अब जुनसुकै क्यान्सर रोगका लागि नेपालमा औषधि उत्पादन सुरु भएको छ । नेपालमै पहिलो पटक हरेक क्यान्सर रोगका औषधि नेपालमै उत्पादन सुरु भएको हो ।नेपालमा क्यान्सरको औषधि उत्पादन सुरु हुनु नेपालकै लागि गौरवको विषय भएको सम्बन्धित विज्ञले बताएका छन् । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो । राजधानीमा एक कार्यक्रम गरी टिजिगले आफ्नो तथा आफूले उत्पादन गरेका ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिहरुको समेत अनावरण गरेको छ ।
सो अवसरमा क्यान्सर रोग विशेषज्ञहरुबीच औषधिको विषयमा संक्षिप्त अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले क्यान्सर रोगबिरुद्धको औषधि उत्पादन गर्ने आफ्नो कम्पनी नेपालकै पहिलो भएको बताउनु भयो । उहाँले औषधि व्यवस्था विभागसंग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरु भईसकेको भन्दै एक महिना भित्र केही औषधि व्यवसायिक रुपमा बजारमा पुग्ने जानकारी दिनुभयो
उहाँले नेपालमै औषधि उत्पादन हुँदा बिरामीले सस्तो औषधि पाउन सक्ने भएकाले यसले नेपालीलाई फाइदा गर्ने बताउनुभयो ।
सत प्रतिशत विदेशी लगानी रहेको यस फर्माले आफ्नो स्थापना विश्व स्वास्थ्य संगठन र नेपालको प्रविधि हस्तान्तरणमा रहेको नियमानुसार भारतको हैदरवादमा रहेको एन्टि क्यान्सर औषधि उत्पादन र बिक्री बितरण गर्दै आएको फर्मा कम्पनीसंग प्रविधि हस्तान्तरण सम्झौँता गरि आफ्नो औषधि उत्पादन स्थल र कार्य अघि बढाएको छ । टिजिग फर्मामा अहिलेसम्म ३२ करोड रुपैयाँ लगानी भईसकेको छ भने यसको काभ्रेको बनेपा १ नालामा कुल १६ रोपनी क्षेत्रफल जग्गामा फेक्ट्री रहेको छ । त्यसमध्ये अहिले २० हजार स्वाएर फिटको पूर्वाधार तयार भइसकेको कार्यकारी निर्देशक बैद्यले बताउनु भयो ।
उनले अत्याधुनिक प्रविधिमा बनाइएको आफ्नो फेक्ट्री डव्लुएचओको जीएमपी स्टान्र्डड र औषधि उत्पादन संहिता २०७३ अनुरुप बनाइएको र नेपालकै नमूना फेक्ट्री भएको समेत दावी गरे । ‘क्यान्सर रोगको औषधिले गर्दा हुने टक्सीसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाँउमा अन्य औषधि उत्पादन गर्न मिल्दैन । अर्को कुरा हाम्रो फेक्ट्रीमा नविनतम र अत्याधुनिक प्रविधि जडान भएका छन्,’ उनले थप प्रष्ट पारे ।
टिजिगले अहिले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ । त्यसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन् । यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक बैद्यले बताए। उनले तत्कालै पाँचवटा औषधि आईहाल्ने र त्यसपछि अरु ल्याउने योजना रहेको समेत बताए।
एन्टीक्यान्सर औषधिको मूल्यको सन्दर्भमा गरिएको एक प्रश्नमा कार्यकारी निर्देशक बैद्यले टिजिगले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताउनुभयो । ‘हामीकहाँ भारत र तेस्रो मुलुकबाट क्यान्सर रोगका औषधि आउने गर्दछन् । जसमा औषधिको गुणस्तरीयता, प्रभावकारिता र सुरक्षालाई कायम गर्न उच्चतम प्राथमिकतामा राख्दै नेपाली जनमानसलाई सुलभ मूल्यमा उत्पादन गराउने छाैं,´कार्यकारी निर्देशक बैद्यले बताउनुभयो