तपाईंले आफ्नो सामाग्रीहरु राख्नु भएको ठाउँमा बिर्सनु त भाको छैन ?? तपाईंलाई बिर्सिने समस्या कत्तिको छ ? चिनेको मानिस अगाडि आएर नमस्ते भनिसक्यो नाम नै याद नहुने, खल्तीमा चश्मा राखेर घरभरि खोज्याखोज्यै, हराउँछ भनेर जतनले राखेको चिज खोजेको बेला नभेटिने अनुभव कत्तिको गर्नुभा छ ? यस्तो समस्या धेरैलाई हुन्छ । बुढेसकाल लागेपछि बढ्दै जान्छ । कसैलाई कम, कसैलाई अलि बढी, जुन सामान्य नै हो । तर स्मृति गुमाउनु (बिर्सिने समस्या) भनेको बुढेसकालको अपरिहार्य अंश भने पकै होईन।
सामान्यतया बिर्सिनुपर्ने महत्वहीन कुराहरु बिर्सिनु प्राकृतिक प्रक्रिया हो भने जरुरी सूचनाहरु नै बिर्सिन थालेपछिचाहिँ यसलाई रोग नै मान्नुपर्ने हुन्छ । बिर्सिने समस्या डिमेन्सिया नामक रोगका कारणले पनि हुन्छ । तर डिमेन्सिया भनेको बिर्सिने समस्या मात्र होइन, बिर्सिनु त एउटा मुख्य लक्षण मात्र हो । डिमेन्सियामा मानिसको सुझबुझ हराउने, बिर्सिने, कमन सेन्स हराउने, विषय–परिस्थितिलाई सही आँकलन गर्न नसक्ने र यसले गर्दा व्यवहार, क्रियाकलाप बदलिएर दैनिक गतिविधि गर्न मुस्किल पर्ने हुन्छ । कुरा नबुझ्ने, दुई–तीनवटा कुरा जोडेर निष्कर्ष निकाल्न नसक्ने, सीप हराउने, भाषा कमजोर हुँदै जाने, निर्णय क्षमता क्षीण हुने हुन्छ । वास्तवमा मस्तिष्क अक्षम हुन्छ र यसले व्यक्तिलाई जीवन जिउन सघाउँदैन ।
अल्जाइमर भनेको के हो?
सबै भन्दा पहिला हामीले डिमेन्सिया के हो र अल्जाइमर के हो भनेर बुझ्न आवश्यक छ। डिमेन्सिया भनेको एक प्रकारको बिर्सिने रोग हो। सामान्यतया हामी कहिलेकाहिँ मोबाइल, लेख्दै गरेको कलम, चस्मा कहाँ राख्यौँ हो यो बिर्सिनुलाई बिर्सिने रोगको संज्ञा दिन मिल्दैन।
कुनै पनि व्यक्तिले यसरी बिर्सिनु पर्यो कि आफ्नो छेउमा बसिरहेकी महिला मेरी श्रीमती हुन् वा आफ्नै आगाडिका सन्तानलाई नै बिर्सिदिने जस्ता यस्ता खालका बिर्साइले गर्दा उनीहरुको जीवनयापनमा नै कठिन हुँदै गयो त्यसलाई डिमेन्सिया भन्छौँ।
यदि एक सय जना डिमेन्सिया भएका बिरामीलाई हेर्ने हो भने त्यस भित्रका ६०–७० प्रतिशत कारण अल्जाइमरको कारणले भएको हुनाले त्यसलाई हामी अल्जाइमर डिमेन्सिया भन्ने गर्छौँ ।
अल्जाइमर डिमेन्सिया ब्रेनको कोषिकामा कपालको लट्टा जस्तै एक प्रकारको खराब प्रोटिन जम्मा हुन्छ। त्यही खराब प्रोटिनले गर्दा लाखौँ कोषिका क्रमिक रुपमा ध्वस्त हुँदै जान्छन् र अन्ततः त्यो ब्रेनले काम गर्न छोड्छ। त्यसलाई आमी अल्जाइमर डिमेन्सिया भन्ने गर्छौँ।
किन हुन्छ अल्जाइमर्स ?
हाम्रो समुदायमा स्वास्थ्य समस्याको रुपमा देखिएको अल्जाइमर्स (डिमेन्सिया) के कारणले हुन्छ त ? ‘अल्जाइमर्स गराउने मुख्य कारक तत्वमा पहिलो त उमेर नै हो । आयुसँगै रोग बढ्दै जान्छ । ६५ वर्ष पुगेको करिब ५ प्रतिशत जनसंख्यालाई अल्जाइमर्स हुन्छ । ७५ वर्ष पुगेपछि १५ प्रतिशतलाई, ९० वर्ष पुगेपछि ३० प्रतिशतलाई हुन्छ भने १०० वर्ष काटेकाहरुमध्ये ५० प्रतिशतलाई अल्जाइमर्स भएको पाइन्छ ।’
‘डिमेन्सियाको मूल कारण जैविक अर्थात् वंशाणुगत नै हो । आमातिर, बुबातिर कसैलाई भएको इतिहास छ भने यो रोग हुने सम्भावना हुन्छ । त्यसमा पनि कडा खालको छ भने छिट्टै निस्किन्छ । कोलम्बियाको कुनै गाउँमा एउटा ठूलै वंश परिवार छ, जहाँ ४५ वर्ष पुगेका सबै महिलालाई र ५० वर्ष पुगेका जति सबै पुरुषलाई अल्जाइमर्स भएको छ । यो एउटै सशक्त जिनका कारण भएको हो । त्यो ठाउँ अहिले धेरैको औषधि अनुसन्धान गर्ने थलो भएको छ । यो निकै सशक्त वंशाणुगत समस्या हो । डिमेन्सिया त्यो भन्दा केही मध्यम खालको पनि हुन्छ । यसमा चार–पाँचवटा जिनको मुख्य भूमिका हुन्छ । यी जिन पनि कडै मानिन्छन् । यसबाहेक आममानिसमा हुने अल्जाइमर्समा करिब १०० वटा जिनहरु जिम्मेवार भएको मानिन्छ ।’
डिमेन्सियाका कारणहरु विविध हुन्छन् । एउटा कारणचाहिँ बेहोस गरेर अपरेसन गराउँदा प्रयोग गरिने एनेस्थेसिया पनि हो, जुन धेरै प्रयोग गरियो भने यो समस्या हुनसक्छ । यसले पनि मस्तिष्कमा क्षति पुग्छ र डिमेन्सिया हुन सघाउ पुर्याउँछ । यस्तै गरी मस्तिष्कलाई असर गर्ने खालका सुगर, प्रेसर, कोलेस्ट्रोल बढी छ भने पनि डिमेन्सिया हुने सम्भावना बढाउँछ । मस्तिष्कलाई प्रतिकूल असर पार्ने चोटपटक, मेनिन्जाइटिस, इन्सेफ्लाइटिसजस्ता संक्रमण हुने कारणले पनि डिमेन्सिया हुन्छ । अस्वस्थ खाना, लागूपदार्थ, धूमपान, मदिराको नियमित सेवनले पनि डिमेन्सिया हुन सहयोग गर्छ । यी नै मुख्य कारणले डिमेन्सिया हुने होइन तर उमेर, वंशाणुगत अवस्था आदि कारणले वातावरण बनाइरहेको स्थितिमा यी कुराहरुले डिमेन्सिया हुन उत्प्रेरित गर्छन् र रोग चाँडो निकाल्छन् । डिप्रेनसका कारण पनि डिमेन्सियाको जस्तो लक्षण देखिन सक्छ । लक्षणका रुपमा आएको योे समस्याचाहिँ उक्त मानसिक रोग निको भयो भने यो पनि निको हुन्छ
उपचार तथा रोकथाम
डिमेन्सियाको उपचार तथा रोकथामका लागि धेरै अनुसन्धान र क्लिनिकल ट्रायलहरु भइरहे पनि हाल कुनै भ्याक्सिन तथा उपचार उपलब्ध छैन । अध्ययनहरुले देखाएअनुसार नियमित एक्सरसाइज गरेर, धूमपान नगरेर, अल्कोहलको हानिकारक प्रयोग नगरेर, तौल नियन्त्रण गरेर, सन्तुलित आहार खाएर, रक्तचाप, कोलेस्ट्रोल र ब्लड सुगर नियन्त्रण गरेर, डिप्रेसनजस्ता मानसिक रोग नियन्त्रण तथा मानसिक तनाव न्यूनीकरण गरेर मानिसहरुले डिमेन्सियाको जोखिमलाई केही कम गर्न अर्थात् अलि ढिलो मात्र लाग्ने गराउन सक्छन् ।
यो रोगलाई वंशाणुगत रोग भन्न मिल्छ?
पछिल्लो अनुसन्धानले के देखाइरहेको छ भने यति प्रतिशत भन्ने नभएता पनि यदि परिवारमा कसैलाई अल्जाइमर भएको समस्या छ भने उनीहरुको सन्तानलाई अन्य व्यक्तिको तुलनामा अल्जाइमर हुने सम्भावना बढी हुन्छ ।