वीर अस्पतालको नयाँ सर्जिकल भवनमा मात्रै कोरोना संक्रमितको उपचार हुन थालेपछि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु हुने भएको छ ।
मिर्गौला प्रत्यारोपण सेवा पुन: सुचारु गर्न मिर्गौला प्रत्यारोपण कमिटिको मंगलबार बिहान बैठक समेत बसेको थियो। सो बैठकले वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुन: सुचारु गर्ने निर्णय गरेको कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले बताए ।
डा बस्नेतका अनुसार २०७६ चैत ४ गतेसम्म वीर अस्पतालमा नियमित रुपमा मिर्गौला प्रत्यारोपण भएको थियो। त्यस्पछी देशम पहिलो पटक लकडाउन भएपछि २०७६ चैत ११ गतेबाट वीरमा प्रत्यारोपण सेवा रोकिएको थियो । किनकी वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण पछि बिरामीलाई भर्ना गर्ने ट्रान्सप्लान्ट वार्डमा डायलायसिस गर्नुपर्ने कोरोना संक्रमितलाई सेवा दिन थालिएको थियो ।
‘अहिले कोभिडको सबै सेवा सर्जिकल भवनमा सार्यौं। अब अस्पतालको पुरानो भवनमा नन-कोभिड सेवा सुरु गर्न लागेका हौ,’ डा. बस्नेतले भने, ‘नन-कोभिडका बिरामी मारमा नपरुन भनेर यस्तो निर्णय गरिएको हो ।’
कोरोना संक्रमणको पहिलो लहर कम हुँदै गएपछि अन्य अस्पतालहरुमा सेवा पुन: सुचारु भयो। तर वीर अस्पतालमा कोरोना संक्रमितकै चाप कायमै रहेकाले अस्पतालमा भने मिर्गौला प्रत्यारोपण सेवा सुचारु हुन सकेको थिएन।
मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा रहेको भन्दै प्रत्यारोपण गर्ने बिरामी तयार भएपछि प्रत्यारोपण सेवा सुरु गर्ने बताए।
मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकको टोलीमा डा. पारसमणि श्रेष्ठ, डा. अनिल श्रेष्ठ, डा. रविन बस्नेत, डा. पुकार चन्द्र श्रेष्ठ, डा. रजनी हाडा, डा. अनिल बराल लगायतका चिकित्सकहरु छन् । मिर्गौला प्रत्यारोपण गर्ने सोचमा रहेका बिरामीहरुलाई अस्पतालमा सेवा लिन आउन पनि आग्रह गरेको छ ।