काठमाडौं- थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नभएको अस्पतालले बताएको छ। आज अस्पताल परिसरमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निशाको स्वास्थ्य अवस्थामा उद्धार गरिएको ३ महिनासम्म पनि अपेक्षित सुधार हुन नसकेको जानकारी पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कर्पोरेट कम्युनिकेसन अफिसर सोमनाथ बास्तोलाले बताए।
अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ "निशाको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ । तर, पनि स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन । अहिले कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर छ ।"
नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले केही समाजसेवीहरुको सहयोग लिएर जेठ २७ गते निशाको उद्धार गरि नर्भिक अस्पतालमा उपचार सुरु गराएकी थिइन् । हालसम्म निशाको उपचारका लागि ५० लाख बढी खर्च भएको समेत जानकारी दिएको छ । नर्भिकले निशाको उपचारका लागि बाहिरी सहयोगको आवश्यकता नपर्ने बताउँदै सहयोग रकम संकलन नगर्न पनि अनुरोध गरेको छ ।
निशाको स्वास्थ्य अवस्थाको लागि सबै खालको विकल्पको बिषयमा समेत सोच्नुपर्ने अवस्था आएको अस्पतालले जानकारी दिएको छ । निशाको स्वास्थ्य अवस्था स्थिर नै रहने हो भने एक राम्रो रिहाब सेन्टरको आवश्यकता पर्ने समेत नर्भिक अस्पतालले जनाएको छ ।
तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारत गएकी थिइन्। त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन्। दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो। तर, त्यहाँको अस्पतालको उपचार महँगो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए।
काठमाडौँमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो। तर, उनको अवस्थामा सुधार हुन सकेन। त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो।
नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि निशा अचेत अवस्थामा घरमै थिइन् । निशाको तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उनको उपचार निःशुल्क रुपमा सुरु गरेकी थिइन् ।