएस-सी?
एमआईएस-सी कोरोनाभाइरस सङ्क्रमणसँग जुध्न शरीरले दिने प्रतिक्रियाका कारण हुने अवस्था हो।
शरीरमा अन्तरङ्ग कोषबाहेक बहिरङ्ग कोष, कीटाणु, अणु वा जीवाणु छिरेको अवस्थामा शरीरले प्रतिक्रिया जनाउँछ।
त्यस प्रतिक्रियाले शरीरलाई नै हानि गर्ने गरी विभिन्न अङ्गहरूमा सुजन हुन्छ अर्थात् सुन्निन्छ। र प्रभावित अङ्गहरूले अति सुजनका कारण काम गर्न छाड्छन्।
बालबालिकाको हकमा यसलाई पेडियाट्रीक मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रम पीएमईएस भनिएको छ।
यसले बालबालिकामा कोभिड सङ्क्रमण भइरहँदा वा सङ्क्रमणबाट मुक्त भइसकेपछि दीर्घकालीन वा गम्भीर असर पार्छ।
पहिचानले सहज
एमआईएस-सीका ती मापदण्डसँग निरभको लक्षणहरू मिल्यो। डा. भट्टराईले तत्काल कोभिड-१९ को एन्टिबडी परीक्षण गर्न लगाए। नतिजा आयो - पोजेटिभ।
डा. भट्टराई भन्छन्, "पटकपटकको कोरोनाभाइरस परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि उनमा सङ्क्रमण भइसकेको रहेछ। सङ्क्रमणको असरका कारण उनको मुटु सुन्निएर राम्रोसँग नचल्ने स्थितिमा पुगिसकेको थियो।"
भट्टराई समस्या पहिचान गरी औषधि सुरु गरेको दुई दिनपछि निरभ भेन्टिलेटर बाहिर आएको बताउँछन्।
निरभका बुवा भन्छन्, "समस्या पहिचान नै ढिला भएको थियो। हामी छोराको स्थितिलाई लिएर निराश भइसकेका थियौँ। तर जब रोग के हो पत्ता लाग्यो तब सुधार देखियो।"
हाल निरभ तङ्ग्रिँदै छन्। मुटुको समस्याका कारण नियमित औषधि सेवन गर्छन् र रगत परीक्षण गराउँछन्।
निरभले आफ्नोजस्तो अवस्था अरू बालबालिका वा किशोरकिशोरीमा नदेखियोस् भनेर आफ्नो अनुभव लेखमार्फत साटेका छन्।
के हुन् त एमआईएस-सीका लक्षण?
सामान्यतया एमआईएस-सीका लक्षणहरू कोरोनाभाइरसको लक्षणसँग मिल्दो हुन्छन्।
तर एमआईएस-सी भएको अवस्थामा बालबालिकालाई ज्वरो अनिवार्य आउने चिकित्सकहरू बताउँछन्।
डा. भट्टराई ज्वरो आएको अवस्थामा तत्काल अस्पताल पुर्याउनु र परीक्षण गराउनु पर्ने बताउँछन्। परीक्षणमा शरीरको दुई या त्योभन्दा बढी प्रणालीमा असर परेको देखिएपछि एमआईएस-सी पुष्टि हुन्छ।
एमआईएस-सीका लक्षणहरू यसप्रकार छन्:
- अत्यधिक ज्वरो
- टाउको दुख्नु, शरीर थाक्नु, चिड्चिडाहट बढ्नु
- झाडापखाला लाग्नु
- घाँटी दुख्नु र खोकी लाग्नु
- बालबालिकाको शरीरमा राता दाग वा डाबर देखिनु
- आँखा रातो हुनु
- ओठ, जिब्रोलगायत अङ्गहरू सुन्निनु र
- श्वासप्रश्वासमा समस्या
डा. भट्टराई भन्छन्, "बालबालिकालाई यीमध्ये कुनै समस्यासहित गम्भीर बिरामी भए अस्पताल पुर्याइहाल्नुपर्छ किनकि घरमा रोग पत्ता लाग्दैन।"
"बिरामीको रोग प्रतिरोधात्मक क्षमता अनुसार लक्षणहरू पनि अलगअलग देखिने भएकाले परीक्षण नै समस्या समाधानको पहिलो उपाय हो।"
एमआईएस-सीको असर कस्तो र कति?
एमआईएस-सी भएका बालबालिका शारीरिक, मानसिक साथै सामाजिक रूपमा प्रभावित हुन्छन्।
रोगका कारण उनीहरूको शरीरका बहुअङ्गमा असर पर्ने भएकाले समस्या अल्पकाललाई सीमित नरहने डा. भट्टराई बताउँछन्।
"यसले कोभिड-१९ ले जस्तो सामान्य बिरामी बनाएर छाड्दैन। यसको असर मुटु, फोक्सो, कलेजो, श्वासप्रश्वास र मस्तिष्कमा दीर्घकालीन रूपमा रहन सक्छ।"
मिसिगनमा गरिएको एक अध्ययनका अनुसार अमेरिकामा सङ्क्रमित बालबालिकामध्ये ०.०१ प्रतिशतमा पीएमआईएस देखियो।
नेपालमा कति जनालाई एमआईएस-सी?
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा हालसम्म १०० जना बालबालिकामा एमआईएस-सी पुष्टि भएको छ।
तीमध्ये १८ जना बालबालिकाको उक्त रोगका कारण मृत्यु भएको छ।
एमआईएस-सीका भएका कुलमध्ये ७० जनाको कान्ति बाल अस्पतालमा उपचार भएको सो अस्पतालका डा. सुमित अग्रवालले बताए।
उपचारका लागि अस्पताल पुगेकामध्ये १७ जना बालबालिकाको मृत्यु भएको उनले जनाए।
कसरी कम गर्न सकिन्छ एमआईएस-सीको प्रभाव?
निरभका बुवाको अनुभव छ,"कोरोनाभाइरसले मानिसलाई सताउने मात्र होइन, झुक्क्याउँदो पनि रहेछ। त्यसैले सामान्य लक्षण त हो नि भनेर यसको परीक्षण नगर्ने नगरौँ।
"स्वास्थ्य समस्या देखिए पीसीआर नेगेटिभ आएको अवस्थामा समेत एन्टिजन परीक्षण गराउनु पर्दो रहेछ।"
एमआईएस-सी कोरोनाभाइरस सङ्क्रमणमुक्त भएको छदेखि १० सातापछि देखिने भएकाले कोरोनाभाइरस सङ्क्रमणको आशङ्का लागेका, परिवारको वयस्क कसैलाई सङ्क्रमण भएका र उनीहरूको निकट सम्पर्कमा आएका र लक्षण देखिएका बालबालिकाका पीसीआर, एन्टिजन वा एन्टिबडी परीक्षण गराउनु पर्ने डा. भट्टराईले बताए।
बालबालिकाको पाचन शक्ति र निन्द्रा पर्याप्त छ कि छैन भन्ने विषयमा अभिभावकको निगरानी आवश्यक रहेको बालरोग विज्ञको भनाइ छ।
डा. भट्टराई चिकित्सकको सुझाव अनुरूप औषधि सेवन गराउनु, नियमित परामर्श र परीक्षण कायम राख्नु पर्ने बताउँछन्।
रगतमा हुने अक्सिजनको मात्रा र सासको गति जाँच गर्नु अत्यावश्यक रहेको उनले बताए।
त्यस्तै बालबालिकामा प्रतिरोधात्मक शक्ति चुस्त राख्न नियमित व्यायाम र पोषणयुक्त खानाको भूमिका रहने उनको भनाइ छ।
उनीहरूको मानसिक र शारीरिक स्थितिमा सकारात्मक प्रभाव पार्ने वातावरण निर्माण पनि आवश्यक पाटो भएको डा. भट्टराईले बताए।