मोटोपन नियन्त्रण गर्ने धेरैले अपनाउने विकल्प हो, डाइटिङ । अर्थात उपवास । मोटोपन बढ्नुमा खाना नै जिम्मेवार छ र खानामा कटौती गरेपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने आम बुझाई छ । भलै कतिपय चिकित्सकले यसलाई सही मानिरहेका छैनन् ।
यद्यपि खानामा कटौती गर्ने वा छाक नै छाड्ने क्रम भने उस्तै छ । मोटोपनले गाँज्न थालेपछि अधिकांशले खाना छाड्ने गरेका छन् । जबकी खाना छाड्दैमा मोटोपन नियन्त्रण हुने भन्दा पनि यसले अरु स्वास्थ्य समस्या निम्त्याउने खतरा रहेको चिकित्सकहरुको भनाई छ ।
खासगरी खाना कम खान थालेपछि वा खाना नै छाडेपछि सबैभन्दा पहिले त शरीरलाई आवश्यक पोषणको अभाव हुन थाल्छ । शरीरमा पोषक तत्वको कमी भएपछि कमजोरी महसुष हुन्छ । पेटको दुखाई हुन्छ । महिलामा मासिक स्राव रोकिने वा अनियमित हुने समस्या हुन्छ । खाना छाडेपछि शरीरले केही त्यस्ता संकेत दिन्छ, जुन गलत डाइटिङको कारण हुँदैछ ।
एसिडिटी
डाइटिङका क्रममा मान्छेले खाना छाड्छन् वा कम्ती खाने गर्छन् । यसले गर्दा पेटमा ग्याष्ट्रिक हुने वा पेट दुख्ने समस्या सुरु हुन्छ । यसले के संकेत गर्छ भने, तपाईंको शरीरलाई सही मात्रामा खाना पुगिरहेको छैन ।
बेचैनी
डाइटिङ गरिरहँदा हामीलाई भोक अनुभव पनि हुन्छ । खानेकुराको तलतल लागिरहन्छ । यसले गर्दा हामीमा एक किसिमको वेचैनी हुन्छ ।
एकै पटकमा धेरै खाने
डाइटिङ गर्नेहरुले अक्सर के गल्ती गर्छन् भने लामो समय भोकै रहन्छन् । जब खाना खान्छन्, तब आवश्यक्ताभन्दा निकै बढी खाइदिन्छन् । एकै पटकमा धेरै खाना खाइदिन्छन् । यसले मोटोपन नियन्त्रण हुने भन्दा पनि बढ्ने जोखिम हुन्छ ।
पोषक तत्वको कमी
डाइटिङ गर्नु भनेको खाना छाड्नु होइन । बरु, सन्तुलित र उचित मात्रामा खानु हो । जब डाइटिङको चक्करमा खाना छाड्छौं, शरीरमा आवश्यक पोषक तत्व कमी हुन्छ । आफ्नो शारीरिक गतिविधि अनुसार पनि उचित मात्रामा खाना खानुपर्ने हुन्छ । खानाको मात्रा कम भएमा मोटोपन नियन्त्रण हुने भन्दा पनि शरीर रोगी हुन्छ ।
डाइटिङले शरीरलाई कस्ता कस्ता हानीगर्न सक्छन् ??
अनियमित मासिक स्राव
डाइटिङको क्रममा शरीरको मेटाबोलिज्म कम हुन्छ, जसले शरीरमा हर्मोन परिवर्तन हुन्छ । यसले महिलामा अनियमित मासिक स्रावको समस्या बढ्छ । यदि यस्तो संकेत देखिएमा डाइटिङ बन्द गर्नुपर्छ ।
कमजोर मांसपेशी
डाइटिङको हाम्रो मांसपेशीमा पनि नकारात्मक असर परेको हुन्छ । दि अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित एक रिपोर्ट अनुसार युनिभर्सिटी अफ किलका अनुसन्धानकर्ताले ३२ स्वस्थ मानिसहरुलाई छाने र उनीहरुको डाइटबाट तीन हप्ताका लागि औसतमा १३ सय क्यालोरी कम गरिदिए । विज्ञले मांसपेशीमा कमी आएका कारण उनीहरुको तौल बढ्न थालेको देखे ।
पत्थरीको समस्या
डाइटका कारण हुने न्यूट्रिशनको कमीका कारण शरीरका विभिन्न अंगमा नकारात्मक असर पर्छ । हेल्थ एण्ड वेलनेस कोच एश्ली वेन बसकिर्कका अनुसार केही खानेकुरामा पानीको मात्रा अत्यधिक हुन्छ । जब हामी डाइटबाट यस्ता खानेकुरा निकाल्छौं तब डिहाइड्रेशनको जोखिम बढ्न सक्छ । डिहाइड्रेशन भएपछि मानिसहरुको मृगौलामा पत्थरीको समस्या आउन सक्छ ।
हड्डी कमजोर
विज्ञका अनुसार यदि बढ्दो उमेरमा मानिसहरु इन्टरमिटेन्ट फास्टिङ गर्छन् भने उनीहरुको तौल अत्यधिक घट्न सक्छ । यदि तपाईं पहिले देखि नै कम तौलको हुनुहुन्छ भने समस्या थप बढ्न सक्छ र ब्रिघममा डिपार्टमेन्ट अफ न्यूट्रिशनको रिजनल डायरेक्टर क्याथी मेक्नसका अनुसार यस्तो गर्नु तपाईंको प्रतिरोधी क्षमता र हड्डी दुबैका लागि खतरनाक हुनसक्छ ।
कपाल झर्ने
‘डर्मटलोजी प्रेक्टिल एण्ड कन्सेप्चुअल’ मा प्रकाशित एक रिपोर्टका अनुसार लो क्यालोरी डाइटले हाम्रो कपाल झर्ने समस्यासँग पनि सम्बन्धित हुन्छ । शरीरमा पौष्टिक तत्वको कमीका कारण यस्तो हुन्छ । पोषक तत्वको कमीले कपालको बनावटमा नराम्रो असर पर्छ र यो बढ्न पनि सक्दैन ।
थकान
यदि तपाईं कम खानुहुन्छ भने शरीरले कम क्यालोरी बर्न गर्नुपर्ने हुन्छ । फलस्वरुपः तपाईं धेरै सुस्त महसुस गर्नु हुनेछ । एनल्स अफ इन्टरनल मेडिसिनको एक रिपोर्ट अनुसार डाइटबाट कार्बोहाइड्रेट कम गर्दा थकाई लाग्ने गर्छ । किटोजेनिक डाइटमा आधारित जर्नल अफ द अमेरिकन डायटिक असोसिएशनको एक रिपोर्ट अनुसार लो कार्बोहाइड्रेट डाइटले शरीरको इनर्जी लेभल कम हुन्छ र मानिसहरुलाई चाँडै नै थकाई लागेको महसुस हुन्छ ।
बिरामी हुने खतरा
यदि तपाईं तौल घटाउनका लागि इन्टरमिटेन्ट फास्टिङ अर्थात् हप्तामा केही दिन लामो समससम्म भोको बस्नुहुन्छ भने यो तपाईंको लागि खतरनाक हुनसक्छ । यसको साइड इफेक्ट तपाईंको फास्टिङ पिरियडमा निर्भर हुन्छ । हार्वर्ड मेडिकल स्कूलका विशेषज्ञका अनुसार यसले मानिसहरुलाई टाउको दुख्ने, अल्छी बनाउने, कब्जियत र पेटसम्बन्धि रोग निम्त्याउन सक्छ ।
इटिङ डिसअर्डर
शरीरको आवश्यकतालाई नबुझिकन डाइटिङ गर्दा मानिसहरुको इटिङ डिसअर्डरको पनि शिकार हुनसक्छन् । युनिभिर्सिटी अफ सिनसिनाटीमा इटिङ डिसअर्डर प्रोग्रामसँग जोडिएकी एना गएर्जीकोवका अनुसार यस्तो समस्याले पछि गएर तनाव वा डिप्रेशन पनि निम्त्याउन सक्छ । त्यसैले आफ्नो खानामा पोषक तत्वबारे सधैं विचार गर्नुहोस् ।
एजन्सीको सहयोगमा