काठमाडौँ, । चिकित्सा शिक्षा आयोगले स्नातकतर्फ लिएको एकीकृत प्रवेश परीक्षा अव्यवहारिक भएको भन्दै नर्सिङ तथा पारामेडिक्स अध्ययन गराउने कलेज सञ्चालकहरुले विरोध जनाएका छन् । उनीहरुले अध्यापनका लागि तोकिएको विद्यार्थी कोटा भन्दा पनि कम उत्तीर्ण हुने मापदण्ड बनाई परीक्षा सञ्चालन गरी निजी कलेजहरुलाई बन्द गराउने रणनीति आयोगले लिएको भन्दै विरोध जनाएका हुन् ।सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कलेज सञ्चालकहरुले एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुर्नविचार नगरे आफूहरुले कलेजको चावी आयोगलाई बुझाउने चेतावनी दिएका छन् ।पूर्वाञ्चल विश्वविद्यालय अन्तरर्गत नर्सिङ तथा पारामेडिक्स कलेजहरुको छाता संगठन एलाइट साइन्स इन्सिट्युसन एसासिएसन (एसिया)का अध्यक्ष यमप्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगमा सोमबार नै गएर सांकेतिक रुपमा कलेजहरुको साँचो बुझाउने बताए । उनले भने, ‘आयोगले कलेजको अनुगमन गर्यो, सिट संख्या तोक्यो तर परीक्षा मापदण्ड नै अव्यहारिक बनायो र विद्यार्थी भर्ना नै नहुने अवस्थामा पुर्यायो । यसले हाम्रो कलेज पूर्ण रुपमा बन्द हुने अवस्थामा पुगेको छ ।’
अध्यक्ष अधिकारीले आयोगलाई प्रवेश परीक्षामा ५० प्रतिशत ल्याए मात्र स्नातक कक्षामा पढ्न पाउन दिने भन्ने कानुनी व्यवस्था नभएको जिकिर गरे । ‘यो आइओएमलाई मात्र हेरेर बनाइएको नियम हो,’ उनले भने, ‘चारवटा विश्वविद्यालयले नर्सिङ तथा पारामेडिक्स पढाउछन् उनीहरु सबैको हेरेर त्यही अनुपातमा बनाउनुपर्ने थियो ।’
हुनपनि आयोगले बीपीएचमा कुल एक हजार ४२० कोटा छुट्याएको छ । तर ५६५ जनाले मात्रै प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । त्यसैगरी , बिएससी नर्सिङ १हजार १ सय छुट्याइएकोमा ५सय ४ जना पास भएका छन्।
बीएस्सी नर्सिङमा एक हजार १०० कोटा छ, तर ५०४ जना मात्रै उत्तीर्ण छन् । बी फार्मेसीमा ९०२ वटा कोटा छ तर ५४७ जना मात्रै उत्तीर्ण छन् । फिजियोथेरापी बिपिटीमा १५० जनाको कोटा छ, त्यहाँ ११४ जना, बीएस्सी एमआईटी रेडियोग्राफीमा ७१ मा ३५ जना, बिएस्सी एमएलटी ४२५ सिटमा ११८ जना उत्तीर्ण भएका छन् ।
नर्सिङ कलेज सञ्चालक केपी सिंह परीक्षामा भएको त्रुटीकै कारण कम विद्यार्थी पास भएको बताउँछन् । उनी पारामेडिक्स (सिटिइभिटी) तर्फबाट आएका विद्यार्थीहरुलाई बायस भएर प्रश्नपत्र तयार भएको जिकिर गर्छन् । ‘अधिकांस परीक्षार्थी पारामेडिक्सतर्फका छन् तर, प्रश्न भने अधिकांस प्लस टू तर्फबाट आएको छ’ उनी अगाडी थप्छन ‘प्रश्न पनि अति कडा सोधिएको छ ।’
उनले आयोगको यो परीक्षा र नतिजाले नेपालमा निजीस्तरबाट संचालन भएका मेडिकल शिक्षण संस्थालाई बन्द गराएर विद्यार्थी विदेश पठाउने रणनीति त लिएको होइन भन्ने शंका उब्जिएको बताए ।
‘यहाँ नाम ननिस्केकाहरु बीएस्सी नर्सिङ तथा प्यारामेडिक्सका अन्य विषय पढ्न भारत तथा बंगालदेश तर्फ लागिसकेका छन् । उनले अहिले बाहिर जानका लागि पनि प्रवेश परीक्षा पास गर्नु पर्ने भएता पनि चार बर्ष पछि जे त होला भन्दै त्यस तर्फ लागेको सुनाउँछन्,’ उनी भन्छन्, ‘अहिले त मेरै कतिपय नजिकका आफन्तले समेत यहाँ पढाउन नपाएपछि छोराछोरी बाहिर धमाधम पठाउन थालिसकेका छन् । नियममा प्रवेश परीक्षा पास गर्नु पर्ने व्यवस्था भएपनि त्यसलाई वेवास्ता गर्दै गएका छन्,’ उनले चिन्ताव्यक्त गर्दै भने ।
पोखरा विश्वविद्यालय अन्तरगर्तका नर्सिङ तथा पारामेडिक्स कलेजहरुको संगठनका अध्यक्ष नवराज पाण्डे प्रवेश परीक्षाका कम नम्बर ल्याएकै आधारमा मात्र माथिल्लो कक्षा पढ्न नपाउने कुरा व्यवहारिक नहुने बताउछन् । ‘प्रवेश परिक्षामा कम नम्बर ल्याएकै आधारमा पढ्न नदिनु भनेको उचित हुँदैन,’उनी भन्छन्, ‘विद्यार्थीको इच्छाशक्ती भए पढ्न सुरु गरेपछि ४ वर्षको अवधिमा कम नम्बर ल्याउने विद्यार्थी पनि उत्कृष्ठ बनेका धेरै उदाहरण छन् ।’
कलेज सञ्चालकहरुले तत्काल पुनः परीक्षाको सम्भावना नभएको हुँदा कोटा पुरा हुने गरी यसपटकलाई परीक्षा दिइसकेका विद्यार्थीलाई नै पढ्न पाउने अवसर दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले पास मार्क घटाएर भए पनि कोटा पुरा हुने गरी विद्यार्थी संख्या उपलव्ध गराउनुपर्ने बताए ।
कलेज सञ्चालकहरुले यसअघि आयोगका अधिकारीहरुलाई भेट्दा जसरी कोटा पुरा हुने गरी विद्यार्थी उपलव्ध गराउने आस्वासन पाएको तर परीक्षाको मापदण्ड विगारेर निजी कलेजमाथि अन्याय गरेको समेत आरोप लगाए ।