चीनको वुहानबाट सुरु भएको कोभिड-१९ ले वृद्धवृद्धा वा चालिस वर्षभन्दा माथि उमेर समूहकालाई असर गरेको थियो। अहिले संरचना उत्परिवर्तित (म्युटेसन) भएको भाइरसको संक्रमण ४० वर्षभन्दा कम उमेरको बढी देखिएको छ। पहिलो लहरमा निकै कम संक्रमित बालबालिका एवं किशोरकिशोरी पनि यसपटक संक्रमणको जोखिममा छन्।
अमेरिका, भारतलगायत देशको संक्रमणको तथ्याङ्कले बालबालिका एवं किशोरकिशोरीमा संक्रमण बढेको पुष्टि गर्छ। नेपालमा पनि दुई महिनामै कुल संक्रमितको ११ प्रतिशत बीस वर्षभन्दा कम उमेरका छन्।
नेपालमा कोरोनाको पहिलो लहरमा १० वर्षभन्दा मुनिका २.३ प्रतिशत बच्चालाई कोरोना संक्रमण भएको थियो भने १० देखि २० वर्षका बालबालिमा करीब ८ प्रतिशतको हाराहारीमा संक्रमण भएको थियो। तर अहिलेसम्मको तथ्याङ्क हेर्दा ११ प्रतिशतभन्दा बढी बालबालिका कोरोना संक्रमित भइसकेका छन्।
संक्रमणको पहिलो लहरमा बालबालिकामा सामान्य फ्लूका रुघा, खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने लक्षण र स्वासप्रस्वासमा समस्या देखिएका थिए। अहिले फ्लू र स्वासप्रस्वाससँगै पाचन प्रणालीमा पनि समस्या देखिएको छ। उनीहरूलाई अरुची, पेट दुख्ने, पखला चल्ने, वान्ता आउने भएको छ। कतिपय बालबालिकालाई ज्यान दुख्ने, शरीरमा डाबरहरू देखिनेसमेत भएको छ।
यी लक्षणहरू संक्रमणपछिको सामान्य स्वास्थ्य स्थितिदेखि गम्भीर अवस्थामा पुगेका बालबालिकामा फरक देखिन्छन्।
अभिभावकले यस रोगबारे समयमै थाहा पाउनु पर्छ। त्यसका लागि सामान्य लक्षण देखिएको अवस्थामै बालबालिका वा किशोरकिशोरीमा कोरोना भाइरसको परीक्षण वा एन्टिबडी टेस्ट गरिनुपर्छ।
बालबालिकामा संक्रमण भइसकेपछि के गर्ने त?
संक्रमणका कारण शारीरिक रुपमा गलेका बालबालिकालाई मानसिक तनाव हुने वातावरण सिर्जना नगर्ने। सामान्य लक्षण देखिएको संक्रमितलाई आइसोलेट गर्ने नाममा थुनेर नराख्ने। बरु सीमित ठाउँमा खेलकुद गर्न दिने। परिवारका सबै सदस्यले मास्कको प्रयोग गर्ने र अन्य सुरक्षा मापदण्ड अपनाउने। बालबालिकालाई एकजना व्यक्तिको रेखदेखमा राख्दा उचित हुन्छ।
झोलिलो पदार्थ खुवाइराख्ने। स्वास्थ्यकर्मीको परामर्शमा लक्षण अनुरुप सिटामोल वा पुनर्जलीय पदार्थ खुवाउन सकिन्छ। बेलाबेलामा रगतमा हुने अक्सिजनको मात्रा र सासको गति जाँच गर्नुपर्छ।
संक्रमित बच्चाको अवस्था जटिल छ भने अविलम्ब अस्पताल लैजानुपर्छ। उनीहरूको रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम छ भने चिकित्सकको सल्लाह अत्यावश्यक हुन्छ।
संक्रमण भएका वा नभएका सबै बालबालिकामा इम्युनिटी पावर चुस्त राख्न पोषणयुक्त खाना खुवाउनु पर्छ। पर्याप्त निन्द्रा र शारीरिक व्यायम पनि अपरिहार्य हुन्छ। बच्चाको इम्युनिटी पारिवारिक वातावरण र तनावरहित जीवनशैलीले पनि निर्धारित गर्छ।