न्यूजील्यान्डमा फाइजरको कोभिड खोप लिएपछि एक महिलाको मृत्यु भएको विवरण आएको छ। उक्त घटनालाई फाइजर कोभिड खोपसँग सम्बन्धित पहिलो मृत्यु मानिएको छ।
एउटा स्वतन्त्र खोप सुरक्षा अनुगमन समूहले सम्भवतः फाइजर खोपका "मायोकार्डाइटिस" अर्थात् मुटुको मांसपेशीको सुजन भएर ती महिलाको मृत्यु भएको हुनसक्छ। त्यस्तो अवस्थालाई दुर्लभ दुष्प्रभावका मानिन्छ।
तर उक्त समूहले ती महिलामा "पहिलेदेखि विद्यमान स्वास्थ्य समस्याहरूले खोप लिएपछिको अवस्थामा असर पारेको हुनसक्ने" जनाएको छ।
मृत्युको आधिकारिक कारण भने अहिलेसम्म निर्क्योल गरिएको छैन।
तर कोभिड-१९ भ्याक्सीन इन्डिपेन्डन्ट सेफ्टी मनिटरिङ बोर्डले मुटुमा उत्पन्न समस्या "खोपका कारण उत्पन्न भएको हुनसक्ने" बताएको छ।
"खोप लगाएको केही दिनमा मृत्यु भएको यो घटना न्यूजील्यान्डमा फाइजरको कोभिड-१९ खोपसँग सम्बन्धित पहिलो मृत्युको घटना हो। खोप लगाएको केही दिनभित्र मृत्यु भएका अरू केही घटनाबारे हामीलाई विवरण प्राप्त भए पनि अन्य घटना खोपसँग सम्बन्धित भएको मानिएको थिएन," बोर्डले एउटा विज्ञप्तिमा भनेको छ।
ती महिलाको मृत्युबारे अध्ययन भइरहेको छ। शवपरीक्षणबाट मृत्युको कारण निर्क्योल हुन बाँकी छ।
महिलाको उमेर तथा अन्य विवरण सार्वजनिक गरिएको छैन।
'दुर्लभ दुष्प्रभाव'
युरोपेली नियामक निकायले मुटुको सुजनलाई फाइजर र मोडेर्नाका कोभिड खोपको दुर्लभ "साइड इफेक्ट" अर्थात् दुष्प्रभाव मानेको छ।
युरोपियन मेडिसिन्स एजेन्सीका अनुसार त्यस्तो दुष्प्रभाव कम उमेरका पुरुषमा देखिएको छ।
तर एजेन्सीले खोपको फाइदा यसको कुनै पनि जोखिमभन्दा धेरै भएको र त्यसले मानिसहरूलाई कोभिड-१९ का कारण गम्भीर बिरामी हुनबाट रोक्ने बताउँछ।
सोमवार न्यूजील्यान्डका अधिकारीहरूले देशमा खोप प्रयोग कायम राख्ने कुरामा आफूहरू विश्वस्त भएको बताएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार न्यूजील्यान्डमा अहिलेसम्म ३,४६५ जनामा सङ्क्रमण भएको छ भने २६ जनाको मृत्यु भएको छ।
सुरुमा कोरोनाभाइरस रोक्न सफल भएकोमा प्रशंसा पाएको न्यूजील्यान्डले खोप कार्यक्रममा ढिलाइ गरेकोमा आलोचना भएको थियो।
हालैका दिनमा भने त्यहाँ खोप कार्यक्रमलाई तीव्र पारिएको छ।
अहिलेसम्म त्यहाँ ३० लाख जनाभन्दा बढीलाई खोप लगाइएको छ। त्यहाँको जनसङ्ख्याको २३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्।
डेल्टा भेरिअन्टका कारण अहिले न्यूजिल्यान्डमा सङ्क्रमण बढेको र त्यहाँको धेरै भागमा लकडाउन गरिएको छ।
अहिले ५० लाख जनसङ्ख्या भएको त्यहाँ ५६० जना सक्रिय सङ्क्रमित छन्।
अकल्यान्डमा बाहेक अन्य सहरमा मङ्गलवारदेखि लकडाउन खुकुलो हुँदै छ।
के डेल्टा भेरिअन्ट बढी जोखिमपूर्ण हो?
ठूलो सङ्ख्यामा सङ्क्रमितहरू गम्भीर बिरामी हुनुको कारण डेल्टा या कोरोनाभाइरसको अन्य कुनै भेरिअन्ट हो भन्ने यथेष्ट प्रमाण छैन।
तर भाइरसको पहिलो संस्करणको जोखिम भने वृद्धवृद्धा र दीर्घकालीन स्वास्थ्य समस्या भएकाहरूमा बढी रहन्छ।
तर पनि यदि कुनै भेरिअन्ट बढी सङ्क्रामक छ भने त्यसले हालसम्म कोभिड-१९ विरुद्ध खोप नलगाएको जनसङ्ख्याको मृत्युदर बढाउने देखिन्छ।
खोपहरूले कोभिड-१९ सँगै देखिने गम्भीर रोगहरूविरुद्ध र चिन्ताको भेरिअन्टका कारण हुने सङ्क्रमणविरुद्ध उच्च सुरक्षा प्रदान गर्छन्।
खोपले सङ्क्रमणको जोखिमलाई पनि कम गर्छ तर सङ्क्रमणलाई शतप्रतिशत रोक्ने काम भने गर्दैन।
भाइरसका विभिन्न प्रकार देखिए पनि सङ्क्रमणको जोखिमबाट बच्ने उपाय भनेको हात धुनु, दूरी कायम राख्नु, मुख छोप्नु र हावाको बहावबारे सतर्क रहनु नै हो।