-डा .परशुराम घिमिरे
ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर
काठमाडौ - स्वास्थ्यकर्मी भएपछि जस्तो विषम अवस्थामा पनि सेवा दिनको लागि तत्पर रहनु पर्छ ।अस्पताल जानु पर्छ । अहिले झन कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहेको छ । कोरोना बिरुद्धको लडाइमा स्वास्थ्यकर्मीले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्छ ।
कोरोनाको संन्त्रासमा पनि हामीले दैनिक दिने सेवा दिइरहेका छौं । अबका आगामी दिनहरुमा पनि दिइरहनेछौं । कोरोनाको प्रभाव अन्य क्षेत्रमा जस्तै अस्पतालहरुमा पनि परेको छ । बिरामीको चाप कम हुनुका साथै अस्पतालले पनि बिशेष किसिमका सेवाहरु दिन सकिरहेका छैनन्। ।
अहिले जटिल किसिमका समस्या लिएर आउने बिरामीको संख्यामा कमी आएको देखिन्छ । तर सामान्य बिरामीहरु भने अस्पताल आइरहेका छन्। । दिर्घरोगी अन्तर्गत हाइपरटेन्सन, ब्लडप्रेसरका बिरामीहरु अस्पताल आइरहेका छन । हामीले अन्य समस्या लिएर आउने बिरामीलाई आवश्यक सेवा दिइरहेका छौं । जो बिरामी अस्पताल सम्म आइपुग्न सक्दैनन । उनीहरुको लागि टेलिमेडिसिनको व्यवस्था गरेका छौं ।
चेतनाको अभाबका कारण कोरोनासँग मिल्दाजुल्दा समस्या लिएर आउने व्यक्तिहरु संक्रमण भयो कि भनेर त्रसित भएका हुन्छन् । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिने बित्तिकै कोरोना संक्रमण भएको हुँदैन । संक्रमण भएमा देखिने लक्षणसँगै अन्य घटनाहरु पनि केलाउनुपर्ने हुन्छ । जस्तै संक्रमितको ट्र्राभल हिस्ट्र्रि , उनिहरुको परिवारमा कोहि व्यक्ति विदेशबाट आएको लगायतका घटनाहरु भएमा शंका गर्न सकिन्छ । अन्यथा त्यसलाई सामान्य समस्याको रुपमा लिन सकिन्छ ।
कोहि व्यक्ति कोरोना संक्रमितको सम्पर्कमा आएमा अस्पताल जानु पर्दैन । होम क्वारेन्टाइनमा छुट्टै बस्दा हुन्छ । यसरी घरमा नै सुरक्षित भएर बस्दा एकबाट अर्को व्यक्तिमा संक्रमण सर्ने सम्भावना कम हुन्छ । एकबाट अर्को व्यक्तिमा संक्रमण सर्न नदिन सरकारले लकडाउन घोषणा र शंकास्पद व्यक्ति वा विदेशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेको हो । तर क्वारेनटाइनमा बस्ने व्यक्तिले आफुलाई थुनेर राखेको वा आफ्नो दैनिक क्रियाकलाप गर्न नदिएको भन्ने सोचाइका कारण लकडाउन उल्लंगन गर्ने वा क्वारेनटाइन बाट भाग्ने क्रियाकलाप भइरहेको छ । आफु, परिवार र समाजलाई स्वस्थ्य राख्नका लागी लकडाउनको पुर्ण पालना गर्नुको साथै शंकास्पद लक्षण देखिएका व्यक्तिहरु क्वारेनटाइनमा बस्न आवश्यक छ । स्वास्थ्य सम्बन्धि समस्या भएमा नजिकैको स्वास्थ्यसंस्थामा सम्पर्क गर्ने, चिकित्सकहरुसँग फोन बार्ता वा टेलीमेडिसिन जस्ता सेवा लिन सकिन्छ ।
म कार्यरत ओम अस्पतालमा कोरोना नियन्त्रणका लागी छुट्टै आइशोलेशन बेडको व्यवस्था गरिएको छ । कोरोना उपचारका लागी सुरुवाती चरण देखि नै ओम अस्पताल तयारी अवस्थामा रहेको छ । त्यसका साथै अन्य समस्या लिएर अस्पताल आउने बिरामीलाई पनि आवश्यकता अनुसारको सेवा प्रदान गरिहेका छौ। । सरकाले निजी अस्पताललाई कोरोनाभाइरस उपचारका लागी नतोकेता पनि अस्पतालमा भने पुर्ण तयारी अवस्थामा रहेको छ । कोरोनासँग मिल्दाजुल्दा समस्या लिएर कोहि बिरामी अस्पतालमा आएमा हामी सदा तत्पर छौं ।
र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) त्यति विश्वासिलो हुदैन त्यसैले यसलाई बढि महत्व नदिन आग्रह गर्छु । यस जाँचमा पोजेटिभ देखिए पनि पोलिमरेज चेन रियाक्सन (पिसिआर) मा नेगेटिभ देखिने गरेको छ । त्यसैले विश्वासिलो तरीका नै अपनाउनु उपयुक्त हुन्छ ।
हाल चिकित्सकहरुले प्रयोग गरिरहेको पिपिइ गुणस्तरीय छैनन् । त्यसैले स्वास्थ्यकर्मीको सुरक्षाको लागी विश्व स्वास्थ्य संगठनले र्निधारण गरेको गाइड लाइनलाई फलो गर्नुपर्छ । हाल नेपालमा आइरहेको पिपिई प्रयोगले भविष्यमाजोखिम बढ्न सक्छ । स्वास्थ्यकर्मीका व्यक्तिगत सुरक्षाका सामाग्रीमा कुनै खेलाची गर्न हुदैँन ।
क्वारेन्टाइन, आइसोलेशनमा बसेका बिरामीले आफ्नो र समाजको सुरक्षाका लागी बसिराखेको छु भन्ने सोच राख्नुपर्छ । कोरोना संक्रमणका लागी यहि उपचार गर्ने भन्ने छैन । बिरामीको लक्षण अनुसारका उपचारहरु गरिन्छ । त्यसैले रोग लाग्न नखिनु नै उत्तम उपाय हो । आफ्नो दैनिकीमा परिवर्तन आएको महशुस हुने व्यक्तिले आफुले गर्ने शारीरिक व्यायम लगायत बालबालीकालाई गृहकार्य गराउने जस्ता क्रियाकलाप गर्न सक्छन् ।
स्वास्थ्यकर्मीको आत्मबल उच्च राखेर काम गर्न सक्ने वातावरण हिजो पनि थिएन आज पनि छैन । त्यसको विकास गर्न आवश्यक छ । स्वास्थ्यकर्मी सरकारले खटाएको ठाउँमा गएर सेवा दिन कहिले पनि हिचकिचाउदैनन् । त्यसैले स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चीत सरकारले गनुपर्छ । चिकित्सकहरुमा आफु मेरेर भएपनि बिरामीलाई बचाउँछु भन्ने जुन आत्मबल हुन्छ त्यसलाई गिराउने क्रियाकलाप सरकारले गर्न हुदैँन ।
कोरोनाबाट बच्न नागरिक आफै सचेत हुनुपर्छ । त्यसैले सरकारले घोषण गरेको नियमको पालना गर्नुका साथै सरसफाईमा बिशेष ध्यान दिनुपर्छ । त्यसको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका क्रियाकलाप र खानपान गर्न आवश्यक छ