महिला र पुरुष बीचको भिन्नताको आधार शरीर संरचना हो । साथै सहनशीलता र संवेदनशीलता पुरुषको तुलनामा नारीमा बढी हुने कुरा विज्ञानले पनि प्रमाणित गरिसकेको छ । यही शारीरिक र मानसिक भिन्नताका कारण हाम्रो समाजमा पुरुषको तुलनामा महिलाहरू बढी रोगी देखिन्छन् । महिलाहरू रोगी हुनुको अर्को कारण भने महिला-मैत्री वातावरणको अभाव तथा पितृसत्तात्मक सामाजिक संरचनामा पोषित महिलाहरूको अति आदर्श र अत्यधिक सहनशीलता पनि हो ।
महिला र पुरुषमा फरक प्रजनन अंग हुन्छ। यसले नै महिलालाई विशिष्ट बनाउँछ। कतिपय रोग यस्ता छन् जुन रोग पुरुषलाई लाग्छ तर महिलालाई लाग्दैन।
महिला स्वास्थ्य सम्बन्धमा पनि यही मानसिकता सक्रिय देखिन्छ ।विभिन्न अवस्थामा हुने हर्मोनको घटबढ, रजस्वला तथा प्रसूति अवस्थाका कारण महिलाको शारीरिक अवस्था बढी संवेदनशील हुन्छ । यसमा उनीहरूलाई उचित आहारविहार तथा आरामको आवश्यकता पर्छ । सन्तुलित आहारको अभावका कारण महिलाहरूमा प्रायः रक्तअल्पता तथा निम्न रक्तचापजस्ता समस्याहरू देखिन्छन् भने सामान्यतया पाठेघर तथा ग्यास्टि्रकसम्बन्धी रोगले महिला पीडित देखिन्छन् । साथै उमेर ढल्केका महिलाहरू बाथ, हाडजोर्नी, नसासम्बन्धी रोगले ग्रसित देखिन्छन् । ग्रामीण तथा अशिक्षित महिलाहरूमा पाठेघर झर्ने समस्या बढी देखिन्छ ।
पाठेघर,युटर्स,ओभरी,जेनिटेलिया र यौनांग महिलाका यस्ता अंग हुन् जसको विकास पेटमा भएदेखि नै हुन्छ। यसैले महिलालाई लाग्ने रोगहरू पेटमा भ्रुण अवस्थाबाटै पनि लाग्न सक्छ। तर यो भनेको एकदमै कम हुने कुरा हो।
जब छोरी जन्मिन्छ त्यसपछि शरीरको विकासक्रममा केही असर देखिन सक्छ। ५ लाख महिलामा १ जनाको पाठेघरको विकास भएको हुँदैन। ५० हजारमा १ जनाको योनीकै विकास भएको हुँदैन। यो समस्या कुरा हो।
यो समस्या पनि समयमै पत्ता लाग्यो भने यसको उपचार सरल हुनसक्छ। एक्स एक्स क्रोमोजोमले महिला र एक्स वाइ क्रोमोजोमले पुरुष बन्छ। एक्स,एक्स क्रोमोजमको कारणले पनि रोग लाग्न सक्छन् तर यो अवस्था भनेको निकै कम हो। त्यसैले यसबारेमा धेरै चर्चा गरिरहन परेन।
महिनावारी भन्दा पहिला सामान्यत दुवैलाई लाग्ने रोगका प्रकृति एउटै हुन्छ। तर जब केटीको महिनावारी हुने समय आउँछ,त्यो बेलामा उसको मानसिक परिवर्तन हुन्छ,धेरै तनावपूर्ण अवस्था आउँछ।
१० देखि १८ वर्षको उमेरमा महिलामा धेरै समस्या आउन सक्छ। महिनावारीको समयमा धेरैलाई हुने समस्या भनेको रक्तश्राव बढी हुने र महिनावारी गडबढी हुने हो। यो कुराको जनचेतना निकै कम छ।
अहिले ९ वर्षमै पनि महिनावारी हुन थालेको छ। योसँग सम्बन्धित समस्याहरू छन्। कसैको धेरै रगत जाने हुन्छ,जसले गर्दा रक्तअल्पता हुन्छ। यहीबेलामा बच्चाहरूले धेरै खाना नखाइदिने,स्कुलको समय नमिल्ने,आमाबाले दिएको खाना नखाइदिने र जंकफुड खाइदिने समस्या छ।
यो बेलामा खाना पर्याप्त नखाँदा रक्तअल्पता देखिने हुन्छ। यो यस्तो रोग हो,उसको हरेक क्षमतालाई ह्रास गर्छ। पढाइमा, खेलकुदमा पछाडि पर्छ। उसको ध्यान एकत्रित हुँदैन भने समग्र व्यक्तित्व विकासलाई असर गर्छ। रोग त आफ्नो ठाउँमा छ तर मान्छेको विकास सामान्य तरिकाले भइदिँदैन।
अर्को कुरा बच्चाहरूलाई काउन्सिलिङ नपुगेर उनीहरूले प्याड समयमा परिवर्तन गरेका हुँदैनन्। हुनत दूरदराजमा प्याड राख्ने र फाल्ने पनि सुविधा छैन। अहिले यस्ता बैंकहरू खुल्दैछन् त्यो धेरै राम्रो हो।
बच्चाहरूले एउटै प्याड धेरै समय प्रयोग गरिराख्दा संक्रमण हुने खतरा रहन्छ। रक्तअल्पता र संक्रमण हुन्छ तर उनीहरूले रोग लुकाइरहेका हुन्छन्। आमा बाबुले पनि ध्यान दिएका हुँदैनन्। समस्यालाई बेवास्ता गर्दा थप समस्या आइरहेको हुन्छ। यसले भोलिको दिनमा बच्चा नबस्ने समस्या समेत हुनसक्छ।
यो समस्या अहिले निकै बढिरहेको छ। पहिला १० प्रतिशतमा बाँझोपना हुन्छ भनिएको थियो तर अहिले यो बढेर धेरै भएको छ। यद्यपी यसको कुनै आधिकारिक तथ्यांक छैन।
महिलालाई उमेर अनुसारको रोग बुढेसकालसम्म पनि लाग्छ। गर्भवती महिनावारीसँग सम्बन्धित रोगहरू छन्। यीमध्ये कतिपय रोग रोकथाम गर्न सकिने छन्। रोग समयमा पत्ता लगाइयो भने यसबाट ज्यान जान रोक्न सकिन्छ।
डाक्टर सँगको अन्तर्वार्तामा आधारित