सहवास अर्थात् सँगै बस्नु । सन्तान जन्माउने उद्देश्यले विपरीत लिंगीहरू सँगै बस्नु नै वास्तविक अर्थमा सहवास हो । प्राचीन समयमा प्रचलित नियमअनुसार सहवासबाट वंशवृद्धि, साहचर्य सुख, मानसिक परिपक्वता, दीर्घायु तथा मानसिक एवं शारीरिक स्वास्थ्य वा सुख हासिल गर्न सकिन्छ । मानिसले नियमहरूमा बाँधिएर सहवास गरेको खण्डमा ऊ संस्कारी हुन्छ र विभिन्न बाधाव्यवधानहरूबाट मुक्त रहनसक्छ । पशुवत सहवासबाट जीवन नष्ट हुन्छ । झन् हिजोआज त मानिसको सहवास पशुको भन्दा पनि निकृष्ट तहमा पुगेको छ । सहवासमा सदाचारको अभाव छ, नियम एवं लज्जाको मर्यादा लत्याइएको छ ।
प्राचीन कालमा दम्पति हिजोआजजस्तो हरेक रात सहवासमा लिप्त रहँदैनथे । उनीहरूको सहवास सन्तानप्राप्तिको उद्देश्यले हुन्थ्यो । शुभ दिन एवं मुहूर्त हेरेर विधिपूर्वक सम्भोग गरी योग्य सन्तान जन्माउने प्रयास गरिन्थ्यो ।
यो अर्थलाई मनन गर्ने सन्दर्भमा अहिलेको समाजमा ह्रास आएको र आध्यात्मिक, नैतिक पक्षभन्दा भौतिक अनि कानुनी पक्ष हाबी भएको पाइन्छ । वर्तमान समयमा सम्भोग सन्तानप्राप्तिको उद्देश्यले मात्र गरिँदैन, अनुशासन पालना गरिँदैन, केवल क्षणिक दैहिक सुखको मात्र ध्यान राखिन्छ ।
सहवासलाई सामान्यरुपमा लिँदा साथसाथै बस्ने वा साथसाथै उठबस गर्ने भन्ने बुझिन्छ । तर यसको अर्थ हाम्रो समाजमा यौनसम्पर्क राख्नु पनि हुन्छ । सामाजिक वा कानुनी विवाह गर्नुभन्दा पहिले नै महिला र पुरुषको जोडी एकैसाथ बस्नुलाई नै हामी विवाहपूर्वको सहवास भन्न सक्छौं । अहिले
चल्तीमा अंग्रेजीमा लिभिङ टुगेदर (living together) शब्दको प्रयोग भएको पाइन्छ । नेपालमा यो अझै पनि कमै मात्र चलनमा भए पनि बिस्तारै बढ्दोरुपमा छ ।अविवाहित पुरुष र महिला, पति र पत्नी झैं एउटै निवासमा बस्ने गरेको अवस्थालाई लिभिङ टुगेदर भनिन्छ । नेपालमा महिला र पुरुष एकै ठाउँमा यसरी बस्नु कानुनी, सामाजिक र नैतिक दृष्टिकोणबाट समेत उपयुक्त मानिंदैन । यस्तो सम्बन्ध अमर्यादित र अशोभनीय हुन्छ । नेपालमा मागी विवाह, भागी विवाह वा गान्धर्व विवाह वा त्यत्तिकै पनि मन मिल्ने युवा युवती लोग्ने स्वास्नीको रुपमा समाजमा बस्ने गरेको हामीले देखेका छौं । कालान्तरमा समाजले स्वाभाविक रुपमा त्यसलाई मान्यता पनि दिन्छ, तर लिभिङ टुगेदरमा साथी साथीको रुपमा खुला समाजलाई छली पुरुष र महिलासँगै बस्ने चलनलाई अहिलेसम्म नेपाली समाजले स्विकार्न सकेको छैन ।
सहवास किन ?
सम्भोगबाट बढि भन्दा बढि आनन्द प्राप्त गर्नका लागि महिला र पुरुष दुबैले गर्ने गर्छन् । पुरुषहरु सहवासका मामिलामा बढि इखालु हुन्छन् भनिन्छ । आफु संसारकै सबैभन्दा शक्तिवान तथा आफ्नो सहवास दुनियाकै सबैभन्दा दमदार भन्ने दम्भ धेरै पुरुषमा हुने मनोविज्ञहरु बताउँछन् ।
सहवासमा किन बस्न लागेको हो भनेर अहिलेको अल्पकालीन आवश्यकताको आधारमा मात्रै होइन दीर्घकालीन लक्ष्यमा पनि स्पष्ट हुनुपर्दछ । अहिले विवाहभन्दा पहिले नै यौन आनन्द लिने तथा आर्थिक सहजताको लागि सहवासको निर्णय गरिएको हुनसक्छ ।
दीर्घकालीन लक्ष्यको बारेमा पनि सोच्नुपर्दछ । विशेष गरी सम्बन्धमा दुवैको प्रतिबद्धता के–कस्तो छ भन्ने महत्वपूर्ण हुन्छ । पछि विवाह गर्ने?नगर्ने, विवाहपूर्व नै सन्तान जन्माउने वा नजन्माउने र त्यसले ल्याउने सामाजिक वा कानुनी समस्या कसरी सामना गर्ने ?
सन्तान जन्मेपछि हुर्काउने जिम्मा कसले लिने ? पछि कारणवश सम्बन्धले निरन्तरता नपाएमा के गर्ने भन्ने पनि राम्ररी विचार गर्नुपर्दछ ।
यौन जीवन
भने पनि नभने पनि सहवासको एक उद्देश्य यौनसुख प्राप्त गर्ने हुन्छ नै । यसलाई सुखमय बनाउन दुवैको जिम्मेवारी चाहिन्छ नै । यसलाई सुखमय राख्न दुवैले केही कुरामा विचार गर्नु बेस हुन्छ ।
यौनसम्बन्धी मूल्य मान्यताको कारणले महिलामा बढी तनाव हुने स्थिति हुन्छ । यस्तो बेलामा तनावको व्यवस्थापन तपाईंहरूको यौन जीवनको लागि आवश्यक हुन्छ । यौनमा नौलोपन ल्याउन सकेमा यौन जीवनमा ऊर्जा मिलिरहन्छ । अर्को कुरा, पुरुष हो वा महिला हरदम यौनसम्पर्कको लागि तयार नहुन सक्छन् भन्ने कुरालाई बुझ्नुपर्दछ । पहिले थोरै समयको लागि भेटघाट गर्दा त्यस्तो नलागे पनि साथै बस्न थालेपछि यो स्पष्ट हुन्छ । यौनसम्पर्क राख्नमा हरदम रुचि नदेखाउनुलाई अन्यथा अर्थ लगाउनुहुँदैन ।
नियमित यौनसम्पर्क हुने स्थितिमा गर्भधारणको सम्भावना निकै नै हुन्छ । त्यस्तो अवस्थामा गर्भनिरोधको उपाय अपनाउन बेस हुन्छ । नचाहेको गर्भ रहेमा तपाईंले चाहेको जीवनको लक्ष्य नै प्रभावित हुनसक्छ । प्रभावकारी तथा आफूलाई उपयुक्त गर्भ निरोधका उपाय अपनाउनुका लागी नजिकको स्वास्थ्य केन्द्रमा परामर्श तथा सेवाको निम्ति सम्पर्क गर्न सक्नुहुन्छ ।
सहवासका फाइदा के होलान् ?
यसका फाइदाहरूमध्ये एक–अर्कालाई राम्ररी चिन्ने–बुझ्ने मौका दिन्छ, जसबाट म यो व्यक्तिसँग जीवन बिताउन सक्छु कि सक्दिन भन्ने निर्णय लिन सहज हुन्छ । एक्लै बस्दाको भन्दा यसरी सहवासमा बस्दा विवाहित जीवनको दैनिकी कस्तो होला भन्ने एक झलक प्राप्त गर्न सकिन्छ । एक्लै बस्दा सबै दैनिक कार्य एक्लैले गर्नुपर्ने हुन्छ भने सँगै बस्दा बाँडेर गर्न मिल्छ । कतिपय निर्णय गर्दा सरसल्लाह तथा विचार विमर्श गर्ने अवसर पनि राम्ररी मिल्छ । अनि तपाईंले सोच्नुभएजस्तै आर्थिक भार पनि एक हदसम्म कम हुने गर्दछ ।
सहवासका बेफाइदा के होलान् ?
शुरुमा सम्बन्धको सन्दर्भमा कतिपयले पछि विवाह गर्ने उद्देश्यले सहवास थाले पनि यौनसुखलगायत विवाहपछि प्राप्त हुने कुरा पहिले नै पाइने हुनाले कतिपयलाई विवाह नै नगर्ने सोच पनि आउन सक्छ । यसले गर्दा विवाह नै नगरिने स्थिति पनि आउन सक्छ । यस्तो सहवासको लचिलो अवस्थामा अभ्यस्त भइसकेको जोडीमा विवाहपछि पारपाचुके तुलनात्मकरुपमा बढी हुने स्थिति देखिएको छ । विवाह गरेको अवस्थाभन्दा यसरी साथै बस्ने गर्दा दीर्घकालीन प्रतिबद्धता विवाह भएको स्थितिभन्दा कम हुने देखिएको छ ।
के–कस्ता कुरामा विचार पुर्याउनुपर्ला ?
निम्न केही कुरामा विचार पुर्याउन सकेमा सहवासको जीवन केही सहज बनाउन मद्दत मिल्न सक्छ ।
सहवासको कारणको बारेमा राम्ररी दुवैजना स्पष्ट हुनुपर्दछ । यो आर्थिक, सम्बन्ध वा अन्य कारण के हो भन्ने सन्दर्भमा स्पष्ट हुन दुवैबाट खुलेर कुराकानी गरिनुपर्दछ । यी निर्णय हल्कारुपमा नभई गम्भीररुपमा लिइनुपर्दछ ।
एक–अर्काको अपेक्षाका बारेमा पनि राम्ररी बुझ्नुपर्दछ । सँगै बस्ने चाहना हाबी हुँदा जीवनका अरु पक्ष र अपेक्षाको बारेमा ध्यान नदिने स्थिति आउन सक्छ, जसले पछि अप्ठ्यारो पर्न सक्छ । त्यसैले सहवासमा आफ्ना के–कस्ता अपेक्षा छन् भन्ने खुलेर भन्नुपर्दछ । आफ्नो प्रेमी वा साथीको अपेक्षामा पनि सुन्नुपर्दछ ।
एजन्सीको सहयोगमा