जब केटी मान्छेले शारीरिक सम्पर्क सुरू गर्छिन् एसपिभी भन्ने भाइरसले गर्दा क्यान्सर रोग लाग्ने खतरा पनि बढ्दै जान्छ। अहिले एसपिभीको भ्याक्सिन पनि छ। सरकारले निःशुल्क दिने भनेको छ तर हरेकको पहुँचमा पुगिसकेको छैन।
रोगबाट बच्नका लागि यो भ्यक्सिन लगाउनुपर्छ। पाठेघरको स्किन टेष्ट गर्दा पनि यो रोग पत्ता लाग्छ। सुरूमै उपचार भयो भने रोग निको हुन सक्छ जसले गर्दा पाठेघरको मुखको क्यान्सरबाट महिलाको मृत्यु हुँदैन। नेपाल जस्ता देशहरूमा महिलाको मृत्युको प्रमुख कारण यो रोग हो। विकसित मुलुकमा महिलाहरूलाई लाग्ने सबभन्दा खतरनाक रोग स्तन क्यान्सर हो।
स्तन क्यान्सरबाट बच्नका लागि महिला आफैंले आफ्नो स्वास्थ्य परीक्षण गर्न सक्छिन्। स्तन छामेर त्यहाँ गिर्खा जस्तो भेटियो भने चिकित्सकलाई देखाउनुपर्छ। हामीकहाँ रोग नलागेसम्म चिकित्सककहाँ नजाने परम्परा नै छ। गयो भने केही रोग पो देखिन्छ कि भन्ने डर हुन्छ। तर बेलैमा पत्ता लाग्यो भने यसलाई रोक्न सकिन्छ भने चेतना अझै आएको छैन।
स्तन क्यान्सर
स्वस्थ र आनन्ददायी जीवन सबैको चाहना हो । तर, क्यान्सरजस्तो भयानक रोगले मानिसलाई अकालमै निलिरहेको छ । सयौं प्रकारका क्यान्सरमध्ये स्तन क्यान्सर धेरैलाई लाग्ने प्राणघातक रोग हो । यो महिलालाई मात्र नभई पुरुषलाई पनि हुन सक्छ । तर, पुरुषमा यो रोग निकै कम लाग्ने गरेको छ ।
नेपालको सन्दर्भमा महिलाहरु आफ्नो रोगलाई लुकाएर राख्ने, भन्न लजाउने, चेतनाको कमी, रोगको बारेमा जानकारी नहुनु आदि कारणले आफ्नो रोग लुकाएर बस्ने गरेका छन् । त्यसैले, नेपालमा कति महिला यस रोगबाट ग्रस्त छन् भन्ने स्पष्ट तथ्यांक नभए पनि करीब ५० हजार महिला यस रोगबाट पीडित भएको अनुमान गरिएको छ ।
नेपालजस्तो अल्पविकसित मुलुकमा यस्ता आन्तरिक रोगबारे खुलेर चर्चा नगर्ने, लाज मान्ने, समाजसँग डराउने आदि प्रवृत्तिका कारण रोगले ठूलो रुप लिइसकेपछि बल्ल उपचारको लागि अस्पताल धाउने चलन छ । त्यसैले समयमै उपचार हुने भएपनि रोगले विकराल रुप लिइसकेपछि उपचार गराउने प्रवृत्तिका कारण कतिपयले ज्यान नै गुमाउनुपरेको छ ।
यदि स्तन क्यान्सरको लक्षणलाई चिन्न सक्ने हो भने प्रारम्भिक चरणमा नै यसको निदान गर्न सकिन्छ । त्यसैले यसको लक्षण पहिचान गर्न अत्यन्त जरुरी छ ।
पाठेघरको मुखको क्यान्सर
विश्वमा प्रतिवर्ष पाँच लाख मानिसलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । अन्दाजी दुई लाख महिलाको यो रोगबाट मृत्यु हुन्छ । नेपालमा बर्सेनी करिब तीन हजार महिलामा यस प्रकारको क्यान्सर लाग्छ भने दुई हजार जतिको मृत्यु यसै कारणले हुने गरेको छ ।
कुनै निश्चित कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ भनेर किटान गर्न नसकिने भए पनि करिब ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचभीपी (ह्युमेन पापिलोमा भाइरस) सँग सम्बन्धित रहेको पाइएको छ । पाठेघरको मुखको कोषिकाको प्रोटिनसँग एचभीपीको प्रोटिनबीच रासायानिक प्रक्रिया हुँदा ती कोषिकामा परिवर्तन आउन थाल्छ र त्यस अवस्थाले क्यान्सर सिर्जना गर्दछ ।
यौनिक रुपमा सक्रिय भएको केही समयमै एचपीभीबाट सङ्क्रमित हुने सम्भावना रहन्छ । त्यसैले एचपीभी सङ्क्रमण यौनजन्य सङ्क्रमणमध्ये प्रमुख हो । तर जनमानसमा एचपीभी यौनसम्पर्ककै कारण सर्छ भन्ने भ्रम छ । सत्यता के हो भने यो सङ्क्रमण यौन सम्पर्कका बेला छाला छालाबीचको सम्पर्कको कारण सर्दछ । जुन योनि–लिङ्ग मैथुन, मुख मैथुन वा गुद्द्वार मैथुनका बेला बढी हुन्छ । यौन सम्पर्कका कारण एचपीभी नसर्ने भए कण्डमको प्रयोगले कसरी एचपीभी सङ्क्रमणको सम्भावना घटाउँछ भन्ने तर्क पनि हुनसक्छ । खासमा पुरुष लिङ्गको टुप्पाको छालामा बढी जसो एचपीभी रहने हुनाले यौनसम्पर्कका बेला कण्डमको प्रयोगले सङ्क्रमणबाट जोगिन सहयोग गर्दछ ।
यौनिक रुपमा सक्रिय करिब ५० देखि ८० प्रतिशत महिला वा पुरुषकोजीवनमा एक न एक पटक एचपीभी सङ्क्रमण भएकै हुन्छ । जसरी कोरोना सङ्क्रमित सबैमा लक्षण चिन्ह नै देखापर्दछ भन्ने भएन त्यसरी नै एचपीभीबाट सङ्क्रमित सबैमा जननेन्द्रियको क्यान्सर हुनैपर्दछ भन्ने छैन । सामान्य र गम्भीर खालका गरी दुई प्रकारका एचपीभी हुन्छन् ।
गम्भीर खालकै एचपीभीबाट सङ्क्रमित भएको भए पनि बिना उपचार पनि आफै सङ्क्रमण निको हुन्छ । एचपीभी धेरै प्रकारका हुन्छन् तर १३ प्रकारका भाइरसले मात्र पाठेघरको मुखको क्यान्सर निम्त्याउँछन् । एसियामा ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभी– १६ तथा एचपिभी–१८ को सङ्क्रमणले भएको पाइएको छ ।
यसरी ह्युमेन पापिलोमा भाइरसलाई प्रमुख कारक तत्व मानिए पनि कम उमेरमा विवाह हुनु, कम उमेरमै यौन सम्पर्क स्थापित हुनु, एकभन्दा बढी जनासँग यौनसम्पर्क राख्नु, कम उमेरमा अनि धेरै बच्चा पाउनु, आफ्नो गोप्य अङ्गको उचित सरसफाई नगर्नु, चुरोट, खैनी तथा सुर्तीजन्य पदार्थको सेवन गर्नु, यौनरोग एवं गुप्ताङ्ग सम्बन्धी दीर्घरोगी हुनु पाठेघरको मुखको क्यान्सर लाग्नाको अन्य कारण हुन् ।
धुमपान गर्नेहरुमा एचपीभी सङ्क्रमण लामो समयसम्म रहिरहन्छ भने धुमपानकै कारण पनि पाठेघरको मुखको क्यान्सर र यौनाङ्ग वरिपरि क्यान्सर हुने सम्भावना बढी हुन्छ । धार्मिक रुपमा सानैमा केटाको लिङ्ग वरिपरि छाला ताछेर फ्याँक्ने यहुदी एवं मुस्लिम समुदायका महिलामा पाठेघरको मुखको क्यान्सर कम हुने गरेको पाइएको छ । अधिकतर एचपीभीबाट सङ्क्रमित मानिसले थाहै नपाई आफ्नो यौन साथीमा एचपीभी सारिरहेको हुन्छन् । किनकि तिनीहरु आफैँलाई आफू एचपीभीबाट सङ्क्रमित छु भन्ने छैन हेक्का हुँदैन ।
पाठेघरको मुखको क्यान्सरको आरम्भिक अवस्थामा कुनै लक्षण नदेखिन सक्छ । प्रभावित महिलामा असामान्य रगत तथा रगत मिसिएको गन्हाउने योनीश्राव देखा पर्ने पनि हुन्छ । त्यसैगरी यौनसम्पर्क पश्चात् रगत देखा पर्ने वा महिनावारी पनि धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्न सक्ने हुन सक्छ । प्रारम्भिक अवस्थामा कुनै पीडा नभएपनि क्यान्सर पैmलिसकेपछि भने पीडा हुन थाल्छ । पछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि लक्षण देखिन सक्छन् ।
नियमित स्वास्थ्य जाँचको क्रममा प्याप स्मियर नामक स्क्रिनिङ विधिबाट पाठेघरको मुखको श्राव निकाली क्यान्सर छ, छैन थाहा पाउन सकिन्छ । यसका अतिरिक्त एसिटिक एसिड वा ल्युगोल आयोडिनको प्रयोगबाट पनि थाहा पाउन सकिन्छ । विवाह गरेको दुई/तीन वर्षदेखि नै नियमित रुपमा स्क्रिनिङ गराउनु बुद्धिमानी हुन्छ ।
विकसित देशहरुमा ह्युमेन पापिलोमा भाइरसविरुद्ध खोप लगाउने गरिन्छ । साधारणतया ११/१२ वर्षका किशोरीलाई छ महिनाको अवधिभित्र तीन डोज खोप लगाउने अभ्यास छ ।
पाठेघरको मुखको क्यान्सरका कारक तत्व, लक्षण चिन्ह र रोकथाम माथि विचार गर्दा पुरुषको भूमिका निकै महत्वपूर्ण छ । बालविवाह गर्ने वा गराइ दिने, बहुविवाह गर्ने, विवाहइत्तर धेरै महिलासँग यौन सम्बन्ध राख्ने कार्यमा पुरुषको मुख्य भूमिका हुन्छ । त्यस्तै यौन सम्पर्कपूर्व आफ्नो यौनाङ्गको सरसफाइ गर्ने तथा कण्डमको प्रयोग गर्ने कार्यमा पुरुषले अल्छी गर्दा पनि यो समस्या आउन सक्ने देखिन्छ ।
आफ्नी छोरीचेलीलाई एचपीभीविरुद्ध खोप लगाइदिने तथा आफ्नो महिला यौन साथीलाई विवाहको केही वर्ष भित्रै पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराउन लाने जिम्मा पुरुषकै हो । तर कुनै समस्या नभइकनै आफ्नो श्रीमतीलाई नियमित स्वास्थ्य जाँचमा लाने त कुरै छाडौैँ महिनावारी गडबडी भएको, बढी रगत बग्न थालेको वा गन्हाउने पानी बग्न थालेको गुनासो गर्दा पनि वास्ता नगर्ने पुरुष पनि हुन्छन् ।
छोरा नपाएसम्म धेरै बच्चा पाइरहन दवाब दिने पुरुष पनि देखिएका छन् । यसले पनि महिला पाठेघरको मुखको क्यान्सरको थप जोखिममा पर्दछन् । पुरुषले आपूm मात्र धुमपान, सुर्तीजन्य पदार्थ सेवन गरी आपूmलाई विभिन्न रोगको जोखिममा पार्ने मात्र नभई महिलालाई समेत खतरामा पार्छन् र उनीहरुलाई ती पदार्थ सेवन गर्न उक्साउँछन् पनि ।
यसरी पाठेघरको मुखको क्यान्सर प्रत्यक्षतः महिलाको समस्या भएपनि यो समस्या हुनुमा तथा रोकथामको पहल नगराउनुमा, समयमै जाँचका लागि नलानुमा, आवश्यक उपचार नगराउनुमा पुरुषकै अहम् भूमिका छ । अतः महिलालाई यो प्राणघातक समस्याबाट जोगाउनु छ भने पुरुषले निर्णायक एवं परिणाममुखी पहल लिनै पर्दछ ।
डाक्टर सँगको अन्तर्वार्ता र एजन्सीको सहयोगमा